भारत र नेपालको समृद्ध साँस्कृतिक सम्पदा झल्कने ओडिसी र लोकनृत्य प्रस्तुत

धरान । फागु पर्व (होली) को पूर्व सन्ध्यामा चैत्र १० गते भारत र नेपालको समृद्ध साँस्कृतिक सम्पदा भरतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य साँस्कृतिक कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नेपालस्थित भारतीय राजदुतावास स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले उक्त साँस्कृतिक कार्यक्रम संयुक्त रुपमा आयोजना गरेका थिए ।


पोखराको बाराहीघाट लेकसाइडमा आयोजित उक्त साँस्कृतिक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे मुख्य अतिथिको रुपमा सहभागी हुनु भएको थियो । यसैगरि गण्डकी प्रदेशका मन्त्रीहरु, कास्की जिल्लाका स्थानीय सरकारका प्रमुख, उपप्रमुखसँगै ४ सय भन्दा बढीको सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले नेपाल र भारतबीच धेरै साँस्कृतिक समानता रहेको र यस प्रकारको संयुक्त कार्यक्रमले दुवै देशको साँस्कृतिक विविधता देखाउने बताउनुभयो । यसैगरि भारतीय राजदुतावासका प्रथम सचिव अविनाश सिहले भारत र नेपालबीचको सदियौ पुरानो साँस्कृतिक सम्बन्धका बारेमा चर्चा गर्दै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा सो को स्वागत गर्दै खुशी व्यक्त गर्नुभयो । साँस्कृतिक कार्यक्रममा श्रितकमला, सखी हे, दशावतार र बसन्त वहार (वसन्तको रंग) प्रस्तुत गर्दै भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भावभङ्गीमा ओडिसी नृत्य प्रस्तुत भारतीय कलाकारहरुले गरेका थिए । लाखे नृत्यसँगै नेपाली लोक नृत्यको नेतृत्व निश्कल उदासले गर्नुभएको थियो । उहाँलाई संगीतकार निशान श्रेष्ठ, विशेष ताम्राकार, सम्बोधी उदाश, सम्राट भारी र आयुष श्रेष्ठले साथ दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया