धरान । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपाल र भारतबीचको सम्बन्ध सरकार सरकार बीचमात्र नभएर जनता जनताबीच प्रगाढ र सुमधुर रहेको बताउनु भएको छ । शनिवार उहाँले प्रदेश नं. १ सुनसरीको धरान र चकरघट्टी (महेन्द्रनगर) मा भारत सरकारको अनुदान सायोगमा निर्माण भएका दुईवटा विद्यालय भवनको उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो ।
धरानस्थित संघीय प्रहरी इकाई कार्यालयको हाताभित्र रहेको नेपाल प्रहरी स्कूल र चकरघट्टीस्थित महेन्द्र माध्यामिक विद्यालयको नवनिर्मित भवनको राजदूत श्रीवास्तव र सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । नेपाल भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोग ४ करोड ८९ लाखको लागतमा ती दुई विद्यालय भवन निर्माण भएका हुन् । वि.सं. २०४५ सालमा स्थापना भएको नव निर्मित तीन तलाको नेपाल प्रहरी स्कुलमा विद्यालय भवन, छात्रावास भवन र खेलमैदान निर्माण भएको छ भने महेन्द्र माध्यामिक विद्यालयको भवन समेत तीन तलाको रहेको छ । १४ सय विद्यार्थी रहेको नेपाल प्रहरी स्कुलको नव निर्मित भवन र छात्रावासमा ५४ वटा कोठा रहेका छन् भने छात्रा छात्राका लागि भिन्दा भिन्दै ट्वाइलेट बाथरुम रहेका छन् । सो अवसरमा बोल्दै भारतीय राजदूत श्रीवास्तवले भन्नुभयो भारत सरकारले सन् २००३ यता नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अगाडि बढाएको छ । जसमा शिक्षा, स्वास्थ्य, खानेपानी, कनेक्टीभिटी, सरसफाइ र अन्य सार्वजनिक क्षेत्रहरु रहेका छन् । नेपालका सातवटै प्रदेशमा ४७५ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् । जसमध्ये सुनसरी जिल्लामा १२ वटा र प्रदेश नं. १ मा १८० वटा रहेको राजदुत श्रीवास्तवले प्रष्ट पार्नुभयो । त्यसभन्दा अगाडि अर्थात विद्यालय भवनको उद्घाटन गर्नु भन्दा अगाडि राजदूत श्रीवास्तव सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा सरिक हुनुभएको थियो । राजदुत श्रीवास्तवसँग सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले नेपाली उद्योगी व्यवसायीहरुले भोग्नुपरेका विभिन्न समस्याका बारेमा अवगत गराउनु भएको थियो । भारतले धरानमा दुई वटा महत्वपूर्ण परियोजनाहरु बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान र धरान औद्योगिक क्षेत्र निर्माण गरिदिएको छ । प्रतिष्ठानमा नेपालमा दुरजराजका विरामीसँगै भारतको विहार, पश्चिम बंगाल राज्यका विरामीहरु समेत उपरार्थ आउने गरेका छन् भने औद्योगिक क्षेत्रमा रहेका ३३ वटा उद्योगमा दुई हजारले रोजगारी पाएको स्मरण गराउँर्दै पछिल्ला दिनमा जोगबनी मिरगञ्ज पुलका कारण १५० किमी टाढा विरपुर–भाण्टाबारी नाका भएर सामान आयात गर्नुपर्दा लागत बढ्न गई, नेपाली उद्योगी, व्यवसायी मारमा परेकोले मिरगञ्ज पुल सिघ्र निर्माण गरिदिन राजदूत श्रीवास्तवसँग आग्रह गर्नुभएको थियो । यसैगरी भारतले गहुँ र चिनी आयातमा लगाएको प्रतिबन्धका कारण नेपाली उद्योगीहरु मारमा परेको र उपभोक्ताले समेत महंगीको मार खेप्नुपरेकोले गहुँ र चिनीको आयात फुक्का गरिदिन अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभएको थियो । प्रत्युत्तरमा राजदूत श्रीवास्तवले बर्षाका कारण मिरगञ्ज पुल निर्माणमा ढिलाई भएको र नेपालमा भरतबाट गहुँ र चिनी आयातमा कुनै प्रतिबन्ध नलगाइएको प्रष्ट पार्नुभएको थियो ।

यसैगरी सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धरान पूर्वको मुख्य द्वार भएपनि जुन रुपमा धरानको विकास हुनुपर्ने हो त्यो विविध कारणले हुन नसकेको बताउनु भयो । सबै लाग्दा धरानको गौरवलाई स्थापित गर्न सकिनेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, विश्वको उदयीमान अर्थतन्त्र भएको भारतबाट नेपालले विकास लगायत अन्य ्रकुरामा लाभ लिन सक्छ । भारत नेपालको विकासमा सहयाग गर्ने राष्ट्रमध्ये प्रमुख राष्ट्र रहेको भन्दै मन्त्री कार्कीले नेपालको विकास पूर्वधारका लागि भारतले आफ्नो बार्षिक बजेटमै रकम विनियोजन गर्ने गरेको छ । भारतीय राजदुत नविन श्रीवास्तवको भ्रमणले पूर्वको विकासमा ठोस भूमिका खेल्ने भन्दै मन्त्री कार्कीले नेपालमा जलस्रोतको मात्र विकास गर्दा पनि भारतसँगको व्यापार घाटा न्यून गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, दुईदेशका प्रधानमन्त्रीबीच भएको सम्झौता अनुसार ३६४ मेघावाट विद्युत हाल भारतमा निर्यात भइरहेको छ । आगामी दिनमा १५ हजार मेघावाट विद्युत भारतमा निर्यात गर्न सके बार्षिक ६०–६५ अर्ब रुपैया नेपालले आर्जन गर्न सक्छ । जसबाट हामी हाम्रा पूर्वाधार निर्माण गर्न सक्छौं । सम्पन्न दुवै विद्यालय परियोजना भारत स्वतन्त्र भएको ७५ औं बर्षको उत्सव मनाउन भारत सरकारले अगाडि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत यस बर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येकै एक हो । नेपाल र भारतबीच वहुआयामिक एवम्् वहुपक्षीय विकास साझेदारी रहेको छ जसले दुई देशबीचका जनताको निकटतालाई प्रतिविम्वित गर्दछ । जिल्ला समन्वय समिति सुनसरीले कार्यान्वयन गरेको दुवै परियोजना उद्घाटनको सभापतित्व जिल्ला समन्वय समितिका सभापति राजन मेहताले गर्नुभएको थियो भने भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी भरत कनौजिया, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, संघीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी उमाशंकर पञ्जियार, सघीय सांसद सीताराम मेहता, नेपाली काँग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरपालिकका प्रमुख केदार भण्डारी, सशस्त्र प्रहरीका अधिकृतहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, नेपाल भारत मैत्री सींघका पदाधिकारी, विद्यार्थी र स्थानीयहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
