धरान । दीर्घकालीन रुपमा नभए पनि तत्कालका लागि इभी (इलेक्ट्रीकल भेइकल) प्रतिको आकर्षण बढ्दै गएको अवस्थामा आश्चर्यजनक रुपमा नेपाली बजार चिनियाँ इभीको कब्जामा पुगेको छ । पछिल्लो सात महिना अर्थात साउनदेखि माघ २०८१ सम्मको तथ्यांकको आधारमा चिनियाँ इभी ब्राण्डका गाडीले नेपाली बजारमा ७६.२३ प्रतिशत हिस्सा ओगटेको छ । खास गरेर चिनियाँ इभी ब्राण्डका इभी कार, जिप, भ्यान, मायक्रोबस, मिनिबस सबैभन्दा बढी आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार सात महिनाको अवधिमा १९ अर्ब,४० करोड, २१ लाख, ९७ हजारका इभीहरु चीन, भारत, जर्मन, कोरिया, जापान, अमेरिकाबाट आयात भएका छन् । यसमध्ये चीनका इभी गाडीमात्र १५ अर्ब १७ कराड ५६ लाख २५ हजारको आयात भएको छ । भारतबाट यो सात महिनामा चिनबाट भित्रिएका इभीभन्दा एक तिहाईमात्र भित्रिएको छ । चीनबाट यो अवधिमा ४ हजार ७ सय ६१ इभी गाडी आयात हुँदा भारतबाट १ हजार ४ सय ५९ वटा मात्र आयात भएको छ । यो अवधिमा इभी गाडीको आयातबाट मात्र नेपाल सरकारले् ९ अर्ब ८ करोड ४२ लाख रुपैया राजस्व संकलन गरेको भन्सार विभागका प्रवक्ता मुक्तिप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल–चीन उत्तरी नाका रसुवागढीबाट सबैभन्दा ज्यादा आयात
चिनियाँ ब्राण्डका इभी गाडी आयात हुने सबैभन्दा ठूलो नाका यतिबेला उत्तरी नाका रसुवागढी भएको छ । विगतमा चीनको हङकङ हुँदै कोलकोत्ता बन्दरगाहबाट कन्टेनरमा चिनियाँ गाडीहरु नेपालमा आयात हुँदै आएको थियो । भन्ससार विभाग त्रिपुरेश्वर काठमाण्डौस्थित तथ्यांक शाखाका मोहनले दिनु भएको जानकारी अनुसार रसुवागढी नाकाबाट मात्र श्रावणदेखि माघ महिनासम्ममा ९ अर्ब ७९ करोड रुपैयाँका चिनियाँ इभी गाडीहरु भित्रिएका छन् । यसै गरि तातोपानी भन्सार नाकाबाट ५ अर्ब ३७ करोड ५६ लाख २५ हजार मूल्यका चिनियाँ इभी गाडी आयात भएको छ । सुवागढी नाका र तातोपानी भन्सार नाका चिनियाँ गाडी आयतको लागि यतिबेला मुख्य नाका भएका छन् ।
नेपालमा ठूलो परिणाममा चिनियाँ इभी आयातका मुख्य कारण


भन्सार विभाग महानिर्देशक महेन्द्र भट्टराईसँग चिनियाँ इभी गाडी आयातका सम्बन्धमा विस्तृत बुझ्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन । तर सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठल दिनुभएको जानकारी अनुसार नेपालमा पछिल्लो सात महिनाका अवधिमा सबैभन्दा बढी इभी गाडी चिनियाँ ब्राण्डकै आयात भएको र रसुवा गढी नाका र तातोपानी भन्सार नाकाबाटै आायत भएको बताउनुभयो । भन्सार विभागका अर्का एक कर्मचारीका अनुसार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल जेठ १३ गते आयतमा नियन्त्रण गर्नका लागि व्यापार घाटा न्यूनिकरण सम्बन्धी राष्ट्रिय कार्य योजना मन्त्रि परिषद्बाट पारित गरेपछि नेपालमा चिनियाँ इभी गाडी आउन शुरु भएको हो । नेपालका बजारमा भारतका महेन्द्रा टाटा, किया, हुन्डाई लगायतका कम्पनीका इभी गाडी आयात भए पनि यिनीहरुको विक्री न्यून रहेको छ । चिनियाँ बाण्ड विवाइडी गाडीका आयातकर्ता एवम् विक्रेता साइमेक्स इक्का अनुसार चिनियाँ गाडीको मूल्य न्यून हुनु नै यसले बजारमा एकछत्र आधिपत्य जमाएको हो । कम्फर्ट, शून्य सत्मजन, वहुउपयोगी,, हस्पियालिटी र पर्यटकहरुका लागि चिनियाँ इभी गाडी उपयोगी देखिएका छन् । हाल नेपाली बजारमा विवाइडी एम ६ को मूल्य ६० लाख रहेको छ र यो गाडीका लागि ग्राहकहरुले अग्रिम बुकिङ्ग गर्न थालेका छन् । श्रेष्ठका अनुसार चीनबाट यतिबेला तीन पांग्रे भेइकल्स, कार, जीप, भ्यान, सामान बोक्ने भइकल्स, क्रेज, लोरिज, डेलिभरि भेनहरु सबैभन्दा बढी आयात भएको छ ।
नेपालको चीन र भारतसँगको भन्सार नाका
नेपालको भारतसँग जोडिएका भन्सार नाकाको तुलनामा भौगोलिक विकटताका कारण उत्तर चीनसँग जोडिएका सीमा नाकाहरु न्यून रहेका छन् । भारतसँग जोडिएका सीमा भन्सार नाकाहरुमा पशुपति नगर भन्सार, मेची भन्सार (काँकडभिट्टा) भद्रपुर भन्सार, राजविराज भन्सार, ठाडी भन्सार, सिराहा भन्सार, सुनसरीको भाण्टाबारी भन्सार, जनकपुर भन्सार, जलेश्वर भन्सार, सर्लाही भन्सार, गौर भन्सार, वीरगञ्ज भन्सार, सुख्खा बन्दरगाह(विरगञ्ज, ग्याहाँ भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार, चोभार सुख्खा बन्दगाह, महेशपुर भन्सार, त्रिवेणी भन्सार, भैरहवा भन्सार, गौतमबुद्ध विमान स्थल भन्सार, सुठौली भन्सार, कृष्ण नगर भन्सार, कोइलाबास भन्सार, नेपालगञ्ज भन्सार, राजापुर भन्सार, सति भन्सार, कैलाली भन्सार, कञ्चनपुर भन्सार, दार्चुला भन्सार र महाकाली भन्सार हुन् । यसैगरि उत्तर चीनसँग जोडिएका भन्सार नाकाहरुमा एक बर्ष अगाडि सञ्चालनमा आएको ओलाङचुङगोला–टिप्तला भन्ज्याङ भन्सार, किमाथांका भन्सार, लामाबगर भन्सार, तातोपानी भन्सार, रसुवागढी भन्सार, लार्के भन्सार, मुस्ताङ भन्सार, मुगु भन्सार रहेका छन् ।




