का“ग्रेस आफ्नै पुरानो शाखमा फर्कन सक्छ

सत्ता र शक्तिको लागि एउटै पार्टी त टुक्रिएर अलग भएका छन् भने वर्तमान घिनलाग्दो सत्ता गठबन्धन लामो समय टिक्नेमा स्वयम् गठबन्धन भित्रैका नेता कार्यकर्ताहरु समेत ढुक्क थिएनन् ।
अहिले आएर सोही कुराको पुष्टि भएको छ । सत्तामा को पहिला बन्ने भन्ने कुराले गठबन्धनभित्रको दुई घटक अलग हुने अवस्थामा पुग्दा तत्काललाई नभएपनि कलान्तरमा यसको लाभ नेपाली काँग्रेसलाई हुने निश्चित छ । अर्थात मुलुकको स्रोत साधन मिलेर केही बर्ष लुट्ने मार्ग चित्रमा रहेका दलहरु फुटेका छन् ।
ढिलो चाँडो यिनीहरु फुट्नु नै थियो फुटे । गठबन्धन समाचार विचार भएकाहरुबीच हुन्छ । तर हालको कथित सत्ता गठबधनका बीचमा न विचारको समानता छ, न आदर्श मिल्छ न व्यवहार मिल्छ । यिनीहरुबीचमा मिल्ने भनेको एउटै कुरो थियो मिलेर राज्यका स्रोत साधनको लुट । तर सिंहदरबार भित्रको एउटा कुर्सीले यिनीहरुको गठबन्धनमा दरार ल्याइदिएको छ । हैसियत मापनै हुन नसक्ने माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न काँग्रेसका सभापतिलाई सकस पर्नु ।
निर्वाचनभन्दा अगाडि सत्ता गठबन्धन पन्द्र बर्षसम्म चल्छ भनेर कुर्लिएको आम नागरिकले बिर्सिएका छैनन् । काँग्रेस आफैँमा सक्षम हुँँदाहुँदै गठबन्धनमा गएपछि देशभरिका नेपाली काँग्रेसका कार्यकर्ता सबैभन्दा बढी दुःखी भएका थिए । अधिकांश प्रभावशाली कार्यकर्ताहरुले काँग्रेस नै छोडेर हिँडे, कैयौले स्वतन्त्र बस्ने निर्णय गरेका छन् । यो सबै वर्तमान नेतृत्वको चरम सत्ता लिप्साको उपज हो । सत्ता लिप्साकै कारण काँग्रेस दुर्गतितर्फ धकेलिएको हो ।
नेपाली काँग्रेसका आदर्श व्यक्तित्व, पार्टीको नीति निर्मार्ता बीपी कोइरालाको नाम आजको नेतृत्वले लिनै छाडेको छ । उसले कम्युनिस्टका आयातित नेताहरुको तस्विरमा माल्यार्पण गर्दै हिडेका छन्, कम्युनिस्टका उमेद्वारलाई जिताउन आफ्नै कार्यकर्ताको तेजोबध गरेका छन् । उदाहरणका लागि चितवनकी मेयरलाई हेर्दा हुन्छ । काँग्रेस नेतृत्वले माओवादीका उमेद्वारलाई जिताउ भन्न मिल्छ ? विरोध गर्ने, नेतृत्वको गलत निर्णयको विरुद्धमा आवाज उठाउने, विद्रोह गरेर उमेद्वारी दिनेलाई कथित कारबाही गरिएको छ । विधान सम्मत कहिल्यै कुनै काम नगर्ने नेतृत्वको पछि कहिलेसम्म कार्यकर्ता पछि लाग्छन् ? अहिलेको परिस्थिति यही हो । अब नेतृत्वको विरुद्धमा मुलुकभरिका कार्यकर्ताले आवाज उठाउनुपर्छ । काँग्रेसलाई सही ट्रयाकमा ल्याउन नेतृत्वकै विरुद्धमा आन्दोलन गर्नुको विकल्प छैन । काँग्रेस आफ्नो लिगमा हिँड्ने हो भने कसैलाई काँधमा बोकेर हिड्नु पर्दैन । तर सत्ता प्राप्तिका लागि हदैसम्मको निचता देखाएर अन्यसँग अप्राकृतिक गठबन्धन गर्दै जाने हो भने एकदिन ऐतिहासिक पार्टीलाई इतिहासमै खोज्नुपर्ने हुन्छ । यस कुराको वर्तमान नेतृत्वले कहिल्यै हेक्का राखेन । अझ नेपाली काँग्रेसलाई दुर्बल बनाउन आफ्नै श्रीमति, सालासाली, ज्वाई जेठानलाई अरुको भाग खोसेर समानुपातिकबाट सांसद बनाउने, पार्टीको पदमात्र नभएर राज्यका अन्य लाभका पदमा विराजमान गर्नु पतनको श्रृंखला आरम्भ भएको मान्नुपर्छ ।

तपाईको प्रतिक्रिया