बर्षादले समस्या बनाउँदा पनि धरानको कृषि बजारमा भित्रियो खसी बोका

धरान । नेपालीहरुको महान चाड दशै घरघरमा भित्रिइसकेको छ । दशैमा रमाइलोसँगै मासुका परिकारहरु सबैको घरमा पाक्ने गर्छ । यसले गर्दा मासुको जोहोमा सर्वसाधारण दशै आउनु भन्दा एक दुई हप्ता अगाडिदेखि नै लाग्ने गर्छन् । खसी र बोकाका लागि धरान १३ कृषि उपज बजार व्यापारिक स्थलको रुपमा मानिन्छ । दशैमा खसी बोकाको किनबेचका लागि कोशी प्रदेशकै कृषक, व्यापारीह खरिदविक्रीका लागि आउने गर्छन् । तर यस बर्ष लगातारको बर्षादले सडक सञ्जाल भत्काइदिँदा भने बजारलाई समेत आंशिक रुपमा प्रभाव पारेको छ ।ग धरान १३ मा रहेको कृषि उपज बजारमा दशैको अन्तिम शुक्रबार खसीबोका किनबेच गर्नेको घुइँचो नै थियो । विहीबार नै कृषक तथा व्यापारीहरुले कृषि बजारमा खसी बोका ल्याएका थिए । घटस्थापनाको भोलिपल्ट शुक्रबार परेका कारण कृषक आफूले ल्याएको खसी बोका विक्री गर्ने ध्याउन्नमा देखिन्थे भने व्यापारीहरु कृषकबाट सस्तो मूल्यमा उम्काउने दाउमा थिए । यस बर्ष पनि खसीको मूल्य गत बर्षको हाराहारीमा खरिद विक्री भएको कृषि बजारले जनाएको छ । गत बर्ष जिउदो खसी बोकाको मूल्य ६ सय ५० रुपैयामा बचेका उनीहरुले यस बर्ष उही मूल्यमा विक्री गर्नुपरेको विष्णुपादुका कृषक सविन राईले बताउनुभयो । उहाँले लगातारको बर्षाद्ले सडक भत्काएका कारण कृषि बजारसम्म ल्याउन भने समस्या भएको बताउनुभयो ।


तर उपभोक्ताहरुले भने यस बर्ष खसी बोकाको मूल्य विगतको भन्दा बढेको बताएका थिए । इटहरीबाट दशैका लागि खसी बोका खरिदका लागि आउनु भएका मानबहादुर अधिकारी ले बर्षादको कारणले खसीबोकाको भाउ महंगीएको बताउनुभयो । उहाँले केजी सिस्टम भन्दा पनि १०–१२ केजीको एउटा खसीको मूल्य ३५ हजारसम्म भन्ने गरेको बताउनुभयो ।
यो बजारमा पूर्वी पहाडी जिल्ला धनकुटा, सुनसरी, मोरङ, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, भोजपुरबाट खसी बोका आउने गरेका छन् भने यहाँबाट तराईका विभिन्न स्थान तथा भारत र काठमाण्डौसम्म पुग्ने गरेको कृषि उपज बजारले जनाएको जनाएको छ । कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कटुवालले दशै आउनुभन्दा दुई हप्ता अगाडिसम्म खसी बोकाको कारोबार धेरै हुने बताउनुभयो । उहाँले गत बर्ष दशैको समयमा ५ करोड बराबरको खसीबोकाको कारोबार भएको बताउदै यस बर्ष पनि सोही हाराहारीमा हुने आंकलन गर्नुभयो । उहाँले देशमा परेको लगातार बर्षाले आएको बाढी पहिरोले केही समस्या भने पु¥याएको बताउनुभयो । विगतमा यहाँका खसी बोका काठमाण्डौसम्म पु¥याइने भए पनि यस बर्ष भने सडक सञ्जालमा समस्या भएका कारण काठमाण्डौका व्यापारीहरु भने कृषि बजारमा नदेखिएको बताउनुभयो । दशैलाई प्रभावित बनाए पनि जसरी जे गरेर भएपनि दशै मनाउने परम्परा रहेकै कारण पनि प्रत्येक बर्षको दशै अगाडि कृषि बजारमा खसीबोकाको कारोबार बढ्ने गरेको छ । तर यस बर्ष भने बर्षादले सडक सञ्जाल भत्काएको, सर्वसाधारणको भौतिक संरचना भत्काइदिएको तथा सर्वसाधारणले ज्यान गुमाउनु परेको अवस्थामा विगतको जस्तो यस बर्षको दशैमा रौनकतामा कमी आएको हो कि भन्ने भान भने कृषि बजारको व्यापारले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया