नाबालिकालाई विवाह गर्ने बेहुला पक्राउ

खोटाङ । नाबालिकालाई झुक्याएर विवाह गर्ने एक बेहुलासहित दुईजनालाई खोटाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले १३ बार्षिया बालिकालाई ललाइफकाई गरी विवाह गरेको आरोपमा दिक्तेल मझुवागढी नगरपालिका वडा नं. १२ का २८ बर्षीय रमेश राई र बालिकाको आफन्त कमला राईलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार आफन्तकोमा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गरेका थिए । राईलाई बालिकाकै आफन्त कमला राईले विवाह गर्न सहयोग गरेकी थिइन् । गत पुस ८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस १२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बालविवासम्बन्धी कसुर अन्तर्गतको मुद्दा चलाइएको छ ।

पक्राउ परेका दुवैजनालाई प्रहरीले घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । उनीहरु दुवैजनालाई जिल्ला दालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रवक्ता प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो । कक्षा–८ मा अध्ययनरत बालिकालाई युवकको घरबाट उद्धार गरेर जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । पुस ८ गते युवकको घर पु¥याइएकी बालिकालाई पुस ९ गते किरात संस्कार अनुसार भित्र्याएको बुझिएको प्रहरी प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । मुलुकी
अपराधसंहिता २०७४ को परिच्छेद ११ विवाहसम्बन्धी कसुरमा बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिबाना हुने कानुनी व्यवस्था छ । विवाह गर्ने व्यक्तिको उमेर २० वर्षभन्दा कम भएको खण्डमा उक्त विवाह स्वतः रद्ध हुने मुलुकी अपराधसंहिताको बालविवाहसम्बन्धी कसुरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया