धरान । स्थानीय सरकारले आफ्ना नागरिकलाई सुरक्षा प्रदान गर्ने विषयमा गम्भीर बनेका छन् । शिक्षा, स्वास्थ्यसँगै सुरक्षा चुनौतिलाई समेत मध्यनजर गरेर धरान उपमहानगरपालिकाका वडाहरुले सुरक्षाको प्रत्याभूति दिने खालका काम गर्न थालेका हुन् । यस काममा सबैभन्दा अगाडि धरान १४ विजयपुर रहेको थियो । धरान १४ विजयपुरमा अस्थायी प्रहरी चौकी निर्माणको प्रक्रिया अगाडि बढेको छ भने चौक चौकमा सिसी क्यामेरा जडान गरिएको छ । धार्मिक पर्यटकीय क्षेत्र भएकै कारण सिसी क्यामरा जडान गरिएको हो ।

पछिल्लो समय धरान १६ ले समेत आफ्नो वडाबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने खालका कामलाई अगाडि सारेको छ । शान्ति सुरक्षा कायम गर्नका लागि चौकी निर्माणलाई तिब्रता दिइरहेको छ भने त्योसँगै चौक चौकका सिसी क्यामरा जडान समेत गरेका छ । धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले वडामा २० हजार भन्दा बढी जनसंख्या रहेको बताउँदै वडाको क्षेत्रफल समेत ठूलो भएका कारण शान्ति सुरक्षाको चुनौति बढ्दै गएपछि यहाँ अस्थायी प्रहरीको आवश्यकता रहेकै कारण निर्माणको काम भइरहेको बताउनुभयो । उहाँले धरान १६ मा पार्क समेत निर्माण हुँदै गएकोले पार्कमा आउनेहरुले शान्तिसुरक्षाको प्रत्याभूति गर्न सकोस् भन्ने उद्देश्यले सिसी क्यामरा जडान कार्यलाई शुरु गरेको बताउनुभयो । धरान १६ चौकमा ८ ठाउँमा सिसी क्यामरा जडान गरेको उहाँले बताउनुभयो ।प्रहरी चौकी, सिसी क्यामेरा जडानबाट सर्वसाधारणले समेत सुरक्षाको प्रत्याभूति महसस गर्ने भएका छन् । सिसी चौकी निर्माणसँगै सिसी क्यामरा जडानले धरान १६ मा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने सर्वसाधारणको अपेक्षा छ ।
