धरान । दशैका समयमा यात्रु अलपत्र नेपालीहरुको नियति नै बनेको छ । दशैजस्तो महान चाडमा आफन्तकोमा टिका लाउन जानेहरुले सवारी साधान पर्याप्त नभएकै कारण हैरानी व्यहोर्नुपर्ने बाध्यता छ । यस बर्ष त झन लगातारको बर्षा र सवारी साधन पर्याप्त नहुदा भोग्नु परेको पीडाले दोहोरो पीडामा परेका छन् सर्वसाधारण ।

धरानको भानुचौकमा दशैको समयमा विहान यात्रुहरु अलपत्र परेको दृश्य देखिन्थ्यो । दशैमा आफ्ना मान्यजनकोमा टिका लगाउन झरीको वास्तै नगरी बसेका उनीहरुलाई पर्याप्त यात्रुवाहक बस नपाउदा भानुचौकमा अलपत्र परेर बसेका थिए । खासगरी कोशी राजमार्ग अन्तर्गतको पहाडी क्षेत्रमा चल्ने सवारी साधन नभएकै कारण यात्रुहरु अलपत्र परेका हुन् ।
दुईघण्टा देखि झरीको वेवास्ता गर्दै गन्तव्यमा जान भानुचौकका बस्नु भएका दलसिंह विष्टले बस नपाउदा अत्त्यन्तै समस्या भएको बताउनुभयो । इटहरीबाट पुर्खौली घर धनकुटाको लेगुवा परिवारका साथ हिड्नु भएका उहाँले बस नपाएर अलपत्र परेर बस्नु परेको दुःखेसो पोख्नुभयो । दलसिंह विष्टमात्र हैन उर्लाबारीबाट धनकुटाको सिंधुवा हिड्नु भएका भक्त मंग्रान्तीको व्यथा पनि उस्तै छ । उर्लाबारीबाट धरान आइपुग्न जति सास्ती भोग्नुपरेको थियो त्यो भन्दा बढी सास्ती धरानबाट सिंधुवा जान समस्या भएको बताउनुभयो । उहाँले दशैको मौकामा सवारी साधनले पनि मौकाको फाइदा उठाउँदै लागेको भाडा दर भन्दा बढी भाडा लिने गरेको गुनासो समेत पोख्नुभयो । धनकुटाका विभिन्न क्षेत्रमात्र हैन टाटाको यात्रा गर्ने सर्वसाधारणको अवस्था पनि उस्तै छ । झापाको सुरुङबाट पुख्यौली घर भोजपुर हिड्नु भएका सुरज कार्कीले समेत दुई घण्टादेखि फर्किदा पनि सवारी साधन नपाएको बताउनुभयो । यात्रुहरुको चाप अनुसार बस पर्याप्त नभएकै कारण यस्तो समस्या आएको यातायात व्यवसायीहरुको भनाई छ । नेपाल यातायात राष्टिूय महासंघ प्रदेश नं. १ का संयोजक सरोज श्रेष्ठले यो समस्या प्रत्येक बर्ष हुने गरेको बताउनुभयो । कोरोना कहरका कारण दुइ बर्षदेखि आफन्तकोमा जान नपाएकाहरुको भीड र भीड अनुसारको यात्रुवाहक बस नहुदा यो समस्या आएको बताउनुभयो । भानुचौकमा रहेका बसमा मात्र हैन, कोशी पहाडी क्षेत्रमा चल्ने ट्याक्सी, ल्याण्डरोवर लगायतका सवारी साधनले समेत खचाखच सवारी साधन बोकेर हिड्ने गरेको छ । यी सवारी साधनले नपुगेर टेम्पोले समेत धनकुटासम्म दोब्बर भाडामा लाने गरेको पाइएको छ । धनकुटासम्म ५ सय रुपैयामा पुग्न सकिने भएपनि टेम्पोले १ हजारसम्म लिने गरेको यात्रुहरुको गुनासो छ । यस विषयमा महासंघ प्रदेश १ का संयोजक श्रेष्ठले प्रदेशले भाडादर कायम नगरिदिएका कारण समस्या आएको बताउनुभयो । उहाले प्रदेशभित्र कायम भएको भाडादर प्रकाशित नभएका कारण भाडा दरमा तलमाथि भएको बताउनुभयो । यस बर्ष विगतको बर्षभन्दा सर्वसाधारणले धेरै सास्ती भोग्नु परेको छ । लगातारको बर्षाद्का कारण पहाडी क्षेत्रमा रहेका ग्रामीणबाट हिलाम्मे हुदा यात्रागर्न जोखिम छ भने अर्कोतर्फ पर्याप्त सवारी साधन नहुदा समयमै गन्तव्यमा पुग्न सकेका छैनन् । पहाडी क्षेत्रमा अन्य समयमा ५० वटा सवारी साधन चल्ने भएपनि दशैलाई लक्षित गरी ३ सयवटा सञ्चालन गर्दा समेत नपुगेको यातायात व्यवसायी समेत रहनु भएका श्रेष्ठले बताउनुभयो । यात्रुहरुको सहजताका लागि न त सरकार गम्भीर छ, न त यातायात व्यवयासी गम्भीर छ, गम्भीर नभएकै कारण यात्रुहरुले प्रत्येक बर्षको दशैमा यस्तै सास्ती भोग्नु परेको छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।
