धरान । आइबारदेखि बेपत्ता भएका झापा दमकका डा. प्रज्वल कोइरालाको अवस्था अझैसम्म अज्ञात रहेको छ । डा. कोइरालाले चढ्दै आएको प्रदेश एक १–०२–००२ च ४१६६ नम्बरको हुन्डाई कम्पनीको कार चतरास्थित सप्तकोशी नदीको पुल पारि बेलका नगरपालिका वडा नं ८ मा पेला परे पनि डा. कोइरालाको अवस्था अझसम्म ज्ञात हुन सकेको छैन । इलाका प्रहरी कार्यालय रामपुरका बरिष्ठ प्रहरी सहायक निरीक्षकको कमाण्डमा खोजी कार्य भइरहेको छ ।

कोशी पुलको बेलका नगरपालिका सडक खण्डमा उनको कार, मोवाइल, जुत्ता र केही कागजपत्र भेटिएको प्रहरीले जनाएको छ । अन्य सामान गाडीभन्दा बाहिरै भेटिएको, गाडीको ढोका लक रहेको प्रहरीले जनाएको छ । रातको २ बजेदेखि कार सडकमा देखिएपछि स्थानीयहरुले विहान ४ बजे प्रहरीलाई खबर गरेका थिए । दमक नगरपालिका वडा नं. १ निवासी कोइराला जनरल सर्जन हुन् । तीन बर्ष अगाडिसम्म दमकको लाइफ लाइन हस्पिटलमा काम गरेका कोइराला एक बर्ष अगाडि मात्र उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा काम गर्दै आएका थिए । डा. कोइरालाको खोजी यतिबेला सशस्त्र प्रहरीको गोताखोर टोलीले सप्तकोशी नदीमा गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी एवम् प्रहरी प्रवक्ता हरिनन्दन चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार सप्तकोशीमा पानीको वहाव उच्च रहेकोले नदीमा खोजी कार्य गर्न अप्ठेरो परेको छ । रामपुरका बरिष्ठ प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरीको एउटा टोलीले समेत डा. कोइरालाको खोजी कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो । खोजी कार्यमा स्थानीयले समेत सहयोग गरिरहेको समेत डिएसपी चौधरीले बताउनुभयो ।
