धरान । धरानमा पहिलो पटक वडास्तरीय महिला फुटबल प्रतियोगिता शुरु भएको छ । नेपालको फुटबल विकासमा महिलाले अन्तराष्ट्रिय जगतमा सफलता हासिल गरिरहेको समयमा तल्लो स्तरबाट कहीकतै महिला फुटबल प्रतियोेगिता नभइरहेको अवस्थामा १६ नं. वडा समितिले जनमत जागरण समाजको आयोजनामा फुटबल प्रतियोगिताको संयोजनको भूमिका निर्वाह गरेको छ । भर्खरै नेपालमा सार्क स्तरीय प्रतियोगितामा महिला खेलाडीले ठूलो सफलता हात पारे । महिला खेलाडीमा पनि राष्ट्रिय खेलाडीको भूमिका निर्वाह गर्दै सफलता हात पार्ने सम्भावना हुँदाहुदै पनि नेपालमा भने ग्रास रुटदेखि महिला फुटबल प्रतियोगिताको आयोजना कमै हुने गरेको छ । विदेशमा भएको महिला फुटबल खेलबाट प्रोत्साहित भएर वडाअध्यक्षकै पहलमा प्रतियोगिता शुरु भएको हो ।
महिलालाई पनि अगाडि बढाउनुपर्छ, राष्ट्रिय महिला खेलाडी उत्पादन गर्नुपर्छ, खेल क्षेत्रमा पनि महिला अगाडि बढ्न सक्छन् भन्ने बुझेर जनपथ जागरण समाजको व्यानरमा वडाकै संयोजनमा वडास्तरीय महिला फुटबल प्रतियोगिताको आयोजना गरिएको वडाध्यक्ष मुरारी प्रसाद भटटराईले जानकारी दिनुभयो ।
धरान १६ रंगशालामा शुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशी सांसद ममता तामाङ योन्जनले गर्नुभएको छ । महिला हिंसा विरुद्धको अभियान नै चलेको बेला महिलालाई लक्षित गरी फुटबल प्रतियोगिताको आयोजना गरेकोमा सांसद योञ्जनले आयोजक जनपथ जागरण समाज र संयोजनको भूमिका निर्वाह गर्ने १६. नं. वडा समितिलाई धन्यवाद दिनुभयो । उहाँले वडास्तरीय यस्ता प्रतियोगिताले महिलाको खेलप्रतिको आकर्षणसँगै राम्रा खेलाडी उत्पादन गर्न सहयोग पुग्नेमात्र हैन व्याप्त महिलाहिंसाको अन्त्यको एउटा हिस्सा खेल जगत पनि हुने बताउनुभयो ।


पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा धरानका १५ वडाबाट प्रतिष्पर्धामा सहभागी रहेका छन् । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ८० हजार, दोस्रो हुने खेलाडीलाई ४० हजार नगद टूफी र प्रमाणपत्र प्रदान गरिने भएको छ । यस्तै विभिन्न विधामा समेत खेलाडीलाई पुरस्कृत गरिने छ । स्थानीय सरकारबाट पनि केही सहयोग लिएर शुरु गरिएको प्रतियोगितामा सहभागी महिला खेलाडीहरु उत्साहित देखिन्थे । पहिलो पटक प्रतियोगितामा समावेश भएका कारण उत्साहितसगै नर्मस समेत भएको खेलाडीहरुले बताएका थिए । फुटबलका खेलका गतिविधि धेरै भएकै कारण धरानलाई मिनी ब्राजिल भनिए पनि महिलालाई लक्षित गरेर राखिएको अहिलेसम्मकै यो प्रतियोगिता रहेको आयोजकको दाबी छ । १६ नं. वडा समितिले चासो दिएर जुन प्रतियोगिता आयोजना गरेको छ यसलाई सबैले प्रशंसा समेत गरेका छन् । सानै उमेरदेखि फुटबलको प्रशिक्षण दिई स्थानीय स्तरबाटै प्रतियोगिताको आयोजना गर्न सके महिला फुटबल खेलाडीको उत्पादनमा पनि होस्टेमा हैसे मिल्ने सबैको बुझाई छ । यस्ता प्रतियोगिता एउटा वडाबाटमात्र हैन नेपालका हरेक स्थानीय तहबाट आयोजना गर्न आवश्यक छ । यस्ता प्रतियोगितालाई राज्यका तीनै तहका सरकारले सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ ।
