इनरुवा । इनरुवा नगरपालिका वडा नं. ४ को पिपलचौकदेखि होलीसम्मको ६८७ मिटर सडक कालोपत्रेमा लाखौ अनियमितता हुँदा एक महिनामै सडक भत्किएपछि उपभोक्ताद्वारा वडाध्यक्ष र योजना शाखाका इन्जिनियरलाई निलम्बन गरी कारबाहीका लागि निवेदन दर्ता गरेका छन् । एक महिनामै कालोपत्रे गरिएको सडक उप्किएपछि नगर प्रमुख केदार भण्डारी सहितको टोलीले अनुगमान गरेको थियो । अनुगमनमा चरम अनियमितता भएकोले उक्त कालोपत्रे सडकको सम्पूर्ण फाइल नै अख्तियारमा कारबाहीका लागि बुझाइएको प्रमुख भण्डारीले धरान साप्ताहिकलाई बताउनुभयो । उपभोक्ताहरुले वडाध्यक्ष र योजना शाखाका इन्जिनियर बौवालाल मेहता र उमेश्वर मेहतालाई निलम्बनको माग गर्दै नगरपालिकामा निवेदन दर्ता गराएको सम्बन्धमा जिज्ञासा राख्दा उहाँले भन्नुभयो योजना शाखाका इन्जिनियर काममै आउन छाडेका छन् भने वडाध्यक्षलाई कार्वाही अख्तियारले नै गर्छ ।

स्थानीय उपभोक्ताहरुले एक महिना नपुग्दै सडक भत्किनुमा चरम आर्थिक अनियमितता भएको प्रमुख भण्डारीले बताउनुभयो । उक्त सडक कालोपत्रे निर्माणका समयमा उपभोक्ता समितिका अध्यक्ष उमेश मेहता र अन्य सदस्यहरुलाई वडाध्यक्ष र इन्जिनियरले धाक धम्की र त्रास देखाएर चेकमा हस्ताक्षरका लागि दबाब दिएका थिए । उपभोक्ता समितिका अध्यक्ष उमेश मेहताले भन्नुभयो चेकमा हस्ताक्षर नगरे परिणाम राम्रो नहुने धम्की दिए । आफूले गुणस्तरीय कालोपत्रे नभएकोले चेकमा हस्ताक्षर गर्न नसक्ने बताउँदा उनीहरुले त्रास देखाए । उपभोक्ता समितिका अध्यक्ष मेहताले उनीहरुबाट चेकमा हस्ताक्षर गर्न नमान्दा दिएको धाकधक्कीको मोवाइल रेकर्ड समेत सुनाए । कारबाहीको माग गरिएको निवेदनमा अडियो रेकर्ड समेत प्रमाणका रुपमा संलग्न गरिएको प्रमुख भण्डारीले बताउनुभयो ।
हाल कालोपत्रे गरिएको ६८७ मिटर लम्बाईको पिपलबोटदेखि होलीसम्मको सडकको ग्राभेलको काम चार बर्ष अगाडि तत्कालीन मेयर राजन मेहताकै समयमा सम्पन्न भएको थियो । लामो समयदेखि सडक कालोपत्रे हुन नसक्दा स्थानीयहरु धुलोबाट हैरान भएका थिए । कहिले सडक कालोपत्रे होला र धुलोबाट मुक्त भइएला भनेर कु¥यौ तर बनेको कालोपत्रे पनि एक महिना नपुग्दै भत्किएपछि थप चिन्ता भएको देवराज श्रेष्ठले बताए । उपभोक्ता समितिका एक सदस्यले भने चार बर्ष अगाडि नै ग्राभेल गर्ने, ढल निर्माण गर्ने काम सम्पन्न भएर सोको भुक्तानी समेत नगरपालिकाले गरिसकेको थियो । तर हाल आएर पुरानो कामको भुक्तानी नभएको भन्दै उपभोक्ता समितिबाट दोहोरो चेक काट्न लगाइएको उनले सुनाए । उक्त सडक सडक बोर्ड काठमाण्डौको बजेटसँगै उपभोक्ताहरुको समेत निश्चित लागत समेटेर ८८ लाख ८० हजार ७६५.३ पैसामा सम्झौता भएको थियो । सम्झौता अनुसार इनरुवा नगरपालिकाले अन्तिम भुक्तानी सहित ८० लाख ६४ हजार ३०८.४७ पैसा भुक्तानी गरिसकेको मेयर भण्डारीले धरान साप्ताहिकलाई बताउनुभयो । सडक निर्माण उपभोक्ता समितिले सोही सडकको प्रयोजनका लागि प्रयोग गरेको चेकबुकको अर्धकट्टीमा इनरुवा नगरपालिकाको योजना शाखाका इन्जिनियर उमेश्वर मेहताको नाममा ३५ लाख दिएको अर्धकट्टीमा देखिन्छ । जबकी योजना शाखाका इन्जिनियर मेहताको नाममा त्यसरी चेक काट्नु कानुनत गलत हो । उनले कुन हैसियतमा ३५ लाखको चेक बुझेका हुन् ? नगरपालिकाको लेखा शाखाका एक कर्मचारीले बताए । छानविनको क्रममा रहे पनि अनियमितता भएको स्पष्ट देखिन्छ । अख्तियारले वडाध्यक्ष र इन्जिनियरका विरुद्धमा मुद्दा दायर गरेमा दुवै स्वत ः निलम्बित हुन्छन् उनले भने । इन्जिनियर मेहताको नाममा ३५ लाखको चेक गत कार्तिक ११ गते काटिएको देखिन्छ । उपभोक्ता समितिका अध्यक्ष उमेश मेहताले भने वडाध्यक्षले पनि दबाब दिए, धम्की दिए, त्रास देखाए । इन्जिनियरको नाममा चेक नकाटे कानुनी झण्झटमा फँसाइदिने भनेपछि आफूले बाध्य भएर चेक काटेको थिएँ । वडाध्यक्ष र इन्जिनियरले कतिसम्म दबाब दिएका थिए भने नगरपालिकामा हामी हुन्छौं, त्यसको जाँचपास हामी नै गर्छौं सम्म भनेको उपभोक्ता समितिका अध्यक्ष मेहताले बताए । हाल कालोपत्रे भएको भनिएको सडकको ग्राभेल र ढल निर्माणको काम चार बर्ष अगाडि नै भएको र त्यसको भुक्तानी सोही समयमा भइसकेको इनरुवा नगरपालिकाका साइड हेर्ने शव इन्जिनियर चन्दन कन्ठले बताउनुभयो । अहिले आएर पुरानाको पनि भुक्तानी भएको छैन भनेर चेक काट्न लगाउनु अनियमिताको परकाष्ठा हो ।
