पहाडी लोकमार्ग अनिश्चितकाल बन्द

धरान । प्रदेश नं. १ पुन नामाकरण संघर्ष समितिले मंसिर २६ गतेदेखि मध्यपहाडी लोकमार्ग अन्तर्गतको चिवाभन्ज्याङ–झुलाघाट अनिश्चित काल बन्दको घोषणा गरेको छ । कोशी प्रदेश खारेजी अन्तर्गत मध्यपहाडी लोकमार्ग अनिश्चितकाल बन्दको घोषणा गरिएको हो । प्रदेश नं. १ पुन नामाकरण संघर्षसमितिले शनिवार धरानमा पत्रकार सम्मेलन गरी त्यस्तो घोषणा गरेको हो । उनीहरुले प्रदेश नं. १ मा रहेका एमालेका ४० जना सांसद, एमाले अध्यक्ष केपी शर्मा ओली, युवा संघका केन्द्रीय अध्यक्ष महेश वस्नेत, एमाले सचिव योगेश भट्टराई सहभागी एमालेको कार्यक्रममा हस्तक्षेप गर्ने, अवरोध गर्ने बताएका छन् । प्रदेश सांसद, ओली, बस्नेत, भट्टराई बाहेकका एमाले नेता कार्यकर्ताले कोशी प्रदेश व्यानरविना कार्यक्रम गरेमा त्यसमा कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् । यसैगरी कोशी प्रदेश नाममा सहमति जनाई हस्ताक्षर गरेका नेपाली काँग्रेसका २९ जना सांसद, माओवादीका १३ जना सांसद, जनता समाजवादीका एक जना सांसदलाईसमेत कार्यक्रममा हस्तक्षेप गर्ने, अवरोध गर्ने पत्रकार सम्मेलनमा घोषणा गरेका छन् ।


पत्रकार सम्मेलनमा प्रदेश नं. १ पुन नामांकन संयुक्त संघर्ष समितिका अध्यक्ष एवम् पहिचान सहितको प्रदेश नं. १ पुन नामांकन अभियान समितिका अध्यक्ष डेगेन्द्रसिंह थेगिमका अनुसार कार्यक्रम गरेमा कोशी नामांकनमा समर्थन गर्दै हस्ताक्षर गर्ने प्रदेश सांसदलाई कालो मोसो दल्ने, जुत्ताको माला लगाउने, भौतिक रुपमा अवरोध गर्ने, हस्तक्षेप गर्ने कार्यक्रम यथावत रहेको छ । हाल संयुक्त संघर्ष समितिले प्रदेश नं. १ का स्थानीय निकायमा कोशी प्रदेश लेखेका साइन बोर्डहरु हँटाउने अभियान नै चलाएको छ । त्यस्ता बोर्डहरु हँटाउन, मेटाउन पहिलो पटक आग्रह गर्ने तर अटेर गरेमा आग्रहलाई वेवास्ता गरेमा आफै गएर मेटाउने, हँटाउने, भत्काउने, ध्वस्त गर्ने घोषित आन्दोलन कार्यक्रमभित्रै रहेको जनाएका छन् । प्रदेश नं. १ पुन नामांकन संयुक्त संघर्ष समितिले मंसिर २६ गतेदेखि मध्य पहाडी लोकमार्ग अन्तर्गतको चिवा भन्ज्याङ–झुलाघाट बन्द गर्नुको प्रमुख कारण एमालेका अध्यक्ष केपी ओली, सचिव योगेश भट्टराई, युवा सघका अध्यक्ष महेश बस्नेत समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत धनकुटा, तेह्रथुम, संखुवासभा जिल्लाको संगम स्थल बसन्तपुर बजारमा मंसिर २८ गते विहीबार वृहत आमसभालाई अवरोध गर्ने उद्देश्यले अनिश्चित कालीन बन्दको घोषणा गरेको हो । एमालेले समृद्धिका लागि सकल्प यात्रा २०८० बसन्तपुरबाट शुरु गर्दैछ । प्रदेश नं. १ पुन नामांकन संयुक्त संघर्ष समितिले मंसिर २५ गते सोमबार दिउँसो घुर्मी लेगुवा अन्तर्गत हिलेपानी, हलेसी, नुनथला, दिक्तेल, लामाखु, चखेवा र भोजपुर बजार तथा लेगुवा चिवा भन्ज्याङ अन्तर्गत लेगुवा, चैनपुर, मुढे, बसन्तपुर, जिरिखिम्ती, फोक्लावाङ, संक्रान्ति, फेदेन,जोर पोरी र च्याङथापुमा साँस्कृतिक सभा र साँझमा राँके
जुलुस गरेको छ । पहिचानवादीहरुले जानजान मुठभेडमा नआउन एमालेलाई आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया