भारत–चीन जोड्ने खाँदबारी किमाथांका सडकको ट्रयाक खुल्न ३५ सय मिटर बाँकी कुल २३ वटा पुलमध्ये ११ वटा सम्पन्न, एक निर्माणाधीन बा“की निर्माणको प्रक्रियामा

धरान । सबैभन्दा छोटो दूरीको त्रिदेशीय सडक सञ्जालको रुपमा रहेको भारत चीन जोड्ने वहुचर्चित खाँदबारी–किमाथांका सडकको ट्रयाक खुल्न अब ३५ सय मिटर बाँकी रहेको छ । सडक विभाग अन्तर्गत निर्माण हुँदै गरेको खाँदबारी किमाथांकाको च्याम्ताङ घोङगोप्पा सडकको शखेभीरमा यतिबेला नेपाली सेनाले ट्रयाक खोल्न काम गरिरहेको छ । खाँदबारी किमाथांका १६२ किमी सडकमध्ये १०.५ किमी सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको थियो । च्याम्ताङ–घोङगोप्पा सडक खण्डको शंखेभीर अत्यन्तै कडा चट्टाने भीर भएकोले ब्लाष्ट गरी ट्रयाक खोल्नुपर्ने हुँदा २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नेपाली सेनालाई दिइए तापनि नेपाली सेनाले आवश्यक सम्पूर्ण तयारी पूरा गरेर २०७७ माघ २४ गतेबाट काम शुरु गरेको थियोे । शैन्य स्रोतले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७७÷०७८ मा ५ सय मिटर ट्रयाक निर्माण तथा २५ क्याम्प निर्माण  गरेको थियो । आर्थिक बर्ष ०७८÷०७९ मा २.५ किमी सडकको ट्रयाक खोली अघिल्लो आर्थिक बर्षमा खुलेको ५ सय मिटर ट्रयाकलाई ९ मिटर चौडा स्तरोन्नति तथा विस्तार गरेको थियो । यसैगरि आर्थिक बर्ष २०७९÷८० मा ३.५ किमी नयाँ सडकको ट्रयाक निर्माण गरी अघिल्लो आर्थिक बर्षमा खोलेको २.५ किमी सडक स्तरोन्नति तथा विस्तार गरेको थियो । यस्तै आर्थिक बर्ष २०८०÷८१ मा २ किमी मध्ये ५ मिटर ट्रयाक खोलिसकेको र चैत्र वैसाखसम्ममा थप १५ सय मिटर सडकको ट्रयाक खाल्ने जनाएको छ । यससँगै ट्रयाक खुलेको ३५ सय मिटर सडक स्तरोन्नति र विस्तार गर्ने सैन्य स्रोतले जनाएको छ । आगामी आर्थिक बर्ष २०८१÷०८२ मा बाँकी रहेको दुई किमी सडकको ट्रयाक खोल्ने र स्तरोन्नति एवम् विस्तार गर्ने जनाइएको छ ।


हाल खाँदबारी किमाथांका सडकको वरुण खोला भन्दा अगाडि कुनै सवारी साधन जाँदैनन् । ट्याक्टरहरु चुम्सुरसम्म कठिनका साथ पुग्छन् । यसपटकको बाढीले यो सडक खण्डको १०–१२ ठाउँमा क्षति पु¥यायो, सडक बगायो । मर्मत सम्हारलाई पनि नेपाली सेनाले सँगसँगै लगेको छ । बगाएको सडकहरु पुन ः निर्माण  गरेको छ । च्याम्ताङबाट चुम्सुर ४ किमी मात्र अगाडि हो । प्रारम्भमा नेपाली सेनाले तीन मिटर ब्लाष्टिङ गरेर ट्रयाक खोल्ने र त्यसलाई ९ मिटरमा स्तरोन्नति गर्ने गरेको छ । प्रारम्भमा नेपाली सेनाले दुईतर्फ क्याम्प अर्थात च्याम्ताङ र घोङगोप्पामा राखेको थियो । हाल च्याम्ताङतर्फ मात्र क्याम्प राखेको  छ । लेवर क्याम्पहरु ठाउँ ठाउँमा  राखिएको छ भने सुरक्षा टोलीहरु पनि पाल टाँगेर बसेका छन् ।
बरुण नदीसम्मको ८० किमी डबल लेन

विराटनगरको रानी–जोगबनीबाट किमाथांका सम्मको दूरी ३६२ किमी रहेको छ । उत्तरदक्षिण कोशी सडक करिडोर अन्तर्गत खाँदबारीदेखि बरुण नदीसम्मको ८० किमी सडक डबल लेनको रहेको इन्जिनियर सविन कोइरालाले जानकारी दिनुभयो । इन्जिनियर कोइरालाका अनुसार बरुण नदीभन्दा अगाडिको सडकको ट्रयाक केही साँगुरो छ । हाल च्याम्ताङसम्म ट्याक्टरहरु पुग्ने गरेका छन् । तर सेनाले खोलेको ट्रयाक ९ मिटर चौडा रहेको छ । सेनाले ट्रयाक खोल्ने र स्तरोन्नति गर्ने काम एक साथ अगाडि बढाएको उहाँले बताउनुभयो ।
ठेकेदारद्वारा उच्च अदालतमा रिट दायर

खादबारीदेखि नुमसम्मको ३९ किमी सडक कालो पत्रे गर्ने योजना रहेको थियो । यसका लागि शर्मा शिव शक्ति जेभीले तीन प्याकेजमा ठेक्का पायो । तर उसले हालसम्म कुनै काम गर्न सकेन । इन्जिनियर कोइरालाका अनुसार बारम्बार काम अगाडि बढाउन मौखिक र लिखित रुपमा आग्रह गर्दा पनि उसले काम अगाडि नबढाएपछि आयोजनाले उसको सबै पेस्की तानिदियो । ठेकेदार कम्पनी शर्मा शिव शक्ति जेभीले उच्च अदालत पाटनमा अन्तिरिम आदेश पाउँ भन्दै रिट दायर ग¥यो । इन्जिनियर  कोइरालासँग मंसिर १० गते सम्पर्क राख्दा आफू उच्च अदालत पाटनमा रहेको, मुद्दाको सुनुवाई भएको बताउनुभयो । योजनाकै पक्षमा निर्णय आउनेमा आफू सकारात्मक भएको उहाँले सुनाउनुभयो । शर्मा शिव शक्ति जेभीले २०७८ सालमा १ अर्ब २० करोडमा ४५ प्रतिशत घटेर ब्लाक टप गर्ने टेन्डर हात पारेको थियो । उता नुमबाट दोभानसम्म (अरुण खोलाको ड्याम भएसम्म) विवश निर्माण सेवाले ८ किमी सडक कालोपत्रे गर्ने जिम्मा पाएको छ । ४८ करोडको लागतमा रहेको उक्त सडक कालोपत्रे गर्न निर्माण कम्पनीले सडक विस्तार गरिसकेको इन्जिनियर कोइरालाले बताउनुभयो ।
दोभान नयाँ बस्तीदेखि भोटखोलासम्म मर्मत सम्हार हुँदै

दोभान नयाँबस्तीदेखि गोला (भोटखोला) सम्मको २५ किमी सडकको हाल स्वामी नारायण कस्ट्रक्सनले dlp  (मर्मत सम्हार पिरियड) मर्मतको सम्हारको काम गरिरहेको छ । इन्जिनियर कोइरालाका अनुसार मर्मत सम्हारको अवधि एक बर्षको हुने गर्दछ । यसैगरि गोलादेखि बरुण नदीसम्मको ४ किमीको टेन्डर आवहान गरिएको छ । जुन ठेक्का प्रक्रियामा रहेको छ । फाइनल भइसकेको छैन । हाल खाँदबारी किमाथांका सडकको ४९ किमी सडक कालोपत्रेका लागि ठेक्का लागे पनि कालोपत्रे भने कही कतै नभएको इन्जिनियर कोइरालाले बताउनुभयो । उता घोङगोप्पादेखि किमाथांकासम्मको १४ किमी सडकको ट्रयाक साँघुरो रहेको छ । उक्त सडकको स्तरोन्नति र विस्तार गर्नुपर्ने जनाइएको छ ।
खाँदबारी किमाथांका सडकमा २३ पुल

खाँदबारी किमाथांका सडक खण्डको १६२ किमीभित्र पुलको संख्या २३ हुने इन्जिनियर सविन कोइरालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो हालसम्म ११ वटा पुल निर्माण भइसकेका छन्, एक निर्माणाधीन अवस्थामा रहेको छ भने अरु अध्ययनमै छन् । डिपिआर समेत भएका छैनन् । निर्माणाधीन पुल बरुण नदीमाथिको हो । विवस ड्रागन एमएम जेभीले ६० मिटर लामो उक्त पुल निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको छ ।

तपाईको प्रतिक्रिया