विराटनगर । नेपाली काँग्रेसका नेता एवम् सांसद डा.शेखर कोरालाले राजतन्त्र फर्कने बताउनु भएको छ । विराटनगरस्थित निवासमा पत्रकारहरुसँगको कुराकानीमा कोइरालाले जनताले चाहेमा राजतन्त्र फर्कने प्रष्ट पार्नुभएको हो । सोमबार उहाँले भन्नुभयो यतिबेला राजाका बारेमा नेताहरुले धेरै बोलेर जनआक्रोसको शिकार हुनुको सट्टा बोलीमा संयमता अपनाउन आवश्यक रहेको समेत बताउनुभयो ।

यतिबेला दलहरुप्रति जनताको सडकमा आक्रोस देखिएको छ । राजनैतिक दलका नेतृत्वकै कारण यस्तो आक्रोस देखिएको भन्दै नेता कोइरालाले यतिबेला राजनैतिक दलका नेताहरु त्रसित मानसिकताबाट हिडिरहेको, जनताको आवाजलाई रोक्न निषेधज्ञा लगाइएको समेत बताउनुभयो । उहाँले भन्नुभयो देश क्रोनिक क्यापिटलिजमबाट चलेको छ । जसका कारण जनता आक्रोसित छन् । पहुँचवाला मन्त्री, सांसद, नेताहरुकोमात्र हालीमुहाली चलेको छ, महंगी बढेको छ, स्वदेशमै रोजगारीको अवस्था छैन भन्दै उहाँले वर्तमान सरकारको काम आफूलाई समेत चित्त नबुझेको प्रष्ट पार्नुभयो । सञ्चारकर्मीले राजसंस्थाको पक्षमा ओर्लिएको भीडको प्रतिकार गर्ने भन्ने दलहरुको अभिव्यक्तिका सम्बन्धमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो राजनैतिक दलहरुले जनताको प्रतिकार गर्न नसक्ने र त्यहीँबाट पतन शुरु हुने बताउनुभयो ।
