काठमाण्डौ । नेपालको अत्यन्तै घनिष्ट सम्बन्ध भएको निकट छिमेकी मुलुक भारत–नेपाल संयुक्त सैन्य अभ्यास सूर्य किरणको १६ औं सस्कारण नेपाली सैनिक ब्याटल स्कुल सालझण्डीमा शुरु भएको छ । पौष १ गतेबाट शुरु भएको संयुक्त सैन्य अभ्यासभन्दा अगाडि दुवै देशका सेनाले आ–आफ्ना देशको राष्ट्रिय झण्डा फहराउदै दुई देशका सेनाले आ–आफ्नो सैन्य धुनमा परेड खेलेर सूर्यकिरण सैन्य अभ्यासको शुभारम्भ गरेका थिए ।

आगामी पौष १४ गतेसम्म अर्थात दुई हप्ता सम्म सञ्चालन हुने अत्यन्तै कठिन सैन्य अभ्यासका क्रममा भारतीय सेना र नेपाली सेनाका पैदल सैन्य दलले अन्तर सैन्ययुद्ध क्षमतालाई सुदृढ बनाउन र प्रतिबिद्रोह तथा मानवीय सहायता एवम् विपद् राहत अपरेशनबारे अनुभव साटासाट गर्न संयुक्त सैन्य अभ्यास गरेका हुन् । संयुक्त सैन्य अभ्यासमा भारतीय सेना अन्तर्गत रहेको गोरखा रेजिमेन्टको एक बटालियन सहभागी भएको छ । सैन्य अभ्यासका क्रममा दुबै देशका सेनाले एक अर्काका हात हतियार, उपकरण, रणनीति र कार्यविधिको बारेमा एक अर्कालाई जानकारी गराउने छन् । खासगरी हिमाली भूभागमा प्रतिबिद्रोह वातावरणमा काम गर्दा सैन्य अभ्यास उपयोगी सावित हुने भएको छ । सैन्य अभ्यासको दायरा र स्तरलाई थप बृद्धि गर्न दुवै सैन्य टोलीलाई मानबीय सहायता तथा विपद् राहत, हाइ अल्टिच्युट वारफेर र जगल वारफेर अपरेशनमा पोख्त पार्न त्यस्तै खालको परिस्थितिमा अभ्यास गराइने भएको छ । प्रतिविद्रोहको वातावरण दुवै सेनाको प्रदर्शनलाई मान्यता दिने ४८ घण्टे कडा अभ्यास सँगै संयुक्त सैन्य तालिम दुई हप्तासम्म चल्ने भएको हो । भारत र नेपालको सेनाबीचको द्विपक्षीय एवम् आपसी सहकार्यलाई सुदृढ बनाउन तथा दुई देशबीच सदियौ देखि रहिआएको विशिष्ट र परम्परागत मित्रतालाई थप बलियो बनाउन यो सैन्य अभ्यास सूर्यकिरणले महत्वपूर्ण भूमिका खेल्ने दुबै देशका सैन्य अधिकारीहरुको विश्वास रहेको छ । सूर्यकिरण सैन्य अभ्यास श्रृंखलालले भारत र नेपाल बीचको अद्वितीय सम्बन्धलाई पनि प्रतिबिम्वित गरेको छ ।
