चोर चोर मसेरा भाई

विदेशीको इसारामा, संविधानसभाको नाममा कथित ५–१० जनाले बन्द कोठामा जनता प्रतिकूल र दल अनुकूल बनाएको नेपालको वर्तमान संविधान र मुठ्ठीभरिका व्यक्तिहरुका लागि लादिएको कथित गणतन्त्र रक्षाका लागि नेपाली काँग्रेसका सभापति, एमालेका अध्यक्ष र माओवादीका अध्यक्षले एक हुने निर्णय गरेछन् । उनीहरुले संविधानको उल्लंघन गर्ने, सामाजिक अराजकता सिर्जना गर्ने, अमनचयनमा खलल पु¥याउनेलाई कारबाही गर्ने निर्णय गरेछन् । अब मुलुकमा थप अराजकता मच्चाउने कार्यमा सरकार उद्धेलित भएको तीन दलको निर्णयले प्रष्ट पारेको छ । जब राज्य सत्ता आफै नागरिकका आवाज दबाउन घृणित कार्यमा उत्रन्छ त्यसबाट प्रष्ट हुन्छ त्यस्तो राज्य व्यवस्थाको अन्त्य निकट रहेको हुन्छ । गणतन्त्र, लोकतन्त्रमा नागरिकले आफ्ना आवाज अभिव्यक्ति गर्न पाउनुपर्छ । तर नेपालमा कथित लोकतन्त्र र गणतन्त्रको खोल ओढेर नागरिकका आवाज दबाउने, नागकिको हत्या गर्ने, झुठा आरोप लगाएर थुन्ने जस्तो घृणित कार्य भएको छ । जब नागरिकले वर्तमान राज्य व्यवस्था हामीलाई स्वीकार्य छैन, मुलुकको संरक्षण, नागरिकको ज्युधनको रक्षाको लागि राजसंस्था अपरिहार्य भएको भन्दै आवाज उठाउँछन् शासकले त्यसलाई इमान्दारितापूर्वक मनन गर्नुपर्छ । राज्य सत्ता जनचाहना अनुरुप सञ्चालन हुने हो, दबाउने, डर, चेतावनीले किमार्थ चल्दैन । राज्यका सम्पूर्ण शक्ति लगाए पनि वर्तमान व्यवस्था काँग्रेस, एमाले र माओवादीले जोगाउन नसक्ने अवस्था सिर्जना भएको छ । तिनै जनताले सत्तामा पु¥याएको कुरालाई उनीहरुले बिर्सिएका छन् । वर्तमान अवस्था कति भयावह बन्दै गएको छ भन्ने कुरा सिंहदरबार, वाल्वाटार, बुढानिलकण्ठ, भैसेपाटीमा सुरक्षा घेराभत्र बस्नेले आंकलन गर्न सक्ने कुरा पनि भएन । यिनीहरु जनतामा प्रिय थिए भने किन आज एक्लै हिड्ने हिम्मत गर्दैनन् ? सुरक्षा घेराभित्र यदि कहीँ गए पनि फलानो चोर मुर्दावाद, ढिस्कानो हत्यारा मुर्दावाद, चिलानो भ्रष्ट देश छोड भनेर कालो झण्डा देखाउने, उनीहरुका पुत्ला जलाउने कार्य किन भइरहेको छ ? व्यवस्थाको आवरणमा आफ्नो लुट धन्दालाई निरन्तता दिनु नै यिनीहरुको प्रमु्ख उद्देश्य हो । यिनीहरुलाई एउटै कुराले नराम्रोसँग तर्साएको छ, चिन्ता बढाएको छ । त्यो हो भोलिका दिनमा राजसंस्था नेपाली जनताले स्थापना गरेपछि सम्भवत ः यिनीहरुको बास या त कारागारभित्र हुन्छ या त स्वदेशमा भ्रष्टाचारबाट आर्जित सम्पत्तिबाट विदेशमा राखेको सम्पत्ति खाएर वेस जीवन वित्छ । मुढो जलाउन धेरै ठूलो आगोको लप्का चाहिँदैन । झिँगा बल्न थालेपछि मुढोले जल्नैपर्छ । देशैभरि आज नागरिक, पेशाकर्मी, युवा, बृद्धा, महिला, अशक्तहरु यिनका विरुद्धमा सडकमा आइसकेका छन् । हालसम्म शान्तिपूर्ण रुपमा आफ्ना आवाज सुनाइरहेका छन् । भोलिका दिनमा ती आवाजहरु क्रमश ः आक्रोसमा बदलिन सक्छ । मु्लुक द्वन्द्वमा जान सक्छ । त्यसबेला यी यावत घट्नाक्रमको जिम्मेवारी गणतन्त्रका कथित ठेकेदारले लिनुपर्छ । त्यस्तो स्थितिको पूर्वानुमान बेलैमा गरेको उचित हुन्छ । जबरजस्ती आफ्नो एकाधिकार, वर्चस्व कायम गर्न व्यवस्थाको ठेक्का लिएर नागरिकमाथि ज्यादति गर्नु प्रतिकूल हुन्छ । यस कुराको समयमै हेक्का राखे राम्रो ।

तपाईको प्रतिक्रिया