धरान । नेपालका लागि भारतीय राजदुत समेत रहिसक्नु भएका भारतका विदेश सचिव विनय मोहन क्वात्रा तीनदिने नेपाल भ्रमण गर्नुहुने भएको छ । नेपाललाई नजिकबाट बुझ्नु भएका क्वात्रा नेपालका परराष्ट्र सचिव एवम् समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा आगामी फागुन १ देखि तीनदिनसम्म नेपालको औपचारिक भ्रमणमा आउनु हुने भएको हो ।

भारतीय विदेश सचिवको कार्यभार सम्हालेपछि क्वात्राको यो पहिलो नेपाल भ्रमण हो । क्वात्राको नेपाल भ्रमण नेपाल र भारतबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो नीति’ अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा भारतीय विदेश सचिव र नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालले भारत र नेपालबीचको वहुआयामिक सहकार्यका विविध पक्षका बारेमा छलफल गर्नुहुने भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीका अनुसार भारत र नेपालबीच ऐतिहासिक र पारस्परिक गहिरो सम्बन्ध रहेको छ । सचिव क्वात्राको भ्रमणका क्रममा भारतको सहयोगमा नेपालमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टीभिटी परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्यमा चर्चा हुने भएको छ । विज्ञप्तीमा सचिव क्वात्राको भ्रमणले नेपाल र भारत बीचको सम्बन्ध थप प्रगााढ हुने विश्वास गरिएको छ ।
