जिल्ला हुलाक सुनसरीका अधिकृत कटुवालको विदाई

धरान । झण्डै एकचालीस बर्षे सेवा अवधिबाट अनिवार्य सेवा निवृत्त हुनु भएका जिल्ला हुलाक कार्यालय सुनसरीका अधिकृत राजु कटुवालको भावपूर्ण विदाई गरिएको छ । वि.सं. २०३९ सालमा हुलाक सेवामा प्रवेश गर्नुभएका कटुवालले सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, इलाम, पाँचथर लगायतका जिल्लामा रहेका अतिरिक्त हुलाक, जिल्ला हुलाकमा रही सेवा गर्नुभएको थियो ।
असोज १२ गते शुक्रबार कार्यालय परिषरमा जिल्ला हुलाकका कर्मचारीसँगै सुनसरीका अन्य स्थानमा रहेका अतिरिक्त हुलाकका कर्मचारीहरुले उहाँको कार्यशैलीको प्रशंसा गर्दै दर्जनौ उपहारसँगै दोसल्ला ओढाएर विदाई गरेका थिए । ५० हजार राशीको निजामति सेवा सम्मान पुरस्कार २०८० बाट पुरस्कृत समेत हुनु भएका कटुवालले आफ्नो विदाईका क्रममा सम्पूर्ण हुलाक कर्मचारीबाट पाएको न्यानो आतिथ्य आफू कहिल्यै बिर्सन नसक्ने बताउनु भएको थियो । विदाईका क्रममा भावुक देखिनु भएका कटुवालले आफ्नो कार्यकालमा कसैप्रति आत्म सम्मानमा ठेस लाग्ने कुनै कार्य गरेको भए सोका लागि क्षमा दिन आग्रह गर्नुभएको थियो ।


सो अवसरमा बोल्दै जिल्ला हुलाक कार्यालय सुनसरीका कार्यालय प्रमुख कृष्णकुमार कार्की ढोलीले कार्य सम्पादनमा कटुवालको कार्यकुशलताको प्रशंसा गर्नुभएको थियो । उहाँले भन्नुभयो विगत केही बर्र्षदेखि कटुवालसँगै काम गर्ने अवसर प्राप्त भयो । उहाँले कहिल्यै कसैप्रति कुनै प्रकारको वैरभाव नदेखाएको बताउँदै आज विदाई भएपनि कटुवाल सरकारी कर्मचारी नै रहेकोले समय समयमा सकारात्मक सल्लाह, सुझावको आफूले अपेक्षा गरेको बताउनु भयो । जिल्ला हुलाक कार्यालय सुनसरीकी खरिदार रुपादेवी तिवारीले समेत कार्यकुशलता भएका कटुवालको् विदाई गर्नुपरेकोमा न्यास्रो लागेको भएपनि राज्यको प्रचलित नियम कानुन मान्नैपर्ने हुँदा आगामी दिनमा अधिकृत कटुवालको सहयोगको अपेक्षा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कर्मचारी गोपाल कामतले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया