धरान । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सत्ता लोलुपताका कारण शेरबहादुर देउवाले काँग्रेसलाई पाँच बर्ष सम्म ठूलो मूल्य चुकाउनुपर्ने अवस्थामा पु¥याएको बताउनु भएको छ । डा. कोइरालाले पौष ११ गते एक विज्ञप्ती प्रकाशित गरी उक्त कुरा बताउनु भएको हो । जारी विज्ञप्तीमा उहाँले भन्नुभएको छ संविधानसभाबाट जारी संविधान अन्तर्गत मुलुकको दोस्रो आम निर्वाचनको माध्यमबाट देशले भर्खरै नयाँ प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाललाई पाएको छ ।

सर्वप्रथम संसदको तेस्रो शक्ति भएर पनि सांसदहरुको अत्याधिक वहुमत जुटाई नियुक्ति हुनुभएकोमा म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु । विज्ञप्तीमा अगाडि भनिएको छ संसदबाट नयाँ सरकारको नेतृत्व प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घट्नाहरु असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ । सविधानसभाको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन हाम्रो अगाडि यो प्रश्न गम्भीर रुपमा अगाडि आएको छ । हामीले यसको चित्त बुझ्दो जवाफ काँग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत सर्बै आम नेपाली माझ दिनुपर्ने मान्यता राख्छु । काँग्रेसले ठूलो मूल्य चुकाएर पाँच दलीय गठबन्धनसँग स्थानीय, प्रदेश र संघको निर्वाचनमा चुनावी तालमेल गरेको थियो । राजनीतिक, सामाजिक र साँस्कृति रुपले फरक धार भएका दलहरुबीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई महत्वहीन ठानियो ।
विज्ञप्तीमा भनिएको छ गठबन्धनको प्रकरणमा कैयौन काँग्रेसजनको राजनीतिक हत्या भएको हामी बिर्सन सक्दैनौं । विगत एक बर्षदेखि अझ खासगरि काँग्रेसको चौधौ महाधिवेशन अघि र पछि नेपाली काँग्रेसको राजनीतिमा बिर्सन नसकिने अनेकन घट्ना घट्यो । यो निःसन्देह नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका सुहाउँदो थिएन र हामी कँग्रेसको नेतृत्वमा बस्नेले यसवापत शिक्षा लिन सक्नुपर्दछ । काँग्रेस संसदको मुख्य पार्टनर नेकपा माओवादी केन्द्रको अस्थिर राजनैतिक चरित्र फेरि एक पटक उदांगिएको छ । हामीबीच सिद्धान्त भन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ । अब फेरि नेपाली काँग्रेस नयाँ सोच, दृष्टिकोण, ऊर्जावान र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुका विकल्प छैन । साथीहरुमा तत्कालको लागि नयाँ र अप्ठोरो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वभाविक होइन । साथीहरु निराश हुनुपर्ने कारण छैन । हामी निरन्तर संवाद र समपर्कमा रहँदै तपाईहरुको घर आँगनमा आउने छौ । किन यस्तो परिस्थिति निर्माण भयो भनी हामी नेतृत्व समक्ष र कार्यसमितिमा निर्मम समिक्षा गर्ने नै छौं । विज्ञप्तीको अन्त्यमा भनिएको छ, नेपाली काँग्रेस अब राष्ट्रिय राजनीतमा नयाँ भूमिका प्रवेश गर्देछ । काँग्रेस केन्द्रदेखि प्रदेश सबैतिर विपक्षमा बस्नुपर्नै वातावरण हठात आएको छ । यसबाट हामी निराश हुने छैनौं । यहाँबाट हामी सबैको परीक्षा शुरु भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनताबीच जानेछौं । पार्टीको गल्ति कमजोरीका लागि माफी माग्ने छौं । जनतासँग सम्वाद शुरु गरेर नयाँ काँग्रेस निर्माणको महाअभियानमा जुट्नुको हामीसँग अब विकल्प छैन । सत्ता गुम्दैमा काँग्रेसको शक्ति गुमेको छैन । हामी थप शसक्त भएर कँग्रेस सशक्तिकरणको अभियानमा जुट्न दृढ संकल्प गर्दैछौं विज्ञप्तीमा कोइरालाले भन्नु भएको छ ।
