धरान । धरान उपमहानगरपालिकाले धरान १ मा रहेको पुरानो अस्पताललाई नगर अस्पतालको अवधारणा अगाडि सारे पनि काम भने केही भएको छैन । अस्पतालको जग्गामा बन्दै गरेका भौतिक संरचना बीचैमा रोकिएको छ भने भएका भौतिक संरचनाहरुसमेत जीर्ण बन्दै गएको छ । जसले गर्दा उपचार सेवा समेत प्रभावित बन्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका तत्कालीन प्रमुख डा. श्रीराम साहले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको धरान १ मा रहेको पुरानो अस्पचालको जग्गालाई सदुपयोग गर्दै एक सय शैयाको वेडसहितको नगर अस्पताल बनाउन धेरै पहल गर्नुभयो । रकम निकासा गरेर भौतिक संरचना निर्माण समेत थालिएको थियो । नेपाल सरकारको स्वास्थ्यमन्त्रालयबाट स्वीकृति लिएर बजेट निकासा भएपछि निर्माण कार्य समेत शुरु भएको थियो । तर विविध कारणले यो निर्माण कार्य रोकियो । त्यसपश्चात निर्माणको जिम्मा संघीय सरकारले स्थानीय सरकारलाई थियो । निर्माणको जिम्मा दिएपनि निर्माणको काम सम्पन्न स्थानीय सरकारले सकेन । यसको प्रमुख कारण स्थानीय सरकार धरान उपमहानगरपालिका आफ्नो जिम्मेबारीबाट पन्छिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका पूर्व प्रमुख डा.श्रीराम साह बताउनुहुन्छ । उहाँले महिला तथा बालबालिका, ज्येष्ठ नागरिकलाई दिइने आधारभूत स्वास्थ्य सेवा प्रवाहमा समेत अन्य स्थानीय तहको भन्दा दयनीय अवस्था रहेको बताउनुभयो । अन्य स्थानीय सरकारको मातहतमा आधारभूत स्वास्थ्य केन्द्र भए पनि धरान उपमहानगरपालिकाको माहहतमा अहिलेसम्म एउटा अस्पताल बन्न नसक्नु स्थानीय सरकारको गैरजिम्मेवारीपन भएको उहाँको तर्क छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छाताचौक स्थित पुरानो अस्पतालको नामले परिचित सो ठाउँमा धरान स्वास्थ्य चौकी भनिए पनि अहिले प्रसुति गृहको रुपमा सञ्चालनमा रहेको छ । उपमहामनगरपालिकाले यस स्थानमा स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य चौकी सञ्चालन गरे पनि प्रभावकारी रुपमा सञ्चालन सकेको छैन । प्रतिष्ठानको जग्गामा उपमहानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्यचौकी प्रभावविहीन बनेको छ । विगतमा वीपी प्रतिष्ठानले विरामीको चाप तथा प्रभावकारगी एवम् गुणस्तरीय सेवालाई ध्यानमा राखेर सो क्षेत्रमा निकट भविष्यमा सय शैयाको अस्पताल निर्माण गर्ने र तत्काल जेनेरल मेडिसिन र स्त्री रोग सम्बन्धि ओपिडी तथा ल्याव, एक्सरे र अल्टूासाउण्ड सुविधासहितको अस्पताल सेवा विस्तार गर्ने योजना अगाडि सारेको थियो । तर उपमहानगरपालिकाले त्यहाँ रहेको जग्गा तथा भौतिक संरचना स्थानीय सरकारको मातहतमा ल्याएर धरान नगर अस्पताल सञ्चालन गर्न कार्यपालिको मुख्य एजेण्डामा राखेर पहल शुरु गरिएको र भविष्यमा सर्वसाधाणको आवश्यकतालाई महसुस गरी नगर अस्पताल बनाउने योजना अगाडि सारिएको जनप्रतिनिधिहरुको भनाई छ । वीपी प्रतिष्ठानको स्वामितवमा रहेको १ विगाह १३ का १४ धुर क्षेत्रफलमा रहेको जग्गा तथा जीर्ण भवनहरुमा अहेव र अनमीको स्तरवाट स्वास्थ्य चौकी र वर्थिङ सेन्टर सञ्चालनमा ल्याउने योजना अनुरुप सञ्चालनमा आए पनि पर्याप्त भौतिक संरचना, प्राविधिक कठिनाई तथा विभिन्न प्रकारका ल्याव टेष्ट र निःशुल्क वितरण गर्नुपर्ने सबै खालका औषधि प्रयाप्त नभएको अस्पतालमा कार्यरत नर्सहरु बताउँछन् । नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी नागरिकले पाउने स्वस्थ्य अधिकारलाई मनन गरी उपमहानगरपालिकाले सञ्चालन गरेको धरान स्वास्थ्य चौकी दशक वितिसक्दा पनि गुणस्तरीय हुन सकेकौ छैन भने हालसम्म भौतिक संरचना निर्माण हुन सकेको छैन । स्थानीय सरकारले आधारभूत स्वास्थ्य चौकी निर्माण गर्नुपर्ने दायित्व हुन्छ ।
विगत एक दशक वितिसक्दा पनि धरान उपमहानगरपालिका दायित्वबाट पन्छिएको सबैको बुझाई छ । शिक्षा, स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकताक सर्वसुलभ हुनुपर्छ भन्ने कुरा नेपालकै संविधानमा उल्लेख छ । अझ संघीयता आएपछि त प्रत्येक स्थानीय तहमा एउटा नगर अस्पताल हुनुपर्ने अवधारणा नै अगाडि बढाइएको छ । यस्ता कुरामा तीनै तहका सरकार अहिले बेखबर झै रहेको छ । अझै पनि सर्वसाधारण महंगो शुल्क तिरेर उपचार गराउन बाध्य छन् । यसतर्फ किन सरकारको ध्यान गएको छैन यो विषय सोचनीय छ ।