निष्ठावान नेतृत्वका अभावमा धरान ठगिदै

एक सय बर्ष भन्दा बढीको इतिहास बोकेका धरान इमान्दार, निष्ठावान नेतृत्वको अभावमा आजसम्म ठगिदै आएको छ । धराने जनताले लोकतन्त्र, प्रजातन्त्रमा धरान सबैभन्दा बढी ठगिएको, दोहनमा परेको महसुस गरेका छन् । पञ्चायतको ३० बर्षमा धरानले जे जति पायो प्रजातन्त्रको ३३ बर्षको अवधिमा ती पाएका सबै कुराहरु गु्मायो । एकताका पूर्वाञ्चलकै गुल्जार, सरकारी कार्यालय, उद्योगधन्दा, व्यापारका दृष्टिकोणले समेत आकर्षक स्थल  धरानले ३३ बर्षको अवधिमा सबै गुमाएको छ । धरानमा पञ्चायतका समयमा समेत पुरानावेदन अदालत, घरेलु तथा साना उद्योग कार्यालय, प्रमाणपत्र तह नर्सिङ कलेज, हावापानी कार्यालय, नेपाल टेलिकम (हाल नाममात्रको), शाही नेपाली सेनाको भर्ति केन्द्र, यातायात लाइसेन्स कार्यालय लगायत दर्जनौ सरकारी कार्यालयहरु रहेका थिए । तर प्रजातन्त्र स्थापनासँगै सबै प्रायः सरकारी कार्यालय इनरुवा, इटहरी, विराटनगर  स्थान्तरण भए । सरकारी कार्यालय स्थान्तरण हुँदा त्यसलाई रोक्ने कुनैपनि दलका नेता कार्यकर्ता अगाडि सरेनन् । क्षेत्रीय अस्पताल समेत अन्तिमा स्थान्तरण भयो । प्रजातन्त्र हुँदै लोकतन्त्रमा धरान केवल दोहनमा मात्र प¥यो । सरकारी कार्यालयहरु स्थानन्तरण भएपछि यहाँका उद्योगधन्दाहरु समेत क्रमश ः बन्द भए । व्यापारीहरु धरान छाडेर इटहरी, विराटनगर वा अन्यत्र पलायन भए । राजा वीरेन्द्रबाट धराने जनतालाई पानीको व्यवस्थापन गर्न सर्दु जलाधार क्षेत्रको जग्गा यही अवधिमा भूमाफिया, अदालत, कथित जनप्रतिनिधिको मिलेमतामा खरिद विक्री गरियो । एकआद्य व्यक्तिको विरोधलाई भूमाफिया, राजनैतिक दलका स्थानीय दलालको मिलीभगतमा प्रहरी प्रशासन लगाएर धम्क्याउने जस्तो घिनलाग्दो कार्य भयो । धरानको ठगिने क्रम अर्थात धरानलाई दुहुने धन्दा अझ रोकिएको छैन । पछिल्लो पटक सरकारी स्वामित्वको खानेपानी संस्थान दलीय दलालहरुको कोप भाजनको शिकार भयो । एसियाली विकास बैंकको ऋण सहयोगमा २४ घण्टा पानी उपलब्ध  गराउने भन्दै जंगलका रुखहरु मासेर केही ट्युवेल खनियो । तर पानीको अवस्था थप दयनीय भएर गएको छ । एसियाली विकास बैंकबाट प्राप्त रकम दलीय भागबण्डा भयो । आज सस्थानको जुन संरचना छ त्यहीबाट आएको पानी दुई तीन दिनको  अन्तरालमा भएपनि धराने जनताले पाएका छन् । संस्थानलाई कब्जा गरेर धरान खानेपानी बोर्ड बनाइयो । खानेपानीको मुद्दालाई प्रमुखताका साथ उठाएर धरान उपमहानगरपालिकाको प्रमुख बनेका हर्क साम्पाङ राई आफ्नो विगतको मुद्धाबाट पन्छिएका छन् । धराने जनताहरुले गालीको बर्ष गर्न थालेपछि कहिले धरान इटहरी सीमाको विवाद झिकेर धराने जनताको ध्यान मोड्न खोज्छन्, कहिले विना प्रसंग सर्दु जलाधार क्षेत्रको जग्गा फिर्ता ल्याएरै छोड्नु भन्दै नौटंकी गर्छन, कहिले सम्भावना नै नभएको एयरपोर्टको प्रसंग उठाएर धराने जनतालाई भुक्याइरहेका छन् । आजको दिन कस्तो हुन्छ भन्ने कुरा विहानीले संकेत  गर्छ । काम गर्न ल्याकत नभएपछि नानाथरिका उट्पट्याङगर्नुको तुक रहँदैन । अब त धराने जनताले कसैप्रति विश्वास गर्नै छाडिसकेका छन् ।

तपाईको प्रतिक्रिया