मुलुक कथित संघीयतामा धकेलिएपछि गत मंसिर ४ गते दोस्रो पटकका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फका विजयी उमेद्वारहरुलाई प्रमाणपत्र वितरण गरिसकेको छ । तर यतिबेला सरकारमा गैह् सांसदहरुको हालीमुहाली उदेकलाग्दो छ । निर्वाचन घोषणा भइसकेपछि सांसदको पदावधि समाप्त भए पनि प्रधानमन्त्रीदेखि अन्य मन्त्रीहरुको कार्यशैलीमा कुनै फरक आएको छैन । नेपाली राजनीतिक दार्शनिक प्रदीप गिरीले एक समय भन्नु भएको थियो, नेपालका साँसदहरु पजेरो किनेर पतन भएका होइनन्, पतन भएर पजेरो किनेका हुन् । अहिले दुनियाँलाई सरम लाग्ने गरी गैह् प्रधानमन्त्री शेरबहादुर देउवा कार्यकारीकै हैसियतमा विभिन्न निर्णयहरु गर्दैछन् । उनलाई सांसदमा हरुवलाहरुले आँखा चिम्लिएर साथ सहयोग गरिरहेका छन् । प्रधानमन्त्रीले बाल्वाटारमा भेटघाट र बैठक गरिरहेका छन्, मन्त्रिहरु क्वार्टरमा निर्लज्जतापूर्वक रंगीन रातहरु बिताइरहेका छन् । थोरै पनि नैतिकता बाँचेको भए कमसेकम सांसदमा हारेका मन्त्रीहरुले निर्वाचन परिणाममा आफ्नो् पक्षमा नआएको घोषणा हुनसाथ राजीनामा दिएर घर फर्कन्थे । तर उनीहरु उही शैली, उही रबाफमा मन्त्रालय धाइरहेका छन, मन्त्री क्वार्टरमा आसन जमाइरहेका छन् । अर्कोतर्फ नेपालका कुनैपनि राजनैतिक दलका नेताहरुसँग मुलुक बनाउने स्पष्ट भिजन नै छैन । हुन पनि कसरी यहाँका राजनैतिक दलका नेताहरु प्रत्यक्ष वा परोक्षरुपमा बाह्य निर्देशबाट सञ्चालित छन् । जसको लिटो खायो उसको निर्देशन शिरोपर गर्नु त प¥यो नै । यसमा ती भिजन शून्य नेताहरुको के दोष ? सत्ताका लागि यहाँँका राजनैतिक दलहरु जोसुकैसँग सम्झौता गर्न तयार हुन्छन् । नेपाली काँग्रेसलाई आर्यघाटको बाटोमा पु¥याउन लागेका सत्ता पिपासु हालका काम चलाउ प्रधानमन्त्रीको शैलीले त मतदाता, त्यस पार्टीमा आवद्ध कार्यकर्ता मात्र लज्जित भएका छैनन् राजनीतमा चासो राख्ने बाहय जगत पनि आश्चर्यचकित भएको छ । खासगरि, आदर्श, विचार, सिद्धान्त जस्ता कुरामा एक छेउ पनि मेल नखाने गैर प्रजातन्त्रवादीहरुसँगको गठजोड केवल सत्ता प्राप्ति भन्दा अरुथोक हुन सक्दैन ।
पाँच पाँच पटक देशको प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले के काम गरे ? कुनै सम्झन लायक काम कसैको स्मरणमा छ ? फेरि पनि तिनै पात्र प्रधानमन्त्रीका लागि अगाडि सरेका छन् । यसका लागि आफ्नै सांसद खरिद गर्ने, सरकार गठन भएपछि मन्त्री दिने जस्ता घिनलाग्दा खेलको शुरुवात आफ्ना बंधुवा सांसदहरुबाट शुरु गरिसकेका छन् । आफ्नै गृहजिल्लामा एउटा आहा भन्ने खालको स्कूल, कलेज, अस्पताल,, सडक बनाउन नसक्नेले सत्ताका लागि भने जस्तोसुकै, जोसुकैसँग गठजोड गर्नु त्यहाँ भन्दा बेसरमको अर्को कुरा के हुन सक्छ ? पार्टीलाई चलायमान गर्न नसक्ने तर सत्ताका लागि सबै चलायनमान गर्ने बृद्ध पुस्ताका कारण आगामी दिनमा दोस्रो पुस्ता हराउने अवस्थामा पुगेको छ । न दोस्रो पुस्ता बृद्ध पुस्ताबाट खोसेर लिन सक्छ न आफ्नो विवेकले हिड्न सक्छ । वडो मजधारमा छ मुलुकको दलीय राजनीति ।
