सडक निर्माणमा ढिलाइ गरेको भन्दै अवरुद्ध

धनकुटा । निर्माण कम्पनीले सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयले अवरुद्ध गरेका छन् । कोशी राजमार्गको लभिङ हिले–माने भञ्ज्याङ सडक ठेकेदार कम्पनीले समयमै निर्माण नगर्दा बर्षाद्को समयमा हिलाम्मे भएपछि स्थानीयहरुल अवरुद्ध गरेका हुन् । सो सडकको निर्माणका जिम्मा शर्मा शिवशक्ति जेभीले लिएको छ । तर निर्माण कम्पनीले निर्माणमा ढिलाई गर्दा वर्षाको समयमा हिलाम्मे भएर सडक आवातजावतमा समस्या आएपछि सडक अवरुद्ध पारेको अरुण उपत्यका सामुदायिक विकास क्लबका अध्यक्ष जिल्लामान राईले बताउनुभयो । उहाँले भन्नुभयो–‘ठेकेदार कम्पनीले समयमै सडक निर्माण नगर्दा समस्या भएको छ, यस विषयमा पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि हामीले सडक अवरुद्ध पारेका हौं ।’


उहाँले कच्ची सडक त्यसमाथि बर्षाद्को समयमा पानी पर्दा सडकमा पानी जमेर हिलाम्मे हुदा पैदल हिड्न समेत सर्वसाधारणले सास्ती भोग्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो–‘सडकको अवस्थाको बारेमा हामीले सडक विभाग र सम्बन्धित निकायलाई पटक पटक ज्ञापनपत्र बुझायौ तर उनीहरुले बेवास्ता गरे, बाध्य भएर हामीले सडक अवरुद्ध पारेका हौं । ठेक्का लागेको लामो समय बितिसक्दा पनि राष्ट्रिय गौरवको किमाथांका–विराटनगर कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडक खण्डको कालोपत्र गर्ने कामले गति लिन सकेको छैन । दुई वर्षमा करिब २५ प्रतिशत मात्रै काम भएको छ । सम्झौतानुसार अब ३९ किलोमिटर सडक कालोपत्र ९ महिनामा सम्पन्न गरिसक्नु पर्छ ।

तपाईको प्रतिक्रिया