धरान । ड्रागन फल स्वाथ्यको लागिलाभदायी मानिन्छ । यो सिउडी प्रजातिमा पर्दछ । विदेशबाट आउने गरेको ड्रागन पछिल्लो समय नेपालमै उत्पादन गर्न थालिएको छ । शुरुमा यसको खेति दक्षिण अमेरिकाको मेक्सिकोमा भएको मानिन्छ । अहिले यो फल दक्षिण एसियाका देशहरु भियतनाम, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशहरुबाट नेपाल भित्रिने गरेको छ । तर पछिल्लो समय नेपालमै कृषकहरुले ड्रागनको खेति गर्न थालेपछि नेपालमा उत्पादन भएको यो फलको माग अत्याधिक रहेको छ । विदेशमा उत्पादन भएका ड्रागनभन्दा नेपालमा उत्पादन भएको ड्रागन गुणस्तरीय, स्वादिलो भएकै कारण कृषकहरु यसतर्फ आकर्षित हुदै गएका छन् ।

धरान ५ ठिंगाबारीकादुई दाजुभाई कृषिफर्म नै खोलेर ड्रागन खेतितर्फ लागेका छन् । नवऊर्जा बहुद्देश्यीय कृषि फर्म सञ्चालन गर्दै आएका उनीहरुले पशुपालनसँगै ड्रागन खेति समेत शुरु गरेका छन् । सञ्चालक मध्येका सूर्य लिम्बुले अरु फल सिजनमा एक लट फल्ने भएपनि यो फल ९ देखि १० लटसम्म उत्पादन हुने बताउनुहुन्छ । बजारमा प्रतिकेजी ६ सय रुपैयासम्म बिक्री हुने बताउँदै आउनु भएका लिम्बुले यसको बजार राम्रो भएको बताउनुहुन्छ । यो फल चैत्र अन्तिमदेखि कोपिला लाग्न शुरु हुन्छ । वैसाखदेखि फूल फुल्ने प्रक्रिया शुरु हुन्छ । कार्तिकसम्म फुल फुल्ने समय भए पनि फुल फुलिसकेपछि ४५ दिनपछि यसको फल लाग्ने अर्का किसान देबी लिम्बु बताउनुहुन्छ । फुल्ने, फल्ने प्रक्रिया ६ महिनासम्म निरन्तर हुने भएकोले यसबाट धेरै फाइदा लिन सकिने लिम्बु बताउनुहुन्छ ।
व्यापारीहरुले पनि स्थानीयस्तरमा उत्पादन भएका फलफूल विदेशबाट आयात गरेको फलफूलभन्दा गुणस्तरीय हुने दाबी गर्छन् । व्यापारी मानबहादुर भुजेलले ड्रागन अहिले नेपालमा भियतनामबाट भित्रिने भए पनि त्यहाँको उत्पादनभन्दा नेपालको उत्पादन गुणस्तरीय भएको दाबी गर्नुहुन्छ । उहाँले राज्यले यस्ता फलहरु उत्पादनमा कृषकलाई प्रोत्साहन गर्न सके खाँडी मुलुकमा गएर नेपालीले बेल्चाहान्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । ग्राहकहरुले समेत बाहिरबाट आएको ड्रागन फलभन्दा नेपालमै उत्पादन भएको ड्रागनको स्वाद आकाश पातलको फरक हुने बताउछन् । स्थानीय महेन्द्र अग्रवालले विदेशबाट आएका ड्रागन फलभन्दा नेपालको उत्पादन स्वादिलो भएको बताउनुभयो । विगतमा भारतबाट मगाउने गर्नुभएका उहाँले अहिले नेपालकै उत्पादन खरिद गर्ने गरेको बताउनुभयो । नेपालमा यस खेतिको प्रोत्साहनका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । यसको खेति नेपालमा २०५७ सालदेखि भएको पाइन्छ । सो बेला पशु चिकित्सक जगन्नाथ राईले आफ्नो इन्जिनियर साथीमार्फत भियतनामबाट नेपाल भित्र्याइएको पाइन्छ । ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ र यसको खेती दक्षिण मोहडा भएको प्रसस्त घामलाग्ने र समुर्दी सतह देखी १५०० मिटर सम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ । नेपालमा पनि यसको सम्भावना धेरै रहेको विज्ञहरुले बताएका छन् । यो खेतिबाट धेरै लाभ हुने भएकोले अहिले विस्तार हुदै जाने क्रम बढ्दै गएको छ । अहिले नेपालमा यसको खेति काभ्रे सुनसरी, रुपन्देही,गोरखा,झापा, धनकुटा, दाङ लगायत धेरै जिल्लाहरुमा गरिदै आएको छ ।
