धरान । प्रजातन्त्र प्राप्तिकालागि दुई दशक भन्दा लामो समय मिशन पत्रकारिता गर्नुभएका नेपालका बरिष्ठ पत्रकार एवम् राजनैतिककर्मी होमनाथ दाहाललाई ओखलढुंगा पत्रकार समाजले आइतबार सम्मान गरेको छ । ओखलढुंगाबाट नेपाली काँग्रेसका तर्फबाट विगतमा सांसदमा समेत निर्वाचित हुनु भएका दहालले पञ्चायतको समयमा राष्ट्रपुकार पत्रिका प्रकाशित गरी प्रजातन्त्रका पक्षमा कलम चलाउनु भएको थियो । प्रारम्भमा उहाँले मैतीदेवी स्थित घरबाट र पछि पुतली सडकस्थित कार्यालय राखेर राष्ट्रपुकार साप्ताहिक प्रकाशित गर्नुभएको थियो । त्यसबेलाको कठिन अवस्थामा नेपाली काँग्रेसको हरेक कार्यक्रमका समाचार उहाँ निर्धक्कसँग प्रकाशन गर्नुहुन्थ्यो । त्यसवापत प्रशासनले उहाँलाई शारिरिक र मानसिक यातना नदिएको हैन । तर उहाँले त्यस्ता कुन पनि कुराको प्रवाह गर्नुभएन ।

निर्भिक र निडर बरिष्ठ पत्रकार दाहाललाई पत्रकारद्वय राजेन्द्र दाहाल र धु्रवहरि अधिकारीले प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएका थियो । सम्मान पश्चात पत्रकार
राजेन्द्र दाहालले भन्नुभयो होमनाथ दाहालले पञ्चायत कालमा प्रजातन्त्रका पक्षमा निडरताका साथ पत्रकारिता गरेको स्मरण गर्नुभएको थियो । पञ्चायतका विरुद्धमा त्यसबेला लेख्ने साहस कुन पत्रकारले गर्दैननन् थिए । उहाँले सदैव प्रजातान्त्रिक धारको पत्रकारितामा नेतृत्व गर्नुभयो । आज आफू पत्रकार बन्नुमा दाहालकै प्रेरणा रहेको समेत उहाँले सुनाउनुभयो । अर्का पत्रकार चेतनाथ धमलाले दाहाललाई सम्मान गर्न पाएकोमा गौरवको अनुभूति भएको भन्दै ओखलढुंगामा जन्मिएर पत्रकारिता क्षेत्रमा समर्पित व्यक्तित्वहरुलाई संगठित गर्ने उद्देश्यले समाजको गठन गरेको सुनाउनु भएको थियो । अभिनन्दित एवम् सम्मानित व्यक्तित्व होमनाथ दाहालले समाजले आफूलाई सम्झिएर सम्मान गरेकोमा समाज र समाजप्रति आवद्ध सञ्चारकर्मीहरुप्रति आभार व्यक्त गर्नुभएको थियो ।
