भोजपुर । भोजपुर र संखुवासभालार्ई जोड्ने सतिघाटमा पक्की पुल नहुँदा स्थानीय बासिन्दाहरुको दिनचर्या कष्टकर बन्दै गएको छ । भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या भएको हो । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा
रहेको यो स्थानमा पक्की पुल नहुँदा नागरिकले हैरानी खेप्नु परेको छ ।
वैकल्पिक उपायको रुपमा यहाँ करिब छ वर्षअघिबाट फेरी सञ्चालन गरिएको छ । तर विभिन्न प्राविधिक समस्या, हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने भएकाले समस्या झेल्नु पर्ने स्थानीयवासीको भनाइ छ । अरुण नदीमा पक्की पुल नहुँदा उत्तरी क्षेत्रको व्यापारिक केन्द्रको रुपमा रहेको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले बषौँबाट समस्या भोग्दै आएका छन् । सतिघाटमा पक्की पुल निर्माणको लागि राज्य गम्भीर नभएको स्थानीय राजकुमार राईले बताउनुभयो । उहाँका अनुसार अरुण नदीमा पुल नहुँदा उत्तरी क्षेत्रका नागरिकले आवतजावतमा समस्या भोग्नु परेको छ । उहाँले भन्नुभयो–‘पुल बनाउन राज्यको ध्यान गएको छैन, तर पुल पारि सडक भने कालोपत्रे बन्दैछ ।’ यो नदीमा पुल निर्माण भए समस्या भोग्नु नपर्ने अर्का स्थानीय कुमार राई बताउनुन्छ । बर्खा समयमा पानीको बहाव बढेपछि पूर्ण रुपमा फेरी बन्द हने भएकाले झोलुङ्गे पुलबाट नै आवतजावतसँगै पिँठ्यूमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्था रहेको उहाँको भनाइ छ । सवारी चालकहरु समेत यहाँ पुल नबन्दा फेरिबाट सवारी साधन तार्न घण्टौ पखिर्नुपर्ने बाध्यता रहेको बताउँछन् । रातको समयमा फेरि सञ्चालन नहुने भएकोले वारि नै बास बस्नुपर्ने बाध्यता भएको चालक निर्मल राई बताउनुहुन्छ ।
यहाँ २०७६ सालबाट फेरी सञ्चालनमा आएको हो । विभिन्न प्राविधिक समस्याका कारण यो पनि बेलाबेला बन्द हुने गरेको छ । त्योसँगै पानीको बहाव बढेपछि भने फेरी पूर्णरुपमा बन्द हुने गरेको छ । नियमित रुपमा भने करिब ६÷८ महिना मात्र फेरी सञ्चालन हुने गरेको छ । हिउँदको समयमा नदी पार गराउनको लागि बिहान ७ बजेबाट बेलुका १० बजेसम्म फेरी सञ्चालन हुने गरेको छ ।

हाल यही फेरीको सहयताबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिक बाह्य जिल्ला आवतजावत गर्दै आएका छन् । फेरीले तत्कालीन समस्या समाधानमा केही राहत मिले पनि स्थायी समस्याको समाधान नरहेको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । यहाँ पक्की पुल निर्माणको लागि पहलकदमी गरिरहेको प्रमुख उदासको भनाइ छ । षडानन्द नगरपालिकाको ३५ लाख र प्रदेश तथा संघीय सरकारको ६८ लाख गरी १ करोड ३ लाख बजेटमा फेरी सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ । यहाँबाट दैनिक ५० वटा साना तथा ठूला सवारी साधन फेरिकै भरमा तार्ने काम गरिएको छ । संघीय सांसद सुदन किराँती र षडानन्द नगरपालिकाका मेयर बिरबल राईले संयुक्त रुपमा फेरीको उद्घाटन गर्नुभएको थियो । फेरिले केही सहजता ल्याए पनि सवारी साधनलाई वापरपार गराउन लाइन लाग्नुपर्ने घण्टौ पर्खिनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । पुलमात्र दीर्घकालीन समस्या भएको उनीहरुको तर्क छ । षडानन्द नगरपालिका वडा नं. ६ भोजपुरका स्थानीय शालिकराम कोइराला भन्नुहुन्छ ‘यही क्षेत्रबाट चुनाव जितेर काँग्रेसका नेता ज्ञानेन्द्र कार्कीमन्त्री बने, सुदन किराँती यही क्षेत्रबाट जितेर मन्त्री बने्, यसभन्दा अगाडि भोजपुरकै शेरधन राई र राजेन्द्र राई दुई जना कोशी प्रदेशको मुख्यमन्त्री समेत बने तर पुल बनेन ।’ उहाँले प्रत्येक चुनावमा यो नदीमा पुल बन्ने एजेण्डाले भने प्राथमिकता पाउने गरेको बताउनुभयो । यहाँ सञ्चालन भएको फेरिले २५ टन सम्मको तौल बोक्न सक्छ । खाली समय हुँदा पनि वारिबाट पारि जाँदा १५ मिनेट र पारिबाट वारि आउँदा १५ मिनेट लाग्ने गर्दछ । तर सवारी साधनको अत्याधिक चाप हुनेगरेका कारण पाँच घण्टासम्म पर्खनुपर्ने बाध्यता रहँदा समयमै गन्तव्यमा पुग्न भने कठिनाइ भएको स्थानीयहरु बताउँछन् ।
