नेपालबाट बर्षेनी लाखौ श्रमिक निर्यात हुँदै थिए, त्यसपछि विद्यार्थी यो या त्यो लिएर वहानमा निर्यात हुन थाले, अब विस्तारै व्यवसायीहरु विस्थापित हुन थालेका छन् । यो मुलुकको लागि डरलाग्दो अवसानको संकेत हो । आज हरेक नागरिकले राज्यलाई कर तिरेका छन् बद्लामा नागरिकले के पाएका छन् ? चरम महंगी, बेरोजगार, अभाव, असुरक्षा । वर्तमान गठजोड सरकारको नेतृत्वले पहिला कथित जन आन्दोलनको नाममा जंगलबाट नागरिक लुट्ने, हत्या गर्ने काम ग¥यो भने यतिबेला सिंहदरबारभित्र बसेर आफ्नो विगतलाई निरन्तता दिइरहेको छ । अब जनतामारा वर्तमान सरकार र तिनका मतियारहरुले माफ पाउने छैनन् । दीगो आय आर्जन नभएका सर्वसाधारण नागरिकले अब बाँच्नै नसक्ने अवस्था सिर्जना हुनुमा नालायक र निकम्बा सरकार र तिनका गठजोड मतियारहरु नै प्रमुख कारक हुन् । बर्षेनी लाखौ दक्ष युवाशक्ति पलायनको श्रृंखला यही रफ्तारमा जारी रहेमा आगामी केही बर्ष भित्रमा सेना, प्रहरीमा भर्ति हुने युवा मुलुकमा हुने छैनन् । लोकसेवा लड्ने युवाहरु पाइने छैनन् । सधै असुरक्षित भएर विरामीको उपचारमा संलग्न चित्सिक, नर्सहरु मुलुकमा बस्ने छैनन् । कृषि क्षेत्रमा मजदुरको अहिल्यै चरम अभाव छ, आगामी बर्षमा मुलुकमा कृषि मजदुर बस्ने छैनन् । मुलुकमा आफ्नो कृषिजन्य उत्पादन रहने छैन । हालमात्र पनि खरबौको खाद्यान्न आयात भइरहेको छ । विगतमा नेपालले खरबौको कृषिजन्य उत्पादन निर्यात गर्दथ्यो । तर आज परिस्थिति पूर्ण रुपमा बदलिएको छ । देशका कथित नीति निर्मार्ताहरु जसरी हुन्छ लुट्ने धन्दामा संलग्न भए । मुलुकको कानुन, नियम, पद्धति लुटेराहरुको स्वविवेकमा चल्न थाले । सर्वस्व सहित हदै सम्मको सजाय पाउनेहरु यस देशका सम्मानित नागरिक भएका छन् । आखिरी यो अव्यवस्था कहिलेसम्म ? आज महँगीले मध्यमवर्ग र निम्न वर्ग भएका नागरिकहरु छटपटाहटमा छन् । देशका केही सीमित जो सिंहदरबार, बालुवाटारसँग आफ्नो निकट सम्बन्ध बनाएका व्यवसायीहरुले वस्तुको मूल्य अनयन्त्रित बनाएका छन् । तिनै सीमित व्यवसायीहरुबाट गठबन्धनका मतियारहरुले मासिक करोडौ रुपैया कमिशन असुल्छन् । हालै मात्र सरकार स्वयम्ले आम नेपालीको महान पर्व दशै र तिहारको मुखमा भारिमात्रामा पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ । तर व्यापक जनगुनासो पछि अहिले मूल्य बृद्धि फिर्ता लिएको अवस्था छ । पेट्रोलियम पदार्थमा मूल्य बृद्धि हुनासाथ ढुवानी लागत बढ्ने निश्चित हुन्छ । यसले महंगी थप बढाउने खतरा देखिएको थियो । सरकारको कर्तव्य आफ्नो नागरिकलाई राहत प्रदान गर्नु हो, तर सरकार स्वयम् अनियन्त्रित मूल्य बृद्धिलाई बढावा दिइरहेको छ । यही अवस्था रहेमा आम नागरिक सिंहदबार, कथित गठजोड सरकारका विरुद्धमा सडकमा उत्रन बाध्य छन् । त्यसले कुन रुप लिन्छ त्यो भविष्यले नै बताउने छ ।
