आजीवन सत्ता लिप्सा, जनहित विपरीतका कार्य जस्ता कारणले जनताको नजरमा क्रमश ः निकम्बा बन्दै गएका नेपालका ठूला राजनैतिक दलहरु यतिबेला पूर्ण रुपमा स्खलित भएकै हुन् ? मूलधारको भनिने, धेरै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने, निरन्तर २०४६ सालदेखि हालसम्म सत्ता र प्रतिपक्षको भूमिकामा मात्र रहेका नेपाली काँग्रेस र एमाले पछिल्लो समय पूर्ण रुपमा स्खलित भएको पुष्टि मुलुकभरिका क्याम्पसहरुमा भएको स्ववियु निर्वाचनले पुष्टि गरेको छ । अभिभावक समक्ष असल र दूरदर्शी नहुँदा नेपाली काँग्रेस र एमाले सबैभन्दा कमजोर देखिएका छन् । यी दुवै दलको संगठन यतिबेला तहसनहस र छिन्नभिन्न भएको छ । हाम्रो यति लाख संगठित कार्यकर्ता छन्, यति सक्रिय सदस्य छन् भनेर डिङ्ग हाक्ने दुवै दलका नेतृत्व अझैसम्म पनि भ्रमबाट मुक्त हुन नसकेको देखियो । आलो पालो र मिलेर आफ्ना आदर्श, विचार, मूल्य, मान्यतालाई तिलाञ्जली दिएर सत्तारोहरणमात्र गरेका यी दुवै दलका लाखौ कार्यकर्ता बाहिरिसकेका छन् । अर्कोतर्फ विध्वंस, हत्या, लुटपाट मच्चाएर नेपाली राजनीतिमा अवतरण गरेको माओवादी क्रमश ः इतिशासको पानामा सीमित रहने देखिदैछ । यी दुवै अर्थात काँग्रेस र एमालेले पालैपालो बोकेको कारण वर्तमानसम्म नेपाली राजनीतिमा माओवादीको उपस्थिति देखिए पनि आगामी दिनमा उपस्थिति नदेखिन सक्छ । हाल मुलुकभरि जारी स्ववियु निर्वाचनमा सत्तापक्ष अर्थात नेपाली काँग्रेस र एमालेसँग आवद्ध विद्यार्थी संगठनले जुन रुपमा एलाइन्स गरेका छन् त्यो आफैमा घातक छ । वर्तमानको एलाइन्सले भविष्यमा पछुताउनुपर्ने स्थिति सिर्जना गरेको छ । केन्द्रमा संयुक्त रुपमा सत्ता चलाए पनि निर्वाचन क्षेत्रहरु चाहे त्यो विद्यार्थीको स्ववियु निर्वाचन होस्, चाहे प्रदेश निर्वाचन होस्, चाहे संसदीय निर्वाचन होस् या अन्य कुनै पनि प्रकारको निर्वाचन हुन् त्यसमा एलाइन्स गर्नु हुने थिएन । आफ्नो स्थिति कस्तो छ ? आफ्ना संगठनहरु कत्तिका बलिया छन् ? भन्ने कुराको मापन गर्नका लागि समेत विद्यार्थी संगठनहरुलाई एक्लाएक्लै निर्वाचनमा जान नेतृत्वले निर्देशन दिनुपथ्र्यो । बलिया भए विजयी हुन्छन्, कमजोर भए पराजित हुन्छन् । पराजित संगठनले आत्मसमीक्षा गर्दै मजबुत संगठन बनाउनेतर्फ सक्रिय रहने थिए । तर स्ववियु निर्वाचनमा त्यसो हुन नसक्दा संगठनको मापन हुन सकेन । हुन त प्रवृत्ति स्थानीयदेखि मात्र नभएर केन्द्रबाटै बिग्रन शुरु भएको हो । विगतमा नेपाली काँग्रेस र नेपाली राजनीतिबाट फेस आउट हुन लागेको माओवादी गठबन्धनका समयमा काँग्रेस नेतृत्वले जुन रवैया देखायो पतनको शुरुवात त्यहीबाट भएको हो । प्रचण्ड पुत्रीलाई चितवनमा जिताउन काँग्रेसको मूल नेतृत्वले उर्दी नै जारी ग¥यो । यतिमात्र नभएर चितवन पुगेर आफ्नै कार्यकर्तालााई प्रचण्ड पुत्रीलाई मतदान नगरे पार्टीबाट कारबाही गर्ने चेतावनी दियो । सत्ता स्वार्थले आफ्नै कार्यकर्तामाथि डण्डा बजाएपछि कुन विचार र कुन सिद्धान्तका लागि काँग्रेसमा बस्ने भन्ने प्रश्न मात्र त्यसबेला उब्जिएन हजारौ नपाली काँग्रेसका इमान्दार, सिद्धान्त निष्ठा कार्यकर्ताले काँग्रेस छाडे । एउटा व्यक्तिको सत्ता स्वार्थले हजारौ कार्यकर्ताले पार्टी परित्याग गर्नुको परिणाम काँग्रेस खुम्चिदै गयो । यो अझै खुम्चने प्रक्रियामै छ । हुन त नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व नै सदैव गलत प्रवृत्तिबाट अगाडि बढेको छ । विगतमा आफ्नै पार्टी फुटाएर वा अलग्गिएर अर्को पार्टी खोेलेको कसैले बिर्सेका छैनन् । आज त्यही व्यक्ति नै नेतृत्वमा भएपछि काँग्रेस आगामी दिनमा झनै कमजोर हुने निश्चित छ । यो प्रवृत्ति सत्ता साझेदार दल एमालेमा पनि हुबहु देखिन्छ । कार्यकर्ता भनेपछि पार्टीका मेरुदण्ड हुन् । नेतृत्वबाट तलब भत्ता पाएर नियुक्त भएका होइनन् । जब आस्था र आदर्शबाट विचलित हुनुपर्ने निर्देशन नेतृत्वले गर्छ त्यसबेला अलग हुन उसलाई कसैले रोक्न सक्दैन ।
