दशैमा ८ करोड मूल्य बराबरको खसीबोकाको कारोबार

धरान । नेपालीहरुको महान चाड दशै घरघरमा भित्रिइसकेको छ । दशैमा रमाइलोसँगै मासुका परिकारहरु सबैको घरमा पाक्ने गर्छ । यसले गर्दा मासुको जोहोमा सर्वसाधारण दशै आउनु भन्दा एक दुई हप्ता अगाडिदेखि नै लाग्ने गर्छन् । खसी र बोकाका लागि धरान १३ कृषि उपज बजार व्यापारिक स्थलको रुपमा मानिन्छ । दशैमा खसी बोकाको किनबेचका लागि प्रदेश १ कै कृषक, व्यापारीहरुको जमघट हुने गर्छ । यस बर्ष विगतको भन्दा बढी खसी बोका भित्रिएपनि किनबेच कम हुदा मूल्यमा गिरावट आएको कृषि बजारले जनाएको छ । धरान १३ मा रहेको कृषि उपज बजारमा दशैको अन्तिम शुक्रबार खसीबोका किनबेच गर्नेको घुइँचो नै थियो । कृषक आफूले ल्याएको खसी बोका विक्री गर्ने ध्याउन्नमा देखिन्थे भने व्यापारीहरु कृषकबाट सस्तो मूल्यमा उम्काउने दाउमा थिए । खसीको मूल्य गत बर्षको भन्दा कम हुँदा सबै भन्दा सहज भने उपभोक्तालाई भएको थियो ।


कृषि बजारमा खसी बोका अत्याधिक आएकै कारण भाउ नपाएको कृषकहरु बताउँछन् । गत बर्ष जिउदो खसी बोकाको मूल्य ६ सय ५० रुपैयामा बचेका उनीहरुले यस बर्ष प्रतिकेजी ५ सय रुपैयामै उपभोक्ता तथा व्यापारीहरुले खोज्ने गरेको कृषक योगबहादुर राई बताउनुहुन्छ । खसी बोका विक्री गरे दशै मनाउने सोचमा कृषि बजार आएका अर्का कृषक भिमबहादुर राइको व्यथा पनि योगबहादुरकै जस्तो छ । गत बर्षको जति मूल्य नदिँदा आफूले सोचेको मूल्यमा खसी बोका विक्री गर्न नपाएको बताउनुभयो । यही बजारबाट खसी खरिद गरेर पूर्वका विभिन्न स्थानमा लगेर विक्री गर्ने व्यापारीहरु समेत यस बर्ष चिन्तित छन् । खसी बोकाको मूल्य कम हुदा सोचेजस्तो मुनाफा गर्न नसक्ने उनीहरु सुनाउँछन् । खसीबोका भन्दा पनि व्यापारी धेरै भएका कारण समस्या आएको उर्लाबारीका व्यापारी रवि खड्का बताउनुहुन्छ । उपभोक्ताले आफूले खरिद गरेको भन्दा कम मूल्यमा खोज्ने भएकोले पनि समस्या भएको उहाँ बताउनुहुन्छ । यता उपभोक्ताहरुलाई भने खसी बोका धेरै आउदा र आफूले सोचेको भन्दा कम मूल्यमा खरिद गर्न पाउदा दंग छन् । यस बर्ष गत बर्षको तुलनामा बढी पनि नभएको र कम पनि नभएको बीचको मूल्य भएको उपभोक्ताको तर्क छ । यो बजारमा कोशी करिडोर प्रदेश १ कै मुख्य पहाडी क्षेत्रबाट खसी बोका कृषक तथा व्यापारीले विक्रीका लागि ल्याउने गरेका छन् । गत बर्षको तुलनामा यस बर्ष खरिद विक्रीमा २५ प्रतिशत भन्दा बढी बढेको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार गत बर्षको दशै अवधिभर ३ हजार थान खसी बोका विक्री भएको बताउदै अहिले बर्ष भने अन्तिम शुक्रबारमात्र ४ हजार थान खसी बोका भित्रिएको बताउनुभयो । उहाँले दशैभरिमा ८ करोड मूल्य बराबरको खसी बोका विक्री भएको बताउनुभयो । उहाँका अनुसार गत बर्ष जिउदो खसी बोकाको मूल्य ६ सयदेखि ६ सय ५० प्रति केजी रहे पनि यस बर्ष उपभोक्ताले ६ सय रुपैया प्रति कजी छानी छानी खरिद गरेका थिजए । कृषि क्षेत्रमा युवाहरु आकर्षण बढ्दौ जादा पशु फार्महरु पहाडी जिल्लाहरुमा बढेका कारण पनि यस बर्ष खसी बोका कृषि बजारमा अत्याधिक आएको अनुमान कृषि बजारले लगाएको छ । उत्पादन बढी भएका कारण यस बर्ष बोकाको मूल्यमा पनि गिरावट आएको कृषि बजारले जनाएको छ ।

तपाईको प्रतिक्रिया