धरान । धरान ८ तीनकुनेमा
रहेको शनि मन्दिर । शनिवारका दिन यो मन्दिरमा अत्याधिक भीड हुने गर्छ । शनिवारका दिन यो मन्दिरमा पूजाआजा गर्दा दशाग्रह कटिन्छ भन्ने जनविश्वास रही आएको छ । धरानको विजयपुरमा रहेका अन्य मठ मन्दिरजस्तै तीनकुनेमा रहेको शनि मन्दिरमा पनि अत्याधिक भीड हुने गरेको छ । यहाँ आउने भक्तजनहरु प्राय नौग्रह शान्तिका लागि विशेष गरी शनिवार पारेर यहाँ भक्तजनहरु आउने गर्छन् । यहाँ आएर पूजाआजासँगै ग्रहशान्ति गर्दा जीवनमा कुनै पनि प्रकारको रोग व्याधी तथा समस्या नहुने विश्वास भएर भक्तजनहरु यो मन्दिरमा आउने गरेको बताउँछन् । उनीहरुले सदियौदेखि मानिसमा भएको आध्यमिक विश्वास अहिले पनि कायमै रहेको बताएका छन् । शनिग्रह हटाउनका लागि पनि यहाँ सर्वसाधारण आउने गरेका छन् ।

विशेष गरेर ग्रह शान्तिका लागि शनिवार बढी भक्तजनको विशेष भीड हुने गरे पनि कार्तिक र चैत्र महिनामा अन्य शनिवारबाहेकका बारमा पनि भक्तजनहरु भीड हुने गरेको शनि मन्दिर व्यवस्थापन समितिका सचिव केशव रिजाल बताउनुहुन्छ । यहाँ आउने अधिकांशले ग्रहशान्ति गराउने गरेको सचिव रिजाल बताउनुहुन्छ । यो मन्दिर धरानको प्रवेशद्वारा छेउमै रहेको छ । छेउमै विश्वकर्मा मन्दिर भएकोले शनि मन्दिरमा ग्रहशान्ति गर्न आउनेले विश्वकर्मा बाबाको समेत दर्शन गरेर जाने गरेका छन् । चैत्र र कार्तिक महिना चार शनिवार यहाँ थामिनसक्नु भीड हुने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार निरौला बताउनुहुन्छ । पछिल्लो समय सर्वसाधारणमा धार्मिक आस्था बढ्दै गइरहेको पाइएको छ । धरान १४ विजयपुरमा रहेका पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पञ्चकन्या लगायतका मठ मन्दिरमा मात्र हैन धरान ८ मा रहेको शनि मन्दिरमा पनि शनिग्रह पन्छाउन अत्याधिक भीड हुने गरेको छ । यो मन्दिरमा ग्रहदशा हटाउन धरानबाटमात्र हैन अन्य स्थानबाट समेत सर्वसाधारण आउने गरेका छन् । शनिवारमात्र यहाँ ५ हजार भन्दा बढी भक्तजन आउने व्यवस्थापन समितिले जनाएको छ ।
