एसियाली विकास बैंक र एसियाली इन्फास्ट्रक्चर बैंकको झण्डै १५ अर्बको ऋण सहयोग का“कडभिट्टा इनरुवा लौकही चार लेन सडक निर्माणका लागि रुख कटानको प्रक्रिया शुरु

धरान । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको काँकडभिट्टा इनरुवा लौकही चार लेनको एक सय २० किमी सडक निर्माणका लागि रुख कटानको प्रक्रिया शुरु गरिएको छ । उक्त सडक खण्ड अन्तर्गत हाल दुई लेनको सडकले बढ्दो सवारी चापलाई धान्न नसक्ने भएपछि सडक निर्माणको प्रक्रिया अगाडि बढाइएको दमकस्थित सडक डिभिजन कार्यालयले जनाएको छ । हाल सडक विस्तारका लागि झापाको काँकडभिट्टादेखि इनरुवा लौकहीसम्मको १ सय २० किमी सडकको दुवैतर्फ रहेका रुख कटानका लागि पहिलो चरणमा झापाको मावा खोलासम्मको रुखको नम्बरिङ्ग र मूल्यांकनको काम शुरु गरिएको छ । झापाको चन्द्रगढीस्थित डिभिजन वन कार्यालय र त्यस मातहतमा रहेका सव डिभिजन वन कार्यालयहरुले आफ्नो क्षेत्राधिकारभित्र रहेको सडक किनारका रुख र सामुदायिक वनका सम्भावित कटान हुने रुखहरुको नम्बरिङ र मूल्यांकन शुरु गरेको हो । एसियाली विकास बैंंक (एडिवी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइइवी) को ऋण तथा अनुदान सहयोगमा काँकडभिट्टा–इनरुवा–लौकही सडक निर्माण हुन लागेको हो । सडक विभागको आग्रहमा जिल्ला स्थित डिभिजन वन कार्यालयहरुलाई प्रेषित पत्र अनुसार सडक किनार र सामुदायिक वनका रुखहरुमा नम्बरिङ्ग र मूल्याकनको काम अगाडि बढेको डिभिजन वन कार्यालयका वन अधिकृत ऋषिराज पराजुलीले बताउनुभयो । पराजुलीका अनुसार हाल झापा सडक खण्डमा मेची नगर सव डिभिजन वन कार्यालयले काँकडभिट्टादेखि चारआलीसम्म, कन्काई सव डिभिजन वन कार्यालयले विर्तामोडदेखि कन्काई नदीसम्म र दमक सव वन डिभिजन कार्यालयले शिवसतासीदेखि दमकको मावाखोला सम्म रुखमा नम्बरिङ्ग र मूल्यांकनको कामलाई अगाडि बढाएको छ ।


काँकडभिट्टादेखि सुनसरीको लौकही इनरुवासम्म सडक किनारमा रहेका झण्डै १० हजार रुख छन् भने सामुदायिक वनका रुखहरु समेत झण्डै २० हजारको हाराहारीमा रहेका छन् । सामुदायिक वनमा सल्ला, बोड धँगेरो, जामुन लगायतका रुख रहेका छन् भने सडक किनारमा सिसौ, पिपल, वर, आप, सिरिस, वडरहरु लगायतका रुख रहेको पराजुलीले बताउनुभयो । त्यसरी काटिएका रुखहरुमध्ये सडक किनारका रुखहरु जिल्लास्थित डिभिजन वन कार्यालय मातहतका सव डिभिजन वन कार्यालयको स्वामित्वमा रहने र सामुदायिक वन तर्फबाट काटिएका रुखहरु मापदण्ड अनुसार प्रक्रिया
पूरा गरेर सामुदायिक वनहरुलार्ई नै जिम्मा दिने भएको छ । यहाँ स्मरणीय कुरा के छ भने काँकडभिट्टा इनरुवा लौकही सडक एसियाली मापदण्ड अन्तर्गत विस्तार हुन लागेको हो । यस भन्दा अगाडि भारतले पानी ट्यांकी भएर चारलेनको मेची पुल निर्माण गरिसकेको छ । बंगलादेशसँग सीमा जोडिएको चार लेनको एसियाली राजमार्ग भारतले बागडोगरा हुँदै मेची नदीमा चार लेनको पुल निर्माण गरिदिएको हो । महेन्द्र राजमार्ग पश्चिम वनवासा भएर दिल्लीतर्फ जाने सडक आयोजनाका उप निर्देशक प्रदीप शाक्यले बताउनुभयो । यो सडक निर्माणका लागि ठेक्का लागिसकेकोले सरकारी स्तरबाट सडक किनारमा अवरोध हँटाउने काम अगाडि बढेको हो । झापाको काँकडभिट्टादेखि इनरुवा लौकहीसम्मको एक सय २० किमी सडकमध्ये झापा खण्डमा ५४.९ किलोमिटर, मोरङ खण्डमा ३५.२ किमी र सुनसरी खण्डमा ३८.९ किमी रहेको छ । सडक निर्माण गर्दा मापदण्ड समेत निर्धारण गरिएको छ । जस अन्तर्गत सहरी क्षेत्रमा सर्भिसलेन सहित ५० मिटर चौडा, अर्ध सहरी क्षेत्रमा सर्भिसलेनसहित ३३ मिटर र ग्रामीण क्षेत्रमा सर्भिसलेनसहित २४ मिटर निर्धारण गरिएको शाक्यले जानकारी दिनुभयो । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले पूर्व पश्चिम महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि कांकडभिट्टा लौकही १२० किमी सडक स्तरोन्नतिका लागि एक बर्ष अगाडि नै वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई समेत
गरिसकेको छ । विस्तार हुने सडकले मेची नगरपालिकाको वडा नं. ६,७,१०, १३ र १७, अर्जुनधारा नगरपालिकाको वडा नं ५ र ११, विर्तामोड नगरपालिकाको वडा नं. १,२,३,४,५ र ६, कन्काई नगरपालिकाको वडा नं. १,३,४,७ र ८, शिवसतासी नगरपालिकाको वडा नं. १, ८,९,१० र ११, कमल गाउँपालिकाको वडा नं. ३,४ र ५, दमक नगरपालिकाको वडा नं. ४,५,६,७ र ९ छुनेछ । यसैगरी मोरङ खण्डमा उर्लाबारी नगरपालिकाको वडा नं. ३,४,५ र ६, पथरी शनिश्चरे नगरपालिकाको वडा नं. १, २ र १०, कानेपोखरी गाउँपालिकाको वडा नंं ५ र ७, बेलबारी नगरपालिकाको वडा नं १, २,३, ४,८, १० र ११, सुन्दर हरैचा नगरपालिकाको वडा नं. ३, ४, ५, ६, ७,८,९, १० र १२ तथा सुनसरी खण्डको इटहरी उपमहानगरपालिकाको वडा नं. ४,५,६, १६ र १७, रामधुनी नगरपालिकाको वडा नं. १,२,३,५ र ९, इनरुवा नगरपालिकाको वडा नं ३, ४ र ६, भोक्राहा नरसिंह गाउँपालिकाको वडा नं. ३,४,५ र ६ र कोशी गाउँपालिकाको वडा नं. १,२,३ र ४ छुने भएको छ ।

तपाईको प्रतिक्रिया