भारतको नयाँ दिल्लीमा इन्डो प्यासिफिक सेना प्रमुखहरुको सम्मेलन सम्पन्न

धरान । इन्डो प्यासिफिक क्षेत्रमा दीगो शान्ति र स्थायित्वका लागि इन्डो प्यासिफिक सेना प्रमुखहरुको सम्मेलन भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ । भारतीय प्रधानसेनापति जनरल मनोज पाण्डेको आमन्त्रणमा असोज ८ गतेदेखि १० गतेसम्म भएको सम्मेलनमा सहभागी हुन नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा असोज ७ गते नयादिल्ली पुग्नु भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका भ्रमणमा जानु अगाडि प्रधानसेनापति शर्माको भ्रमण स्वीकृत भएको थियो ।


तीन दिन सम्म चलेको सम्मेलनमा न्युजिल्याण्ड, म्यानमार, भारत, मंगोलिया, माल्दिभ्स, अमेरिका, अस्ट्रेलिया,बंगलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, बु्रनाई, कम्बोडिया, दक्षिण कोरिया लगायत ३० देशका प्रधानसेनापति तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भारतीय सेनाको  आधिकारिक ट्विटर ADGPI-INDIAN ARMY मा उल्लेख भए अनुसार इण्डो प्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्वका लागि आपसी सहकार्यलाई थप मजबुत बनाउने विषयमा सम्मेलन केन्द्रित रहेको थियो । सम्मेलनमा सहभागी ३० देशमध्ये १८ देशका सेना प्रमुखहरु स्वयम् उपस्थित भएका थिए भने १२ वटा देशका सैन्य प्रतिनिधिहरुले सहभागिता जनाएको सेनाको आधकारिक सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरिएको छ । सम्मेलनका क्रममा सहभागी सेना प्रमुख तथा सैन्यप्रतिनिधिहरुसँग भारतीय सेना प्रमुख जनरल मनोज पाण्डेले छुट्टाछुट्टै भेटघाट र छलफल समेत गर्नुभएको थियो । सेना प्रमुख र सेनाको प्रतिनिधिबीचमा हिन्द प्रशान्त क्षेत्रमा दीगो शान्ति, स्थिरता र सुरक्षाको लागि साझेदारी गर्ने विषयमा छलफल केन्द्रित भएको थियो । यसका अलावा इन्डो प्यासिफिक क्षेत्रका सेना प्रमुख बीचमा आपसी सहयोग, अन्तर सञ्चालन क्षमता बृद्धि, मानवीय सहायता र संकट न्यूनिकरण सम्बन्धी सैन्य कुटनीतिको विषयमा समेत सम्मेलन केन्द्रित भएको थियो । यसैगरी दैवी विपत्तिका अवसरमा तथा अन्य विपत्तिका समयमा मानवीय सहायता तत्काल उपलब्ध गराउनुपर्ने राहत, मानवीय उद्धार जस्ता कुरामा संयन्त्रको विकास लगायतका विषयमा समेत सम्मेलनमा गहन छलफल भएको भारतीय सेनाको आधिकारिक ट्विटरमा जनाइएको छ । हाल सम्पन्न इन्डो प्यासिफिक सेना प्रमुख तथा सैन्य प्रतिनिधिहरुको १३ औं सम्मेलन रहेको थियो ।

तपाईको प्रतिक्रिया