धरान । मंसिर ७ गतेबाट काठमाण्डौको माइतीघर, नयाँ बानेश्वर केन्द्रित तेस्रो जनआन्दोलनको घोषणा गरेका राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति र नागरिक बचाउ महाअभियानका अभियन्ता दुर्गा प्रसाईको अभियान रोक्न वर्तमान अपवित्र गठबन्धनको सरकारले एक महिने निषेधाज्ञा जारी गरेको छ । सरकारको उक्त कदमले संविधानले प्रदान गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन भएको
छ । गणतन्त्रको नाममा सत्ताको चास्नी खानेहरुको पूरै जरा हल्लिएको छ ।

घोषित आन्दोलनको तीन दिन अगाडि नै वर्तमान अपवित्र गठबन्धन सरकारको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा आदेश गरेका छन् । जारी आदेशमा भनिएको छ एक वा सो भन्दा बढी समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरु आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त भई शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्नुको साथै उल्लेखित स्थानमा सर्वसाधारण नागरिकको सेवा प्रवाहका लागि प्रयोग हुने मुख्य मार्ग एवम् महत्वपूर्ण प्रतिष्ठान समेत भएकोले सो क्षेत्रमा रहेका सार्वजनिक सेवा प्रदायक निकायहरुको कामकारबाही, सार्वजनिक सम्पत्ति संरक्षण एवम् सुरक्षामा प्रत्यक्ष नकारात्मक असर पर्न जाने र अत्यावश्यक एम्बुलेन्स, दमकल तथा सार्वजनिक यातायात अवरुद्ध हुने अवस्था समेतलाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति काठमाण्डौको सिफारिस समेतका आधारमा मंसिर ४ गतेदेखि ३० दिनसम्मका लागि पाँचजना भन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको जनाइएको छ ।
