राजनीतिका नगर बधु रे
अस्तिका दिन माल्दाईले टन्न रक्सी धोकेर फलाक्दै थिए प्रचण्डाउ नेपाली राजनीतिक नगर बधु हुने रे । तिनले अझ जोडजोडले फलाके कहिले काँग्रेसतिर पिँध फर्काएको छ कहिले एमालेतिर फर्काएको छ । हा…..हा…..हा । फेरि माल्दाई आफै खित्का छोडेर पनि हाँस्दै थिए । कतिपयले माल्दाईका कुरालाई जँड्याहाँ बर्बराहट भने अनि कतिपयले जाँड खाए पनि कुराचाहिँ ठीक गरेको भन्दै थिए । हुन त माल्दाई जस्ता जाँडका पुङ्गले प्रचण्डाउलाई सितिमिति बुझ्न सक्ने कुरै भएन । प्रचण्डाउ भन्या प्रचण्डाउ नै हुन् । उनको महिमा न थाँग्रेसका श्यालबहादुरले बुझ्न सकेका छन् न झालेमालेका खप्रओले । अठासी सिटे, अठहत्तर सिटे खप्रओले बुझ्नु भन्या पहाडमा सिगौरी खेल्नु जस्तै हो । दुवै साँढेलाई बत्तीस सिटे लिखुरेले उधिनेको छ उधिनेको छ । सर्वोच्च पदमा पुग्न धेरै सिट ल्याउनुपर्छ, वहुमत ल्याउनुपर्छ भन्ने मान्येतालाई प्रचण्डाउले गलत सावित गरिद्या छन् । नत्र बत्तीस सिटेले यमानका दुई वटा साढेलाई उठ्नै नदिने त बनाउथेनन् ।

बाजेको दिन फिर्ला जस्तो छ
बिना पिँधका लोहोटा भनेर नेपाली राजनीतिमा प्रसिद्धि कमाएका रामचन्द्रे बाजेको दिन फिर्ला जस्तो छ । लगे रहो मुन्ना भाई भनेजस्तै बाजे पदका पछि एकोहोरो दोडिएका दौडियै थिए । प्रचण्डाउ पेरि काँग्रेस तिरै फिर्ता आएसी बाजे शितल निवास छिर्लान जस्तो छ । हुन त लोभीपापीहरुको झुण्डको के विश्वास गर्नु ? रात रहे अग्राठ पलाए भन्ने त उखानै छ । यतिबेला बाजेको धड्कन बढेको छ । यो धड्कन २५ गतेसम्म जोड जोडले धड्किरहन्छ । हुन त विचराले हैरानी नि साहै« पाएका छन् सत्र पटक सम्म पर्धानमन्तरीको लागि लड्यालड्यै गरे । १७ पटक नै पाहा पछारिए । १४ औं महाधिवेशनमा आफ्ना समूहको चाकमा लात हानेर स्यालबहादुरको पछिल्तिर त्यसै लखरक लखरक हिँड्या हैनन् बाजे । धन्न उमेद्वारसम्म बन्न पा’ छन् । आर्गे मर्जी गलगाँडाहरुको ।
राप्रपा चल्देछ
राप्रपाका चारै जना मन्त्रीहरुले सरकार छाड्देछन् । राम्रो गरे । जानै हुँदैन थियो, गैहाले । अब फर्केछन् । गलगाँडा तन्त्रमा राप्रपा सामेल हुने पनि होइन । राजसस्था, हिन्दु धर्मका लागि दगर्दै आएको राप्रपाले अब राष्ट्रपतिको निर्वाचनमा भाग नलिने भएसी उसको साख गिर्न पाएन । अरु भतुवाको बातै के गर्ने ? मिलाई जुलाई खोने त हुन । खानकै लागि राजनीति गरेकाहरुले फेरि मुलुक लुट्ने लाइसेन्स नविकरण गर्देछन् । खै कसले जोगाइदेला नेपालीहरुको खप्पर ?
पालैपालो वाल्वाटार छिर्ने
मुंग्रे पार्टी लाखे माओवादी केन्द्र, थाँग्रेस लाखे नेप्लिज काँग्रेस, राष्ट्रिय हैसियत नभएको फ्रि भिसा फ्रि टिकेटवाला पार्टीका जोकरहरुले बडो गज्ज्बको सहमति गरेछन् । अरु लुते लाँग्राहरुका साँढेको झुण्डिएको राजकानी झर्ला र खाउँला भनेर बेतोड दौडिएका छन् । त्यसरी बेतोड दौडिनेहरुमा सिके राउतले पाहा पछारेझै पछारेका उपिन्दर जादव, एक सिटे विविचत्रबहादुर केसी, सत्ताको स्वाद चाख्न आतुर सिके राउत, पिण्ड खाने बेला भएका लोसपाका महन्त ठाकुरहरु छन् । तीन जना स्वाँठले गरेको राष्ट्रिय सहमतिमा मुंग्रे पार्टीका धुन्धुकारीलाई दुई बर्ष बाल्वाटारमा पल्टिन दिने, त्यसपछिका दुई बर्ष स्यालबहादुरलाई बाजा बजाएर वाल्वाटार छिराउने बाँकी रहको एक बर्ष पुतली जुँगे माकुनेलाई हुल्दिने सहमति भएछ । देश जनता भाँडमा जाओस पालैपालो वाल्वाटार छि¥यौ । यहाँभन्दा गज्जबको राष्ट्रिय सहमति अर्कौ कुनै सक्दैन । वात करता है ।
प्रदेश सरकारहरु लिरीबिरी
प्रदेश सरकारका मुखमन्तरीहरु यतिबेला त्राहिमाम त्राहिमाम भएका छन् । लिरीबिरी हल्लिएका छन् । केन्द्रमा गएको गएको ९ रेक्टर स्केलको भुकम्पले ४३ दिनमै विचराहरुले भोली तुम्बा बोकेर बाटो लाग्नुपर्ने अवस्था देखिएको छ । एउटासँग जनै सुपाडी गरेर अर्कोसँग विवाह गर्ने अनि हनिमुन मनाइसकेपछि जनै सुपाडी गर्नेसँगै फर्किएर आउने वर्तमानको वाल्वाटारे बधुले विचरा मुख्यमन्त्रीहरुको निद
हराम गर्दिएका छन् । ब्वाइफ्रेन्ड पनि कति फेरेर हिड्न सक्या होला ? कहिल्यै स्थिर भएर घरजम गरि खान नसक्ने । विचरा मुख्यमन्त्रीहरुको विजोग हुने भयो । प्रदेश नं. १ का, गण्डकीका
र लुम्बिनीका मुख्य मन्त्रीले हनिमुनसम्म मनाउन नपाउने भए । यस्तै छ क्यार्नु ?
दुई महिने सम्बन्ध
खप्रओ र मुँग्रे पार्टीका अध्येक्षे प्रचण्डाउको सम्बन्ध दुई महिना मात्र टिक्यो । पाँच बर्षसम्म सम्बन्ध टिकाउने कसम बालकोट बार्दलीमा दुवैले ग¥या थिए । स्यालबहादुरले वाल्वाटार प्रवेश निषेध गरेसी धाइफल तोडेर प्रचण्डाउ बालकोटे मुखियाकोमा पुगेका थिए । अघि अघि भएका तीता कुरा बिर्सेर सम्बन्ध गाँसेका थिए । तर बुढानिलकण्ठे स्यालबहादुरले सरकारलाई विश्वासको मत दिँदादेखि नै आँखा झिम्क्याएर मोहनी लगाउन थालिसकेका थिए । स्यालबहादुरले आँखा झिम्क्याएर लाएको मोहनीले गज्जबको काम गरेछ । अस्तिका दिन त बाल्कोटे खप्रओले सम्बन्ध तोडेर मुंग्रे पार्टीका अध्येक्षेले सबलाई देखाइदिए ।
राजीनामा माग्नेलाई सु“घाइदिनु
काठमाण्डौका मेयर बालेन साहको चुस्न नपाएर हुइँया भएर सुक्न लागेको पार्टीका झोलेहरुले राजीनामा मागेको सुइको पाएसी’ धरानका मेयर हर्क साम्पाङ्गको कन्सारो तातेर आएछ । तात्ने भयो नि आजसम्म कसैको हुती नदेखाएको काम बालेनले भकाभक गरेर वाहीवाही कमाउन थालेसी’ झोलेहरु आफ्ना मालिकको निर्देशनमा सल्बलाउनन थाल्या छन् । श्रम मेयरको पहिचान बनाएका हर्क साम्पाङले त सामािजक सञ्जालमै कडै ठोक्देछन् । भात खान नपाएकालाई खुवाइ दिनुहोस् तर राजीनामा माग्नेहरुलाई सुँघाइदिनुस् भनेर सल्लाह दे’छन् । धरानमा नि हर्कलाई कम्ता अप्ठेरो छैन कोही ढुंगे मेयर भन्छन्, कोही के जाति भन्छन् । जसले जेसुकै भनोस् बाल मतलब छैन । मुन्ना भाइ लगे रहो भनेर हिँड्या छन् हिँड्या छन् ।
अन्तेमा
यतिबेला सबैले देश नेताले बिगारे भनेर धारे हात लगाउँछन् । विचरा नेताहरुलाई वेÏवाँकमा किन धारे हात लगाएको होला ? नाँच्न नजानेपछि आँगनलाई दोष दिनु त भएन नि † चुनाउका बेला धोक्रो फुटुन्ज्याल नो नट अगेन भनेर त्यत्रो अभियान चलाउँदा कानमा तेल हालेर एक छाक मासु भातमा भोट हालेर दंगदंग्ती गनाएकाहरुलाई जिताउने अनि अहिले बिगारे भनेर फलाक्ने ? भेडाहरु † एउटा कुहेको आलुले बोरामा सबै आलु विगार्छ भन्ने हेक्का राखेर मासुभात नखुवाइद्यिा भे अहिले फलाक्नै पर्र्ने थिएन । मरेपछि खाँ बाबै केरा भनेर त भएन नि † कि कसौ हौ ?
