लुम्बिनीमा नेपाल–भारत साँस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न

काठमाण्डौ । नेपालस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्व विद्यालयसँगको सहकार्यमा मंसिर २३ गते आइतबार लुम्बिनीमा भारत–नेपाल साँस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न गरेको छ । दुतावासद्वारा जारी विज्ञप्तीका अनुसार बौद्ध धर्ममा विशेष केन्द्रित हुँदै उक्त साँस्कृतिक महोत्सवले भारत र नेपालको समृद्ध साँस्कृतिक सम्पदा र परम्परालाई अंगीकार गरेका थिए । स्कृतिक महोत्सवको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यापाने, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिम्सिना, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा र भारतीय राजदुतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गर्नुभएका थियो । सो अवसरमा पदेशसभाका सांसद, बुटवल उपमहानगरपालिकाका प्रमुख, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका बरिष्ठ उपरीक्षकहरु, नागरिक समाजका सदस्यहरु, बौद्ध भिक्षुकहरु, लुम्बिनी विकास कोषका परिषद् र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
उद्घाटनका दिन अर्थात मंसिर २३ गते साँझमा भारत र नेपालका प्रख्यात कलाकारहरुको प्रस्तुति सहितको साँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख आकर्षण श्रीमति शिखा शर्माको नेतृत्वमा भारतबाट आएको ८ सदस्यीय समूहको बौद्ध धर्मको विषयमा आधारित कथक नृत्यको प्रस्तुति थियो । सो प्रस्तुतिलाई नयाँदिल्लीस्थित भारतीय साँस्कृतिक सम्बन्ध परिषद् (आइसिसीआर) ले सहयोग गरेको थियो । सो कार्यक्रममा स्वजन रघुवंशी र उहाँको समूहले परम्परागत नेपाली नृत्य समेत प्रस्तुत गरेका थिए ।


मंसिर २३ गते विहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘भारत र नेपालको बौद्ध साँस्कृतिक सम्पदा’ विषयमा शैक्षिक गोष्ठीको आयोजना समेत गरिएको थियो । गोष्ठीमा भारत र नेपालका प्रख्यात बौद्ध विद्वानहरुको सहभागिता रहेको थियो । उहाँहरुले दुवै देशका बौद्ध सम्पदाको साँस्कृतिक र ऐतिहासिक महत्वका बारेमा आफ्नो अन्तरदृष्टि साझा गर्नुभएको थियो । सोही दिन कत्थक नृत्यांगना शिखा शर्मा र उहाँको नृत्य समूहले कत्थक नृत्य कला बारेमा जानकारी गराउँदै रुपन्देहीको रोहिणी ३ स्थित रामनरेश यादव आदर्श नमूना माध्यामिक विद्यालयका विद्यार्थीसँग वार्तालाप समेत गर्नुभएको थियो । यहाँ स्मरणीय कुरा के छ भने उक्त विद्यालयको भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा केही बर्ष अगाडि निर्माण भएको हो । उक्त अन्तरक्रियाले भारतीय शास्त्रीय नृत्यको समृद्ध सम्पदालाई प्रवद्र्धन गर्नुका साथै विद्यालयका युवा विद्यार्थीहरुमाझ भारतीय कलाको विविधताप्रति रुचि राख्न प्रेरित गरेको थियो । महोत्सवमा भारतबाट आएका कथक नृत्य समूहले काठमाण्डौ र पोखरामा पनि आफ्नो प्रस्तुति पस्कने भएका छन् । जनता–जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउदै हाम्रा सँस्कृतिक सम्पदालाई महोत्सवले थप मजबुत बनाउने दुतावासद्वारा जारी विज्ञप्तीमा विश्वास व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया