बीपीका शिक्षक तथा चिकित्सक आन्दोलित

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्यरत चिकित्सक, शिक्षक, कर्मचारी लगातको बढुवा रोक्का गरेको विषयमा क्रमिक रुपमा आन्दोलन शुरु गरेका छन् । बढुवा तथा सेवा स्ुविधाको विषयमा प्रतिष्ठानमा केही समय अगाडि कर्मचारी कल्याण समाज र इन्टर्न चिकित्सकरु आन्दोलित भएका थिए । अहिले प्रतिष्ठानका कार्यरत चिकित्सक तथा शिक्षकहरुको संस्था शिक्षक कल्याण समाजले आजबाट हुने परीक्षालाई अवरुद्ध पार्दै आन्दोलन थालेका छन् ।


लामो समयदेखि कार्यरत चिकित्सक, कर्मचारी तथा शिक्षकहरुको बढुवा रोक्का गरिएको र बढुवा प्रक्रियालाई सुचारु गर्नुपर्ने माग राख्दै शिक्षक कल्याण समाजले परीक्षा शाखामा तालाबन्दी गरेर आन्दोलन शुरु गरेका हुन् । परीक्षा शाखामा लगाएको ताला कारण आजको परीक्षा समेत स्थगित भएको छ । आज प्रतिष्ठानमा विएस्सी एमआइसी प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरुको परीक्षाको तालिका रहेका थियो तर शिक्षक तथा चिकित्सकहरुले तालाबन्दी गरिदिएका कारण परीक्षा हुन सकेन । उनीहरुको एकसुत्रीय माग नै बढुवा प्रक्रिया नै रहेको थियो । मेडिकल डेन्टल वेलफेयरका अध्यक्ष एवम् बालरोग विशेषज्ञ डा. अरुण सिंहले लामो समयदेखि रोकिएको बढुवा प्रक्रियालाई पुन ः सुचारु गर्नुपर्ने माग राख्नुभयो । नेपालको लोकतान्त्रिक संविधान ०७२ सालमा जारी भएपछि वीपी जस्ता स्वायत्त संस्थाका जसमा सरकारको ५० प्रतिशत लगानी रहेको संस्थाहरु लोकसेवाबाट आउनुपर्छ भनेर संविधानमै जारी भएपछि यसको गाइडलाइन भने २०७४ सालमा आएको थियो । लोकसेवाले दिएको गाइडलाइन अनुसार नियमावली  परिवर्तन गरेर संविधानसँग नबाझिने गरी बनाउने कुरा उल्लेख भएको थियो । बीपी एउटा स्वयत्त संस्था भएकोले लोकसेवाको मातहतमा नरही आफ्नो हिसाबले नियमावलीसँग नबाझिने गरी बढुवा प्रक्रिया अगाडि बढाउन सक्ने भएपनि हालसम्म गर्न नसकेकोप्रति सम्पूर्ण चिकित्सक तथा शिक्षकहरु आन्दोलित भएका थिए । उनीहरुले प्रतिष्ठानका पदाधिकारीहरुको लाचारीपनको कारण बढुवा प्रक्रिया  रोखिएको बताउदै आफूहरुको बटम लाइन बढुवा प्रक्रियालाई निरन्तता नदिएसम्म आन्दोलनलाई जारी राख्ने मानसिक विभागका चिकित्सक डा. मधुर बस्नेतले बताउनुभयो । विगत ६ बर्षदेखि बढुवा प्रक्रिया रोकिएको उनीहरुको भनाई छ । आन्दोलनको अगुवाई गरेको शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेहराज अहमत खानले आफूहरुको आन्दोलन पूरा नहुन्जेल निरन्तता दिन र सबैलाई आग्रह गर्नुभयो । विगतमा प्रतिष्ठानले बढुवा प्रक्रियालाई अगाडि बढाए पनि बीचैमा रोकिएको थियो ।  उनीहरुले रोकिएको प्रक्रियालाई सुचारु गर्देै लामो समयदेखि काम गरेका कर्मचारी, शिक्षक, चिकित्सकहरुको बढुवालाई निरन्तता दिन माग राखेका छन् । आपूmहरुले राखेको मागलाई वेवास्ता गरे अझ कडा आन्दोलन गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया