वडाद्वारा संक्रमितको उपचार

धरान । धरानमा डेंगु संक्रमणको अवस्था विकराल हुदै गएको छ । स्थानीय सरकारले यसको नियन्त्रणका लागि लार्भा नष्ट गर्ने, धुवा फाल्ने बाहेक अर्काे काम गर्न सकेको छैन । तर धरान उपमहानगरपालिका वडा नं. १४ ले भने सचेतानात्मक कार्यक्रमसँगै आफ्ना वडाका विरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिदिएको छ । धरानमा डेंगु संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । अहिले धरानमा २ हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने ७ जनाले डेंगुकै कारण ज्यान गुमाउनु परेको छ । यस्तो अवस्थामा स्थानीय सरकारले नियन्त्रणको प्रयास भन्दा आफ्ना नागरिकलाई सहज रुपमा उपचार गर्ने कुरामा भने ध्यान दिएको छैन । तर धरान १४ वडा समितिले भने आफ्नो वडामा भएका संक्रमितलाई धरान १४ को आधारभूत स्वास्थ्य केन्द्रले विजयपुर चौकमा रहेको विजयपुर मेडिकल हलसँग समन्वय गरेर निशुल्क उपचार थालेको छ ।


१४ नं. वडाले वडाबासीको घर घरमा मात्र हैन विद्यालय केन्द्रित लार्भा नष्ट गर्ने र सचेतनात्मक कार्यक्रमलाई अगाडि बढाएको छ । धरान १४ दन्तकाली वरिपरि रहेको लाभा नष्ट गर्ने र विद्यार्थीहरुलाई सचेतनात्मक कार्यक्रम गरेको हो । डेंगु संक्रमणबाट बच्ने उपायका विषयमा जानकारी लिएका विद्यार्थीहरुले आफू पनि डंगुबाट बच्ने उपायमा सचेत रहने र घर घरमा र टोलटोलमा गएर सबैलाई भन्ने बताएका थिए । विद्यार्थीहरुलाई डेंगु संक्रमणबाट बच्ने उपायका विषयमा जानकारी दिँदा प्रभावकारी हुने भएकोले विद्यालयमा गएर सचेतनात्मक कार्यक्रम गरिएको आधारभूत स्वास्थ्य केन्द्रकी प्रमुख युनिसा खत्रीले बताउनुभयो । उहाँले केन्द्रले वडामा भएका संक्रमित विरामीहरुलाई विजयपुर मेडिकल हलसँग समन्वय गरेर निःशुल्क उपचारको व्यवस्था गरिएको बताउनुभयो । अहिले पनि १५ जनाले उपचार गराइरहेको उहाँको भनाई छ ।  डेंगु सक्रमित विरामलाई सहज होस् भन्ने उद्देश्यले निःशुल्क उपचारको व्यवस्था मिलाइएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । उहाँले डेंगु संक्रमित भएको कुनै प्रमाण वडाबासीमा पाइएमा उहाँहरुलाई निःशुल्क स्वास्थ्य उपचार गरिदिन विजयपुर मेडिकल हलसँग समन्वय गरेर उपचारको व्यवस्था गरिएको बताउनुभयो ।
अहिले धरानमा प्रत्येक वडामा एक घरमा एक वा त्यो भन्दा बढी डेंगुका संक्रमित विरामी भेटिएका छन् । हेलच्क्र्याई गरेको खण्डमा यसले ज्यान पनि लिने भएकाले धरान १४ वडा समितिले थालेको यो अभियान अन्य वडामा समेत गर्न सके डेगुका विरामीले सहजता महसुस गर्थे भने संक्रमण न्यूनिकरणमा पनि सहजता हुने थियो ।

तपाईको प्रतिक्रिया