इनरुवा । भारत सरकारको आर्थिक सहयोगमा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित त्रिभुवन माध्यामिक विद्यालय भवनको गत मंगलबार एक विशेष कार्यक्रमका बीच शिलान्यास गरिएको छ । सुनसरी निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिसभाका सांसद ज्ञानेन्द्रबहादुर कार्की, नेपालस्थित भारतीय राजदुतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले निर्माणाधीन भवनको एक साथ शिलान्यास गर्नुभएको थियो । नेपाल भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक सहयोग नेरु २.४८३ करोडको लागतमा विद्यालयको अत्याधुनिक भवन निर्माण हुने भएको छ । उक्त शिलान्यास समारोहमा जिल्लास्थित राजनैतिक दलका नेता, कार्यकर्ता, नेपाल सरकारका कर्मचारीहरु, सामाजिक अभियन्ताहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यालयका शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु, अभिभावकहरु र स्थानीयहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
नेपाल–भारत विकास सहयोग अन्तर्गत भारत सरकारको अनुदानमा निर्माण हुन लागेको उक्त विद्यालय भवन दुई तलाको हुने र अन्य आवश्यकीय भौतिक पूर्वाधार समेत
रहने भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । निर्माणाधीन परियोजना समेत उच्च प्रभाव सामुदायिक विकास पििरयोजनाको रुपमा रहेका र यसको कार्यान्वयन इनरुवा नगरपालिकामार्फत हुने भएको छ । त्रिभुवन माध्यामिक विद्यालय सन् १९५८ मा स्थापना भएको थियो । विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई अध्यापन गराउँदै आएको छ । उक्त विद्यालयमा ७५० जना विद्यार्थीहरु रहेका छन् भने छात्राको संख्या ५५ प्रतिशत रहेको छ ।


सो अवसरमा भारतीय राजदुतावासका नियोग उपप्रमुख श्रीवास्तवले भन्नुभयो सन् २००३ देखि भारत सरकारले अनुदान सहयोगमा नेपालमा ५६३ वटा उच्च प्रभाव सामुदा,यक विकास परियोजना सञ्चालनमा ल्याएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो भारत सरकारको अनुदान सहयोगमा निर्माण भएका, निर्माणाधीन अवस्थामा रहेका परियोजनाहरु नेपालका सबै प्रदेशमा
रहेका छन् । उहाँले भन्नुभयो यसका अलावा भारत सरकारले हालसम्म नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी, शैक्षिक संस्थाहरुलाई १००९ वटा एम्बुलेन्स र ३ सय वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ । यसरी उपहार स्वरुप प्रदान गरिएका एम्बुलेन्समध्ये कोशी प्रदेशमा मात्र १४६ वटा र ४८ वटा स्कुल बस रहेका छन् । उहाँले जोड दिँदै भन्नुभयो बर्षौदेखि रहिआएको भारत नेपाल विकास साझेदारीमा भएको बृद्धि, विस्तार विविधिकरणप्रति खुशी लागेको छ । नेपाल सरकारको प्राथमिकतामाका आधारमा यस प्रकारको साझे्दारीलाई थप सुदृढ बनाउन भारत सरकार प्रतिबद्ध रहेको समेत उहाँले स्मरण गराउनुभयो । यसैगरि प्रतिनिधिसभाका सांसद, इनरुवा नगरपालिकाका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहयोगको प्रशंसा गर्नुभएको थियो । उहाँहरुले भारत सरकारको अनुदान सहयोगमा निर्माण हुन लागेको त्रिभुवन माध्यामिक विद्यालय भवनको पूर्वाधारले विद्यार्थीहरुलाई राम्रो शिक्षा प्रदान गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । निर्माणाधीन पूर्वाधारले पूर्वी क्षेत्रमा शिक्षाको विकासमा योगदान पुग्ने समेत प्रष्ट पार्नुभएको थियो ।


