चीनसँग सीमा जोडिएको प्रदेश नं. १ का दुई नाकासम्मको सडक ट्रयाक खोल्ने काम तिब्र रुपमा किमाथांका र टिप्तला भन्ज्याङबाट भारतीय नाका जोगबनीसम्मको दूरी सबैभन्दा कम

धरान । त्रिदेशीय सडक सञ्जालको रुपमा रहेको सर्वाधिक चासो र सामारिक दृष्टिले महत्वपूर्ण रहेको प्रदेश नं. १ का दुई उत्तरी सीमानाका संखुवासभाको किमाथांका र ताप्लेजुङ्ग जिल्लाको ओलाङचुङगोला टिप्तला भन्ज्याङ सडकको ट्रयाक खोल्ने काम तिब्र रुपमा अगाडि बढेको छ । यी दुवै नाकाको मिलन विन्दु धनकुटाको मुलघाट–लावरबोटेबाट भारतको सीमानाका जोगबनी सम्मको सबैभन्दा कम दूरीको सडक हुने भएको छ । जोगबनीबाट धरान, धनकुटा, हिले, संखुवासभाको खाँदबारी, अरुण दोभान हुँदै किमाथांकासम्मको दूरी ३१७ किमी रहेको छ भने ताप्लेजुङ्गको ओलाङचुङगोला टिप्तला भन्ज्याङबाट जोगिम, दोबाटे, सुकेपानी, फेदिखोला, कस्तुरी, छाँगा, थाक्पा, लावाजिन, ताक्मेवा, थिवा, तावा, सिस्ने, फुरुम्बु, हाङदेवा, हिरेखा, तमोर दोभान, मौवा, लिम्बुनीघाट, सुभाङ खोला हुँदै तमोर लावरबोटबाट धरान भएर जोगवनीको नाकासम्मको दुरी ३१२ किमी रहेको छ ।


यतिबेला धनकुटाको मुलघाट लावरबोटेबाट पाँचथरको गणेशचौक सम्मको सडकको कालोपत्रेको काम शुरु भएको छ । लावरबोटेबाट सुभाङ्ग खोला हुँदै ताप्लेजुङको टिप्तला भन्ज्याङसम्मको सडक ट्रयाक फक्तालुङ गाउँपालिकाको सुकेपानीमा अड्किएको छ । सुभाङ्गखोलाबाट पाँचथरको गणेशचौकसम्मको १९ किमी सडक समेत मध्यपहाडी लोकमार्गमा पर्ने भएकोले एकै पटक कालोपत्रे हुन लागेको तमोर करिडोर आयोजना प्रमुख कुवेर नेपालीले जानकारी दिनुभयो । गणेशचौकबाट मध्यपहाडी लोकमार्गको चिवा भन्ज्याङ्ग उद्गम विन्दुसम्मको ९१ किमी सडकको केही स्थानमा ट्रयाक खोल्ने काम भइरहेको मध्यपहाडी लोकमार्ग आयोजना पाँचथरले जनाएको छ । मुलघाट–लावरबोटे तमोर करिडोर हुँदै पाँचथरको गणेशचौकसम्मको कालोपत्रे आगामी दुई बर्षभित्रमा सक्ने सम्झौता भएको आयोजनाले जनाएको छ । मुलघाट लावरबोटे हाङ्डुवासम्मको ६६ किमी र हाङडुवाबाट गणेशचौकसम्मको ५४ किमी सडक कालोपत्रेका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । पहिलो प्याकेजको ठेक्का सम्झौता २ अर्ब ४० करोडमा रौतहा क्षमादेवी र दोस्रो प्याकेजको सम्झौता १ अर्ब २४ करोडमा एपेक्स निर्माण सेवासँग भएको छ । सु्भाङखोलाभन्दा अगाडि सडक चौडा पार्ने, नालीको काम गर्ने काम भइरहे पनि सुकेपानीमा १.५ किमी सडकको ट्रयाक हालसम्म खुल्न नसक्दा कामले गति लिन नसकेको फक्तालुङ गाउँपालिका वडा नं. २ का अध्यक्ष छेतेन शेर्पाले बताउनुभयो । यता चीनसँग सीमा जोडिएको खाँदबारी किमाथांका सडकको ट्रयाक आगामी २०८० फागुनसम्ममा पूरा हुने भएको छ । संखुवासभा जोगवनी सम्मको १५५ किमी सडकको सम्पूर्ण कालेपत्रे काम केही बर्ष अगाडि नै सम्पन्न भइसकेको छ । खाँदबारीबाट नुमसम्मको ३९ किमी र नुमबाट फाक्सिन्दा दोभानसम्मको ६ किमी सडकको कालोपत्रेको काम सम्पन्न हुन लागेको उत्तरदक्षिण कोशी सडक आयोजना खाँदबारीले जनाएको छ । संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका स्थित च्याम्ताङ्ग–चुम्सुर–घोङगोप्पा सडक खण्ड अत्यन्तै कडा चट्टाने भीर भएका कारण उक्त सडकको ट्रयाक खोल्ने कामले यतिबेला तिब्रता पाएको छ । उक्त सडकको ट्रयाक खोल्नका लागि नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर नेपाली सेनालाई दिइएको हो । उत्तर दक्षिण कोशी सडक आयोजना खाँदबारीका अनुसार आयोजनाले सर्भे गरेको १४ किमी सडकको ट्रयाक खोल्नुपर्ने देखिए तापनि पुन ः नेपाली सेनाले सर्भे गरेर १०.५ किमीमा छोट्याएको थियो । हाल नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर १०.५ किमी सडकको ट्रयाकमध्ये ५.५ किमी खोलिसकेको छ । अब उक्त सडकको ट्रयाक खोल्न ५ किमी मात्र खोल्न बाँकी रहेको छ । नेपाली सेनाले आगामी २०८० साल फागुनभित्रमा ट्रयाक खोलिसक्ने लक्ष्य लिएको छ । ट्रयाक खोल्ने कार्यमा सक्रिय नेपाली सेनाका अनुसार पहाडी जिल्ला त्यसमाथि अत्यन्तै विकट भएकोले ट्रयाक खोल्न कठिनाई त छँदैछ, त्यसमाथि हाल हिमपात भइरेको छ भने बर्षाको समयमा पहिरो गएर काम गर्न बाधा भएको थियो । मौसमले साथ दिएमा लक्ष्य अनुसार नै सडकको ट्रयाक खुल्ने नेपाली सेनाले जनाएको छ ।
हाल सडकको ट्रयाक खुल्दै गरेको च्याम्ताङ–चुम्सुर–घोङगोप्पा सडक ६ देखि ९ मिटर चौडाको हुने सैनिक स्रोतले जनाएको छ । विस्फोट पश्चात तोकिएको मापदण्ड अनुरुप सडक चौडा पार्ने काम समेत एक साथ अगाडि बढेको छ । ठाउँ हेरेर घटीमा ६ मिटर र बढीमा ९ मिटर फराकिलो पार्ने काममा नेपाली सेनाका १५० र गैर सैनिक कामदार ५० जनाले काम गरिरहेका छन् ।
उक्त सडकको ट्रयाक खोल्न यस भन्दा अगाडि ठेकेदार कम्पनी कान्छाराम जेभीलाई दिइएको थियो । तर विस्फोटक पदार्थको प्रयोग गरी सडकको ट्रयाक खोल्नुपर्ने भएकोले ठेकेदार कम्पनीलाई विस्फोटको अधिकार थिएन । विस्फोटक पदार्थको भण्डारण गर्ने, विस्फोट गर्ने अधिकार नेपाली सेनासँग मात्र रहेको छ ।

तपाईको प्रतिक्रिया