दमक । एक बर्ष अगाडि निर्माण सम्पन्न भएको दमक भ्यु टावर (प्रस्ताविक दमक विजनेश कम्प्लेक्स) को आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । चिनियाँ निर्माण कम्पनी जेडसिजीआइसी, आशिष निर्माण कम्पनी र ॐ साइराम कष्ट्रक्सन कम्पनीको ज्वाइन्ट भेन्चरमा भ्यु टावर निर्माण भएको हो । निर्माण सम्पन्न भएको एक बर्षसम्म भ्यु टावर सञ्चालनको जिम्मा कस्लाई दिने भन्ने कुरामै अलमल हुँदा औपचारिक रुपमा उद्घाटन हुन सकेको थिएन । भ्युटावर सञ्चालनको जिम्मा र दायित्व स्थानीय निकाय वा केन्द्र सरकार मातहतमा राख्ने भन्ने सम्बन्धमा लामो रस्साकस्सी चले पनि अब भने यसको सञ्चालनको जिम्मा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले पाएको छ । उद्घाटन हुनुभन्दा पहिला अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कार्यकारी निर्देशक तेजबहादुर राई लगायतको टोलीले दमक भ्यु टावरको अवलोकन गरेको थियो ।

वि.सं. २०७६ सालदेखि भ्युटावरको निर्माण शुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले न २०७६ आषाढ २७ गते भ्युटावरको शिलान्यस गरेका थिए । कुल १ अर्ब ७५ करोडको लागतमा निर्माण भएको भ्यु टावर १ सय मिटर अग्लो छ । १८ तला अर्थात ७२ मिटरसम्म कंक्रिट ढलान रहेको र २८ मिटर स्टिल फ्रेम रहेको छ भने स्टिल फ्रेमको अन्तिम विन्दुमा चिनियाँ कम्पनीद्वारा निर्माण गरिएका शक्तिशाली स्चालित पिटिजेड क्यामेरा जडान गरिएको छ ।
