बेसारमा खुदी मिसावट : मिल सञ्चालकलाई २ लाख जरिवाना

धरान । चाडबाड नजिकिदै जाँदा कालाबजारी, कृत्रिम अभाव र अखाद्य वस्तु मिसावट गरेर व्यापारीहरुले विक्री वितरण गर्ने गरेका छन् । धरानको एक बेसार मिलले उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलबार्ड गर्दै बेसारमा खुदी मिसाएर विक्री  वितरण गरेको पाइएसँगै व्यापारी व्यवसायीहरुले चाडपर्वलाई कमाउ धन्दाको अवसरको लिने गरेको पाइएको हो । धरान उपमहानगरपालिकाको अनुगमन टोलीले अनुगमनका क्रममा ती मिल सञ्चालकले बेसारमा खुदी मिसाएर विक्री वितरण गर्ने गरेको पाइएपछि २ लाख रुपैया जरिमाना तोकिएको छ । खुदी मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई धरान उपमहानगरपालिकाले २ लाख रुपैया जरिवाना तोकेको उपममहानगरपालिकाले जनाएको छ । धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलका सञ्चालक गोर्खामान श्रेष्ठले बेसारमा खुदी मिसाएर पिस्ने गरेको गुनासो उपमहानगरपालिकाको अनुगमन टोलीसमक्ष आएपछि अनुमगन टोलीले सो मिलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा बेसारमा चामलको खुदी मिसाएर पिस्दै गरेको फेला परेको थियो । अनुगमन टोलीले तत्काल मिल बन्द गराएर मिसावट  गरिएको १३ बोरा बरामद गरेको थियोे भने ४५ बोरा बेसार मिलमै छोडेको थियो । अनुगमन टोलीको फिल्ड रिपोर्टको आधारमा बिहिबार उपमहानगरपालिकाले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) वमोजिम २ लाख रुपैया गरिवाना गर्ने निर्णय गरेको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिनुभयो ।


अनुगमनका क्रममा मिल सञ्चालकले विष्णुपादुकाको बेसार भन्दै उपभोक्तालाई विक्री वितरण गर्ने गरेको पाइएको उहाँको भनाई थियो । विष्णुपादुकालाई धरान उपमहानगरपालिकाले बेसार जोनको रुपमा विकास गर्दै लगेको छ । यहाँको बेसार अन्य ठाउँमा समेत प्रचलित छ । विष्णुपादुको बेसार भन्दै उपभोक्ताको स्वास्थ्यमाथी खेलबार्ड गदै विक्री गर्ने गरेको पाइएपछि कारबाही अगाडि बढाइएको अधिकृत बेदप्रसाद सापकोटाले बताउनुभयो । मिल सञ्चालकले जरिवाना रकम राजश्वमा जम्मा गरेपछि मिसावट गरिएको बेसार नष्ट जनाइएको छ । मिललाई सञ्चालनमा रोक लगाइएको छ । जरिवाना वापतको रकम मिल सञ्चालकले रकम जम्मा गरेपछि मात्र पुनः सञ्चालनको अनुमति दिइने भएको छ । वरामद गरेकोे १३ बोरामा ६२३.५ केजी मिसावट गरिएको बेसार पाइएको थियो भने मिलमै राखिएको ४५
बोरामा करिब २ हजार किलो मिसावट गरिएको पाइएको थियो । मिल सञ्चालक गार्खामान श्रेष्ठले गल्ति स्वीकार्दै माफी माग्नु भएको  थियो । उहाँले आफूले गल्ति गरेको र कानुन अनुसार कारबाही भोग्न तयाररहेको बताउनु भएको थियो ।  अनुगमनका क्रममा खुदी मिसाएर रंग प्रयो्ग गर्नु स्वास्थ्यको लागि  हानीकारक भएको खाद्य निरीक्षक वादल चेम्जोङले समेत बताउनुभयो । उहाँले यसले एकातिर सिधै ठगी भएको र अर्कोतर्फ उपभोक्ताको स्वास्थ्यमाथि खेलबार्ड गरेको स्पष्ट हुने बताउनुभयोे ।

तपाईको प्रतिक्रिया