भोटीलिपी सम्बन्धी दुई दिने चित्रकला प्रदर्शनी

काठमाण्डौ । काठमाण्डौस्थित भारतीय राजदूतावास अन्तर्गतको बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासंघको संयुक्त आयोजनामा नेपाल कला परिषद् ववरमहलमा सम्भोता–भोटी लिपी सम्बन्धी दुई दिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना भएको छ । भाद्र २९ र ३० गते सम्पन्न उक्त चित्रकला प्रदर्शनी तथा कार्यशालाको शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, नेपाल बौद्ध महासंघका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवद्र्धनका अध्यक्ष खेनपो गेशे थुप्तेन जिण्डोलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।


सो अवसरमा भारतको सिक्किम राज्यबाट आउनु भएका क्यालिग्राफर जाम्याङ दोर्जीको पवित्र बौद्ध मन्त्रहरुको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरु प्रदर्शनीमा राखिएका थिए । दोर्जीले सो अवसरमा सहभागीहरुलाई सम्भोता लिपीको शैली र प्रयोगको प्रत्यक्ष प्रदर्शन गरी सो लिपीमा आफ्नो नाम लेख्न सिकाउनु भएको थियो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्ट्रको मुटु र आत्मा भएको उल्लेख गर्दै त्यसको संरक्षणमा जोड दिनुभयो । उहाँले नेपाल र भारतको लागि बौद्ध धर्म एक साझा धागो समेत भएको बताउनुभयो । यसैगरी जाम्याङ दोर्जीले भारत र नेपालको हिमाली क्षेत्रमा भोटी लिपीको अझै पनि प्रयोग भइरहेको उल्लेख गर्दै नेपालमा सताब्दियौदेखि पवित्र र महत्वपूर्ण बौद्ध साहित्य लेखनमा प्रयोग हुदै आएको रञ्जना लिपीको पनि आफ्नो छुट्टै समृद्ध परम्परा रहेको प्रष्ट पार्नुभएको थियो । दुई दिनसम्म सञ्चालित उक्त कार्यक्रममा सांसद, विभिन्न गुम्बाका प्रतिनिधि, बौद्ध संघ संस्था तथा भोट तथा बौद्ध धर्म अध्ययन विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया