धरान । दसैंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीकासँगै कानमा लगाइने धान, गहूँ, मकै र जौका लामा आँकुरा । विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् । घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र होे भारतीय एवं अन्य राष्टूका हिन्दूहरूमा यो परम्परा पाइँदैन ।

तर पछिल्लो समयमा जमरा लगाउने भन्दा पनि मठ मन्दिरबाट जमरा खरिद गरेर प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । विजयीदशमीको विहानदेखि नै धरानको गीता मन्दिर, गणेश मन्दिर तथा राम मन्दिरमा जमरा खरिद गर्नेको भीड नै लागेको थियो । मन्दिरका पूजारीहरु १ सयदेखि ३ सय रुपैयासम्म जमरा खरिद गर्न व्यस्त देखिन्थे भने सर्वसाधारण जमरा किन्न लाइनमा देखिन्थे ।
घट्स्टापनाका दिन विधिवत रुपमा जमरा घरमै राखेर दशैको टीकाको दिन टीकाको दिन प्रसादको रुपमा ग्रहण गरिने जमरा पछिल्लो समय खरिद विक्रीको सामाग्री बनेको हो । धरान ५ का सुरेश श्रेष्ठ प्रत्येक बर्षको बडादशैको घटस्थापनाका दिन जमरा घरमै राख्नुहुन्थ्यो तर यस बर्ष जुठो परेका कारण घरमा जमरा राख्नु भएन । विहानै धरान १२ मा रहेको गीता मन्दिरमा जमरा खरिद गर्न पुग्नुयभयो । १०, २० रुपैयामा जमरा पाइने सोचेर जानु भएका उहाँले एक टपरी जमराको १ सयदेखि ३ सय रुपैयासम्म लिने गरेको देख्दा उहाँ आश्चर्यमा पर्नुभयो । यस्तै भनाई धरान १२ कै विवेक बराइलीको छ । यस बर्ष घरमा जमरा राख्न नमिल्ने भएकोले उहाँले १ सय रुपैया तिरेर जमरा खरिद गरेको बताउनुहुन्छ । तर कतिपय सर्वसारणहरु भने दशैको समयमा कहिल्यै घरमा जमरा राख्दैनन् । मन्दिरबाट खरिद गरेर टीकाको दिन जमरा प्रसादको रुपमा ग्रहण गर्ने गर्छन् । कतिपय सर्वसाधारणले घरमा राखेको जमरा जोखो नहुने तर मन्दिरका पूजारीहरुले राखेको जमरा जोखो हुने भएकोले प्रत्येक बर्ष खरिद गरेर लाने गरेको भन्दे यसलाई सहज रुपमा लिने गरेका छन् ।
यी त प्रतिनिधिपात्र मात्र हुन टिकाको विहानै धेरै सर्वसाधारण जमरा खरिद गर्न धरानका विभिन्न मन्दिरमा पुगेका थिए । प्रसादका रुपमा ग्रहण गरिने जमरालाई पूजारीहरुले कमाईको माध्यम बनाएका छन् । यस विषयमा गीता मन्दिरका पूजारीलाई सोध्न खोज्दा उनले केही बताउन चाहेनन् । यतिमात्र मन्दिरबाट सस्तो मूल्यमा लिएर सडकका पेटीमै जमरा विक्री गरेको समेत पाइएको छ । धरान १२ गीता मन्दिर छेउमा जमरा विक्री गर्दै आउनु भएकी एक महिलाले नाम बताउन चाहिनन् । तर उनले अग्रसेन मन्दिर र गीता मन्दिरबाट जमरा ल्याएर विक्री गर्ने गरेका खुलासा गरिन् । वर्षदिनसम्म घरबाट टाढा भएका व्यक्तिहरू पनि मान्यजनको हातबाट आर्शीवादसहित टीका जमरा थाप्न घर पुग्ने गर्दछन् । पुरुषहरूले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित गराउँछ । यसरी धार्मिक, सामाजिक, सांस्कृतिक एवं स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ । तर पछिल्लो समय पम्परागत संस्कृतिलाई छोड्दै जमरा किनेर प्रयोग गर्ने र मन्दिरले पनि यस दिनलाई कमाउ धन्दाको रुपमा लिने गरेका कारण नेपालीहरुको परम्परागत सँस्कृति धरापमा पर्दै गदैको महसुस जोकोहीलाई नपर्ने कुरै भएन । आफ्नो संस्कृतिलाई जोगाउदै यस्ता विकृति हँटाउन अब सबै पक्ष लाग्न जरुरी छ ।
