देशका कार्यकारी प्रमुख अर्थात राज्य संयन्त्रका सम्पूर्ण अधिकार प्राप्त प्रधानमन्त्रीबाटै परिस्थिति सहज नभएको, आन्दोलनबाट प्राप्त उपलब्धी उल्टिने खतरा देखियो भन्दै अभिव्यक्ति दिनुले के कुराको संकेत गर्न खोजिएको हो, चिन्ताको विषय भएको छ । हुन त कथित जनयुद्धको नाममा निःहत्या नागरिकको हत्या, लुटपाट, भौतिक संरचनाहरु ध्वस्त गरेर आएको वर्तमान ३२ सिटे दलका अध्यक्ष प्रचण्डले सार्वजनिक स्थानमा त्यस्ता अभिव्यक्ति दिनु अर्थपूर्ण नै हुनसक्छ । सत्ताको आश्रय विना माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वतन्त्र ढंगले विचरण गर्न समेत सक्ने हैसियतमा छैनन् ।
आज मुलुकका तमाम विकृत र विसंगतिको जड नै प्रचण्ड र माओवादी केन्द्रमा गएर ठोकिन्छ । दशबर्षे जनयुद्ध पश्चात नेपाली नागरिकले के पाए ? अवस्था दिनप्रतिदिन असहज बन्दै गएको छ । राज्यका तर्फबाट नै नागरिकले असुरक्षा र महंगीको चरम मार खेप्नु परेको छ । राज्यका तर्फबाट न नागरिकले दिनप्रतिदिन भोग्नु परेको पीडाको सुनुवाई भएको भएको छ । राज्ले आफ्ना देशका नागरिकका लागि बाँच्न सक्ने आधार तय गर्छन् तर यहाँ त्यो कुरा दुरदराजको कुरा भएको छ ।
स्थिति सहज छैन । देशका कार्यकारी अधिकार सम्पन्न प्रधानमन्त्रीले यस्ता कुरा फलाक्दै हिँड्ने हो कि सहज बनाउने तर्फ पहल गर्ने ? आन्दोलनबाट नेपाली जनताले के उपलब्धी हासिल गरेका छन् ? जहिल्यै भाषणमा आन्दोलनबाट प्राप्त उपलब्धी भनेर फलाकिएको छ । नागरिकहरुले कुनै उपलब्धी हासिल गरेका छैनन । विगतमा अर्थात कथित गणतन्त्र जुन छलकपट, षड्यन्त्र, विदेशीको भारी बोकेर, उनीहरुबाटै पालिएर, जनताको चाहना विपरीत राज्य संयन्त्रको चरम दुरुपयोग गरेर प्राप्त उपलब्धी भनेकै केही नेता, केही व्यापारी, केही दलालहरुका लागि मात्र हो । वास्तवमै आन्दोलनबाट उपलब्धी हासिल भएको भए दैनिक हजारौ युवाहरु परिवार र आफू वाँच्नका लागि खाडी मुलुक प्रस्थान गर्ने थिएनन् । कतिसम्म विडम्बना छ भने साहुँ महाजनसँग चर्को व्याज दरमा ऋण लिएर देशका राज्य संयन्त्रका दलालहरुलाई घुस खुवाएर खाडीका तातो घाममा श्रम बेच्न पुग्छन् । के आन्दोलनको उपलब्धी यही हो ? ती मुलुकहरुमा अनेकौ कारणले युवाहरुको मृत्यु हुन्छ राज्यलाई वाल मतलब हुँदैन तर त्यही युवाको लास एयरपोर्टमा बाकसमा आइपुग्दा राज्य सञ्चालकहरु गिद्धले सिनो लुछेझै परिवारबाट रकम असुल्छन् । के यही हो आन्दोलनको उपलब्धी ?
आज कसैलाई अर्थात नागरिकलाई नांगो बनाएर सिंहदरबार, शितल निवास, वालुवाटारमा ऐøयासी गरिहेकाहरुलाई अपाच्य लाग्न सक्छ वर्तमान अवस्था र वर्तमान राजनैतिक दलहरुप्रति नागरिक आक्रोसित छन् । कथित उपलब्धी कहिले उल्टिएला भन्ने पर्खाइमा बसेका छन् । जुन दिन एउटा गतिलो, जोशिलो युवाले आम नागरिकको असन्तुष्टिको आवाजलाई बोकेर हिड्छ त्यसबेला कथित आन्दोलनबाट प्राप्त उपलब्धी स्वत ः अन्त्य हुनेछ ।
