धरान । नेवारी समुदायमा नाचिने लाखे नाच प्रवद्र्धनका लागि नेवारीहरुको संस्था नेवाः द्य दवुले धरानको भानुचौकमा जिल्ला व्यापी लाखे नाच प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा नेवाः देय दबु झुम्का रामधुनीले प्रथम स्थान हात पारेको छ । प्रतियोगितामा नेवाः देय् दबू मधुवन, बराहक्षेत्रको टिम दोस्रो भएको छ भने झिगु लाखे पूचः धरान तेस्रो भएको छ । प्रतियोगितामा नेवाः देय दबू बालग्राम इटहरीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

विजेताहरु टोलीहरुलाई नगद तथा प्रमाणपत्र पुरस्कार दिइएको थियो । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने टोलीले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र सान्त्वना ५ हजार पुरस्कार, प्रमाणपत्र प्राप्त गरे । धरानमा २०७५ सालदेखि सार्वजनिक ठाउँमा सामुहिक लाखे नाचको शुरुवात गरेको थियो । लाखे नाचको माध्यमबाट नेवारी सँस्कृतिको प्रवद्र्धन गर्न प्रतियोगिताको आयोजना गरिएको नेवा द्य दवु धरानका सचिव दिपेन्द्र श्रेष्ठ कसजुले जानकारी दिनुभयो । आधुनिक युगमा आफ्नो सँस्कृति विर्सदै गएको अवस्थामा नेवारी समुदायको सँस्कृति जगेर्ना गर्ने अभिप्रायले पनि प्रत्येक बर्ष लाखे नाच प्रतियोगिताको आयोजना गर्दै आएको आयोजकले जनाएको छ । हुदै आएको प्रतियोगिता दुई बर्ष कोरोनाका कारण हुन सकेको थिएन । प्रतियोगितामा सुनसरी जिल्लाका १६ वटा नेवारी संघ संस्थाले भाग लिएका थिए ।
