न्वारानै गर्न सकेनछन्
प्रदेश नं १ का ९३ जना लम्फूहरुले खाने, पचाउने र आची गर्ने भन्दा अर्थोक काम भुत्लोभाङ केही गरेनछन् । जाबो एउटा प्रदेशको न्वारान त गर्नसकेनछन् । अस्तिका दिनदेखि बेनामे बनाएर विदा भएछन् । के के न खालो सारम्ला झै Ïया“ Ïयाँ र फ्वाँ फ्वाँ गर्थे । हुन त प्रदेश नै बेकामे हो । अनि बेकामे ठाममा बेकामे लम्फूहरु पुग्नु कुन नौलो कुरा भयो ? उल्फाको धन फुपुको सराद्धे भनेझै गरिब जनताले तिरेको करमा पाँच बर्ष खुट्टै घुमाए । अरबौको गाडी खरिद गरेर झ्याम कि झ्याम कमिशन बजाए, आउरे भाउरेलाई ठेक्कापट्टा दिलाए, यतिका बषसम्म नागा बसेकाले पनि विवाह गर्न भ्याए, मुखमन्तरी खखै के के जाति मन्तरी भएर दुहनसक्ने ठाउँमा दुहे । अन्तेमा लम्फूहरु ड्याउ ड्याउ गर्दै चल्देछन् । अब प्रदेश भन्ने अखडा सधैका लागि बन्द गरिदिए हुन्थ्यो । विना कामे लम्फूहरुलाई पाँच पाँच बर्षसम्म जागिर खुवाएर किन राख्नु ?

लोप्पा खाएछन् हाम्रा धर्मशास्त्रमा त्यसै भन्या होइन अति गर्नु अतिचार नगर्नु भनेर । अति गरेपछि खति हुन्छ । अब हेरम न अस्तिका दिनदेखि बराह सपिङ्ग कम्प्लेक्सले भानुचौक र भोटेपुलको व्यवसाय अनिश्चितकालको लागि बन्दै गर्देछ । अलि अगाडि नै बन्द गर्नुपथ्र्यो । ढिलो पो गरेछ । आजित भएसी बन्दै गर्दैछ । बराह बचत तथा ऋण सहकारी संस्थामा कुस्त ब्याज खान लुसुक्क गएर पैसो जम्मा गर्नेहरुले खेदो पाइलै गरे । नारा लगाएका छन्, जुलुस निकालेका छन्, धर्ना दिएका छन्, घेराउ ग¥या छन् । ग्यामग्याम्ती २४ प्रतिशतसम्म व्याज खाँदा कम्ता मख्ख प¥या थिएनन् । कसैले थाहा पाउला कि झै गर्थे । अब आफनै हालत पम्चर भएसी विचराले दिन सकेन । बुझ्नु पर्दैन ? सकुन्ज्याल त दिएकै हो । नसकेसी के लाग्छ ? काट्दा रगत आउँछ निचोर्दा आँची । बन्द गर्देछन् लण्ठै साफ । अब उफ्रिउन न मच्चीमच्ची ।
कीरा भएछन्
आजीवन अध्येक्षेको पगरी गुथेका प्रचण्डाउले धरानमा हिरा हर्कलाई छोएर कानमा खै के जाति मन्त्र फुक्द्या थे विचरा कीरै भएछन् । हुन त प्रचण्डाउले जे छुन्छन् त्यसको मूल्य ओह्रालो लागि हाल्छ । हप्तादिन अगाडि धरान आएर धरानका हिरा हर्कलाई छुइदिएका थिए उनी यतिबेला कीरा भएका छन् । प्रचण्डाउले सुन छोए लसुन हुन्छ, एमाले छोए प्याक्क फुटाइदिए । काँग्रप्ेस छोए तितरवितर बनाइदिए । प्रचण्डाउमा तिलस्मी शक्ति नै हुनुपर्छ सपार्ने होइन विगार्ने । विचरा हर्क सबैका हाइहाइ थिए । प्रचण्डाउले छोएको दिनदेखि पूर्व उपप्रमुख मञ्जु भण्डारीलाई झारपात देख्न थाले, इन्जिनियरहरुलाई त झन देख्नै नहुने, थुतुनो चलेको चल्यै हुन थाल्यो, इण्डियातिरका कोठीका आइमाइले बोल्ने भाषा बोल्न थाले । यसमा हर्कको कुनै दोष छँदैछैन । सब प्रचण्डाउको करामत हो ।
चुनाव हारे जनयुद्ध गर्ने रे
रेणुका बा यतिबेला फेरि बर्बराउन थाल्या छन् । मंसिर ४ गते हुने संघीय निर्वाचनमा तिन्ले लोप्पा खाने निश्चित भएसी विचरा बर्बराउन थाल्या हुन् । सधै अर्काको कुभलो चिताए पनि सुध्रेलान् कि भनेर गोडा तीनेक पटक तिन्लाई चुनाउमा जिताएका थिए । सिराहाबाट त चिप्लीसक्या थे रातारात मत गणना स्थगित गरेर, प्रहरी प्रशासनको आडमा मतपेटिका नै साटेर तिन्लाई जिताएकै हो । यसपटक तिन्ले जतिसुकै ट्रिक लगाएनि पार लाग्ला जस्तो छैन । चितौन गयो त्यतै भताभुंग, रोल्पा जाउँ टिक्नु दिँदैनन् । मधेश झरो खेदाइहाल्छन् । त्यसैले हिजोआज प्रचण्डाउ मतदातालाई धम्कीदिन थाल्या छन् । मैले हारे भने….. मैले हारे भने जनयुद्ध शुरु गर्छु । अब तिन्का जनयुद्धका धम्कीले कसैको भुत्ला हल्लनेवाला छैन । चार गते त राजनीतिका दुर्गन्धित फोहोर सफा गर्ने महान दिन हो । प्रचण्डाउले खै बुझ्या ?
धोती खुस्कन थालेसी
राजनीतिमा दंगदंग्ती गन्हाएका माकुने र बाउराम ललिता निवास काण्डमा जेल जाने निश्चित भएसी प्रधानन्यायाधीश चोलेन्द्र शमशेरमाथि महाअभियोग लगाएको कुरा बल्ल जन्ताले चाल पाउँदैछन् । पर्धानमन्तरी बन्नका लागि जस्तोसुकै हर्कत गर्न पनि पछि नहँट्ने् वाल्वाटारे मुखियाको निर्दैशनमा पर्धान न्यायाधीशलाई महाअभियोग दर्ता ग¥या रा’न । यतिबेला पर्धान न्यायाधीशसँग राजनैतिक गवार, देउवाका हुक्के, ढोके, तनुवा सांसदहरुले बयान लिन थाल्या छन् । बयानमा शमशेरले सबैको धोती खुस्काइ दिन थालेसी विचराहरु नाँगै चारतिर भाग्न थाल्या छन् । देउवाका एकजना टाट्नुले त पर्धान न्यायाधीश बढी बोल्न थाले भनेर टिप्पणी गरेछन् । आखिरी मालिक खुशी बनाउन त त्यति बोल्नै प¥यो कि कसौ हो टाट्नु ? महाअभियोग लगाउनेहरु नै महाअभियोग सिफारिस समितिमा बस्या रै’छन् । कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्या यही हो ।
पौड्याल बाजेको रुवाबासी
नेप्लिज लाँग्रेसका लद्दु नेता भनेर चिनिने तनहुँका रामचन्द्रे बाजे जति जति निर्वाचन नजिक आउँदै छ त्यति त्यति रुवबासी गर्न थाल्या छन् । कहिले मैले पार्टीमा यति विघ्न लगानी गरे अब पनि पर्धानमन्तरी पाइन भने बनवास जान्छु भन्छन्, कहिले देशले मलाई पर्धानमन्तरीको भूमिकामा हेर्न खोजेको छ भन्छन् । विना पिँधका लोटा बाजेलाई पिण्ड खाने बेलामा के को पदको भूत सवार भएको होला ? यिन्लाई कस्ले पर्धानमन्तरी दिने ? पर्धानमन्तरी भन्या पसलबाट चक्लेट किने जस्तो हो ? वात करता है ।
माकुनेले भन्या बीस लाख मत आउछ
हिन्दीमा एउटा उखान छ छोट मुह बडी वात माने हैसियत नभएकोले ठूला गफ गर्छ । अब हेरम न काँग्रेससँग लगनगाँठो कस्न नपाए देशैभरि शिवको अवस्थामा रहेको माकुनेको पार्टीले संसदको चुनावमा २० लाख मत समानुपातिकमा ल्याउँछ रे । माकुनेको हैसियत निक्कै बढेछ कि क्या हो ? एक्लै चुनाउमा गएर परीक्षण गर्दा हुन्थ्यो । त्यसपछि तिम्रा औकात थाहा हुने थियो । काँग्रेसलाई घुक्र्याएर, दंग्याएर काँग्रेसको भोटले गोडादुईक ठाउँमा हात लागि हुन्छ कि ?
अन्तेमा
आफ्नै घरका दाजुभाईलाई धोका दिएर आइकाजीसँग क्षेत्रपार्टीतिर बफका मम खान गएकी गिर्जाउपुत्री सुजाता जोष्ठ यस पटक निर्वाचनमा कहाँबाट खडा होलिन ? खडा भएपनि तिन्लाई कस्ले भोट देला ? उठ्नै नसक्ने गरी गुल्टिएसी’ तिन्ले के गर्लिन् ? गिर्जाउ छउन्ज्याल विचरी महारानी नै थिइन् । गिर्जाउ मास्तिर गएसी’ विचरीको राजनैतिक विजोग भा’छ । समय समयकी वात है क्यार्नु ।
