धरान । धरान उपमहानगरपालिका १६ नं. वडा समितिले आफ्ना वडाबासीलाई लक्षित गरी आँखा शिविरको आयोजना गरेको छ । विगतमा वडाबासीलाई लक्षित गरी विभिन्न प्रकारका स्वास्थ्य शिविर राख्दै आएको वडाले यस पटक भने आँखामा समस्या भएकाहरुलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरेको हो । धरान उपमहानगरपालिका वडा नं. १६ ले वडाबासीलाई लक्षित गरी वडा कार्यालय परिषरमै आँखा शिविरको आयोजना गरेको हो । इटहरी आँखा अस्पतालसँग समन्वय गरेर आयोजना गरेको शविरमा २ सय जना पुरुष र १ सय २७ जना महिला गरी ३ सय २७ जना सर्वसाधारणले लाभ लिएका थिए । शिविरमा विभिन्न प्रकारका समस्या देखिएको इटहरी आँखा अस्पतालका चिकित्सक डा. प्रदिपकुमार सिंहले जानकारी दिनुभयो ।

वडाबासीको आँखाको समस्यालाई मध्यनजर गरी उनीहरुलाई सहज रुपमा उपचार गराउन इटहरी आँखा अस्पतालको सहयोगमा १६ नं. वडा समितिले आँखा शिविर राखेको नेत्र ज्योति संघ कोशी प्रदेश सचिव जयप्रसाद निरौलाले बताउनुभयो । उहाँले सर्वसुलभ ढंगबाट सर्वसाधारणलाई सेवा प्रदान गरिएको बताउनुभयो । नेत्र ज्योति संघले समन्वयकारी भूमिका निर्वाह गर्दै धरान लगायत इटहरी तथा कोशी प्रदेशको विभिन्न स्थानमा शिविरको आयोजना गर्दै आएको निरौलाले बताउनुभयो । वडा कार्यालयले आयोजना गरेको शिविरमा विज्ञ चिकित्सकहरुबाट आँखा चेकजाच गराउन पाउँदा सर्वसाधारण समेत लाभान्वित भएको बताएका थिए । आयोजक संस्था १६ नं. वडा समितिका अध्यक्ष मुरारी भट्टराईले सर्वसाधारणको चेकजाँचमात्र हैन, आँखाको शल्याक्रिया गर्नुपर्ने विरामीलाई निःशुल्क शल्यक्रिया, चश्माको आवश्यकता पर्ने चश्मा समेत उपलब्ध गराइने े बताउनुभयो ।
