धरान । सामाजिक कार्यमा अग्रसर रहेका धराने सचेत समुहले सुनसरी महिला बास्केटवल खेलाडीहरुलाई बास्केटवल जर्सी प्रदान गरेका छन ।
समुहले यही असोज ६ गते देखि सुरु हुन लागेका प्रदेश १ बास्केटवल खेलाडी छनौट प्रतियोगिताका लागि प्रशिक्षणमा रहेका सुनसरी महिला बास्केटवल टिमका १२ जना खेलाडीहरुलाई जर्सी प्रदान गरेका हुन । उनीहरुलाई सोमवार धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सचेत धराने समुहका अध्यक्ष निरज लिम्वु, नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राई र डिपो क्याम्पसका प्रमुख राजकुमार राईले जर्सी हस्तान्तरण गरेका हुन ।

डा. आशा राईको कप्तानीमा असोज ६ गते सुनसरी जिल्लाका टिमले छनौट प्रतियोगितामा प्रतिष्पर्धा गर्दैछन । अन्य टिम सदस्यहरुमा तनु राई, निरुता राई, सितल तामाङ्ग, रन्जिता लिम्वु इक्सा, सेरिना लिम्वु, सम्झना राई, आशा लामा, आस्था राई, नुमा लिम्वु, एल्भिना गुरुङ्ग र तनुसा श्रेष्ठ रहेका छन । छनौट प्रतियोगिताबाट प्रदेश १ टिम तयार गरिने छ । सचेत धराने समुहले जर्सीसँगै प्रतियोगिता स्थल धरान रंगशाला कर्भडहलका लागि दुई थान डस्टविन समेत प्रदान गरेका थिए । असोज २८ गते देखि पोखरामा सुरु हुने ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ को विभिन्न जिल्लामा भदौ २९ गते देखि प्रदेश १ खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । धरानमा मात्र ६ वटा खेलको प्रदेश १ छनौट प्रतियोगिता भइरहेको छ । धरानमा हुने छनौट प्रतियोगिता मध्ये वुद्धिचाल, साइक्लिङ्ग, गल्फ र कराते खेलको छनौट प्रतियोगिता सम्पन्न भइसकेका छन् । जुडो खेलको छनौट प्रतियोगिता सोमवारदेखि सुरु भएको छ भने वास्केटवल खेलको छनौट प्रतियोगिता भने ६ गते देखि ८ गते सम्म हुनेछ ।
