धरान । कला साहित्य सँस्कृति प्रतिष्ठान धरान उपमहानगरपालिका वडा नं. १३ ले धरानका १० जना ख्यातिप्राप्त श्रष्टाहरुको प्रतिमा एकैसाथ राख्ने तयारी अन्तिम चरणमा पु¥याएको छ ।
धरान उपमहानगरपालिका वडा नं. १३ को खहरे खोलाको पश्चिम तटीय क्षेत्रमा खोला किनारको उकास जग्गामा तयार पारिएको श्रष्टा पार्कमा उनीहरुको प्रतिमा राखिन लागेको हो ।
राष्ट्रिय स्तरमा ख्याति प्राप्त आर्ट कलाकार कर्ण मास्के, प्रख्यात कवि वेणु आचार्य, टंक घिमिरे, कृष्ण पाख्रिन, पण्डित छविलाल पोख्रेल, बद्री पलिखे लगायतका श्रष्टाहरुको प्रतिमा राखिने भएको साहित्य कला सँस्कृति प्रतिष्ठानका अध्यक्ष गोपाल श्रेष्ठ प्रयासले जानकारी दिनुभयो । हाल मास्के, घिमिरे, पाख्रिन, पोख्रेल, पलिखेको प्रतिमा तयारी भइसकेको छ भने अन्य श्रष्टाहरुको समेत धमाधम निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

धरानलाई कर्मक्षेत्र बनाएर आजीवन धरानको श्रीबृद्धिमा योगदान दिनु भएका श्रष्टाहरुको प्रतिमा एकसाथ राख्दा त्यसबाट अन्यत्र समेत सकारात्मक सन्देश जाने अभिप्रायले श्रष्टाहरुको सम्मान स्वरुप पनि प्रतिमा राख्न लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । हाल प्रतिमा निर्माणको काम कलाकार धिरज राईको नेतृत्वमा कलाकारको टोलीले गरिरहेको छ । एउटा प्रतिमा निर्माण गर्न ६५ हजार लागत लाग्ने र धरान उपमहानगरपालिका वडा नं. १३ ले २५ हजार प्रत्येक श्रष्टाका प्रतिमाका लागि खर्च गर्ने निर्णय भइसकेको छ । बाँकी अपुग रकम श्रष्टाका परिवारहरुसँग आग्रह गर्ने निर्णय प्रतिष्ठानले गरेको छ । श्रष्टाका कतिपय परिवारले थप रकम उपलब्ध गराउन नसकेको अवस्थामा त्यसको विकल्प खोजिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । श्रष्टा पार्कको सयोजकमा मणिकुमार राई गोठाले रहनु भएको छ । आगामी जेठ मसान्तसम्ममा श्रष्टाहरुको सबै प्रतिमा तयार गरेर पार्कमा राखिने समेत अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
