नेपालका शासकहरु कमाउ धन्दामा निर्लिप्त हुँदा इतिहासमै मुलुकको अवस्था अस्तव्यस्त भएको छ । चौतर्फी रुपमा वर्तमान व्यवस्था र शासकका बारेमा समाजिक सञ्जाल लगायतका अन्य माध्यमबाट विषवमन भइरहेको छ । हिजोको दिनमा व्यवस्था परिवर्तनका लागि होमिएका नागरिकहरु आज घृणा ओकल्न थाल्नु शासकहरुको् निकम्बापन नै हो । शायद नेपालका शासकहरुले आफूहरुले जे गर्दा पनि नागरिक बोल्दैनन भन्ने भ्रम पालेका थिए । त्यही भ्रमले गर्दा उनीहरु पतन भएका हुन् । झुठो बोल्नु, केही थान गुण्डाहरु राखेर सत्ताको रस्वादन गरेकाहरु यति चाँडै पतन हुन्छन् भन्ने कुरा कसैले सोचेका थिएनन् । नेपाली काँग्रेस, एमाले, माओवादी लगायतका दलका नेताहरुले आजसम्म सत्ताकै लागि मात्र राजनीति गरे । सत्तामा पुग्न उनीहरुले आफ्नो विचार, आदर्श, मूल्य, मान्यता, नीति, सिद्धान्त सबै बिर्र्सिए, तिलाञ्जली दिए । सत्ताको आडमा क्रुर भनिएका राणा, तानाशाह भनिएका राजाहरुले संरक्षण गरेका, निर्माण गरेका सार्वजनिक सम्पत्ति भागबण्डा गरे, ध्वस्त बनाए । नागरिकहरुले राज्यका तर्फबाट नैसंगिएक रुपमा पाउनुपर्ने आधारभूत कुराहरु शिक्षा, स्वास्थ्य र रोजगारी हो । तर यहाँ मन्त्री, साँसद, नेताहरु नै धन्दा चलाउँछन् । राज्यकोष दुरुपयोग गरी आफै नीति नियम बनाई महंगा निजी स्कुल, अस्पताल,मेडिकल कलेज खोल्छन् । व्यापार गर्नु नै थियो भने जनता नंग्याएर राज्यकोषको दुरुपयोग गरी, तस्करीको धन्दा राजनैतिक आडमा किन गर्नु ? आज सक्षम युवाहरु दैनिक २० हजार रोजगारीका लागि पराई मुलुक जान बाध्य भएका छन् । शासकहरु आफै युवा पलायनको माध्यम बनेका छन् । यहाँ रहेका राणा, राजाहरुले स्थापना गरेका उद्योग कलकारखाना बन्द गरी अन्य मुलुकसँग श्रम सम्झौता गर्छन् । २०४६ साल यता राज्यका तर्फबाट एउटा उद्योग स्थापना गरिएको छैन । त्यसभन्दा अगाडिका उद्योगहरु कौडीको भाउमा बेची बन्द गराए । नेपालका शासकहरु भएका उद्योग कलकारखाना सञ्चालन गरी दातृ राष्ट्रसँग श्रम सम्झौता होइन उद्योग स्थापनाका लागि सम्झौता गरिदिएको भए वर्तमान व्यवस्थाप्रति आम नागरिकको चरम घृणा जाग्ने थिएन । वर्तमान व्यवस्था अबका दिनमा निर्विकल्प रहेन । व्यवस्था र शासकका विरुद्ध नागरिक अभियानमा लागिसकेका छन् । वितगमा व्यवस्था परिवर्तन गर्न एक महिना, १९ दिन लागेको थियो भने अब त्यति समय पनि नलाग्ने भएको छ । शासकका विरुद्ध विषवमन गर्न मंसिर पहिलो हप्तादेखि देशका सबै जिल्लाबाट राजधानी पुग्न थालेका छन् । उनीहरु स्वस्फूर्त रुपमा आफ्नै खर्चमा आन्दोलन गर्न गएका हुन् । आक्रोस, घृणाका कारण उनीहरु व्यवस्थाका विरुद्धमा एकत्रित भएका हुन् ।
